Home / समाचार / कांग्रेस विधानमा अझै सहमति जुटेन, महासमिति बैठक लम्बिने

कांग्रेस विधानमा अझै सहमति जुटेन, महासमिति बैठक लम्बिने

काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विधान मस्यौदा प्रस्तावले अझै पूर्णता पाउन सकेको छैन । गएराति पदाधिकारीबीच जुटेको सहमति केन्द्रीय कार्यसमिति बैठकबाट पारित नभएका कारण विधान मस्यौदा प्रस्तावले पूर्णता पाउन नसकेको हो ।

पदाधिकारी बीचको सहमतिलाई अन्तिम रुप दिन अहिले केही बेरमा काग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । ‘लञ्च ब्रेक’ को नाममा महासमितिको बन्द सत्र रोकेर सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज दिउँसो बसेको बैठकमा गएरातिको सहमति अनुसार प्रस्ताव पेस भएको छ ।
‘‘हिजो राति नेताहरुका बीचमा भएको समझदारी अनुसार विधान संशोधन मस्यौदा समितिका संयोजक तथा महामन्त्री पूर्णबहादुर खड्काले संशोधनसहित विधान प्रस्तुत गर्नुभएको छ,’’ बुधबार अपरान्हको ‘प्रेस ब्रिफिङ’ मा प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘‘संशोधनसहितको विधानको विषयमा निर्णय गरेर छपाईका लागि प्रेसमा पठाउँछौं ।’’

उनले विधान छपाइका लागि प्रेसलाई ‘स्ट्याण्डबाइ’ राखिएको जानकारी दिए । मंसिर २९ गतेबाट सुरु भएको महासमिति बैठकमा बुधबार अपरान्हसम्म १६२ जना महासमिति सदस्यहरुले आ–आफ्नो धारणा राखिसकेका छन् ।

प्रवक्ता शर्माका अनुसार कांग्रेसको महासमिति बैठक बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठक पुष ६ गते अपरान्हसम्म चल्ने उनले जानकारी दिए । यसअघि कांग्रेसले मंसिर २९ गते उद्घाटन भएको महासमिति बैठक पुष ४ गते समापन हुने बताएकोे थियो । संस्थापन र संस्थापन इतर समूहबीच विधानमा सहमति जुट्न ढिलाइ भएका कारण महासमिति बैठक लम्बिन पुगेको हो ।

बन्द सत्रमा धारणा राख्ने महासमिति सदस्यहरुले पार्टीको आन्तरिक एकता अभिवृद्धिमा जोड दिएका छन् । उनीहरुले पार्टीलाई एकतावद्ध बनाएर सरकारका जनविरोधी क्रियाकलाप विरुद्ध खरो ढंगले प्रतिपक्षीको भूमिका निभाउन पार्टी नेतृत्वलाई सुझाव दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*