Home / मनोरञ्जन / नेपाल आइडल सिजन–२ को विजेता भए रवी ओड

नेपाल आइडल सिजन–२ को विजेता भए रवी ओड

काठमाडौं । ‘नेपाल आइडल’ सिजन–२ को विजेता रवी ओड भएका छन् । ग्राण्ड फिनालेमा पुगेका अन्य तीन जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै रवी नेपाल आइडल सिजन–२ को विजेता भएका हुन् ।
टाइटलसँगै उनले २२ लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुरको अवसर पाएका छन् ।

फष्ट रनरअप विक्रम बराल भए । उनले २० लाख पाएका छन् ।

सेकेण्ड रनर अप सुमित पाठक भए र उनले १२ लाख रुपैयाँ पनि पाए । थर्ड रनरअप भइन् अस्मिता अधिकारी । उनले होन्डाको स्कुटर पाइन् ।

रवी सुदुरपश्चिमको धनगढीका हुन् । दलित सुमदायबाट प्रतिनिधित्व गर्ने उनी गाला राउण्डमा सबैभन्दा धेरै पटक सबैभन्दा धेरै भोट पाउने प्रतिस्पर्धी हुन् ।

ग्राण्ड फिनाले ललितपुर पुल्चोकस्थित इन्जिनियरिङ कलेजको मैदानमा भएको थियो ।

मैदानमा उपस्थित भएर फिनाले हेर्नका लागि ५ सय, एक हजार, १५ सय र २ हजार दरका टिकट विक्री गरेको थियो ।

‘नेपाल आइडल’को निर्णायकका रुपमा न्हू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी थिए । अफिसियल होस्टमा रिमा विश्वकर्मा र आशिफ शाह थिए ।

‘नेपाल आइडल’ सिजन–१ को विजेता बुद्ध लामा भएका थिए भने फष्ट रनरअप निशान भट्टराई र सकेण्ड रनरअप प्रताप दास भएका थिए ।

रवी ओड
रवी नेपाल आइडलमा आउनु अगाडि धनगढीमा दोहोरीमा गाउँथेँ । उनी चार वर्ष देखि संगीतमा सक्रिय थिए । शिव परियार, सुगम पोखरेल र हेमन्त राना उनलाई मन पर्ने गायक हुन् ।
उनका हजुरबुवा पनि गीत गाउँथे । हजुरबुवाबाटै प्रभावित भएर उनले पनि गाउन थालेका थिए । रवीका बुवा इन्डियामा वाचम्यानका रुपमा काम गर्दै आएका छन् । रवी देउडा, लोकदोहोरी, ठाडो भाका, पप, हिन्दी नेपाली सबै प्रकारका गीत गाउँछन् ।

विक्रम बराल
पोखराका विक्रम बराल गत वर्ष पनि आइडलको अडिसनमा छानिएका थिए । तर विक्रम परीक्षाले गर्दा अघिल्लो चरणका लागि काठमाडौं आएका थिएनन् ।
बराल बारमा गीत गाउँथे । पोखराको त्रिवेणी संगीतालयमा क्लासिकल भोकल सिकेका उनी नारायणगोपाल, गुलाम अली र अरुण थापालाई आइडल मान्छन् ।
विक्रम ‘अडियो फार्म’ र ‘साइनाइड’ ब्यान्डमा आबद्ध भएर गीत गाइसकेका थिए । उनी रक मेटल बढी गाउँथे ।

सुमित पाठक
झापाका सुमित पाठक संगीतको शिक्षा लिएर गाउन थालेका हुन् । बुवा नै उनका संगीतका गुरु हुन् । उनका बुबाको संगीत इन्स्टिच्युट छ ।
सुमित चार वर्षको हुँदा नै तबला बजाउँथेँ । अहिले हार्मोनियम राम्रोसँग बजाउने सुमित गितार पनि बजाउँछन् । ‘ब्राइट स्टार’ ब्यान्डमा ड्रम पनि बजाएका उनी ‘ग्राभिटी’ ब्यान्डमा गीत गाउँथेँ ।
उनले फिचर फिल्म ‘अमेरिका ब्वाइज’मा गीत पनि गाइसकेका छन् । नारायणगोपाल, भक्तराज, नेपथ्य र १९७४ एडीका गीत उनलाई सबैभन्दा धेरै मनपर्ने सुमित रक र सेन्टिमेन्टल गीत बढी गाउँछन् ।

अस्मिता अधिकारी
अस्मिता अधिकारीको गृह जिल्ला झापा हो । नेपाल मेडिकल कलेज, जोरपाटीकी बीएससी नर्सिङ हुन् । नर्सिङ पढे पनि उनलाई संगीतमा भने सानै देखिको रुची हो ।
सानो छँदा उनी भजन गाउँथिन् । स्कुलमा पनि आक्लझुक्कल गाउने उनले कलेजमा भने गाइनन् । यद्यपी उनले प्लस टू पढ्दा  भोकलको क्लास लिएकी थिइन् ।
सुरुका दिनमा अस्मिता पप गीत सुन्ने र गाउने गर्थिन् पछि उनलाई आधुनिक गीतले तान्यो । अरुणा लामा, तारादेवी, नारायणगोपाल, अञ्जु पन्त उनका मन पर्ने गायक गायिका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*