दाङ, १८ माघ । सरकार विरुद्ध प्रदर्शन गर्दै नेपाल विद्याथी संघले शुक्रवार घोराहीको तुलसीपुर चोकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । नेपाल विद्यार्थी संघ दाङले केन्द्रीय कार्यक्रम अनुसार शुक्रवार घोराहीमा सरकारविरुद्ध प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।

सरकार विरुद्ध आन्दोलनमा उत्रिएको नेविसंघले सरकारले गरेका गलत निर्णय सच्याउनुपर्ने, निर्मला पन्तका हत्यारालाई कारवाही गर्नुपर्ने, अन्सनरत डा. गोविन्द केसीका माग पुरा गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेका विद्यार्थीहरुले तुलसीपुरचोकमा पुत्ला दहन गरेका हुन ।

पार्टी कार्यालयवाट निस्किएको नेविसंघको जुलुशवाट प्रहरीले पुत्ला खोसेपछि अर्काे टोलीले तुलसीपुरचोकमा सरकार विरुद्ध नारावाली गर्दै पुत्ला दहन गरेको हो । विरोध कार्यक्रमलाई सम्वोधन गर्ने बक्ताहरुले सरकारलाई दुईतिहाईको दम्भ देखाएर जनतालाई दुख नदिन आग्रह गरेका थिए । साथै डा. गोविन्द केसीले उठाएका माग सम्वोधन गर्दै निर्मला पन्तका हत्यारालाई पक्राउ गरि पीडितलाई न्याय दिन आग्रह गरेका थिए ।

बिरोध कार्यक्रमलाई नेपाल विद्यार्थी संघ दाङका कार्यवाहक अध्यक्ष टोपबहादुर बुढाथोकी र तरुण दल दाङका जिल्ला उपाध्यक्ष मुक्ति न्यौपानेले सम्वोधन गरेका थिए । कार्यक्रमको सहजीकरण नेपाल विद्यार्थी संघका जिल्ला सहसचिव जितेन्द्रप्रकाश वलीले गरेका थिए ।




RaptiSandesh RaptiSandesh