दाङ, ३१ साउन
प्रेस काउन्सील नेपालले सार्वजनिक गरेको पत्रपत्रिकाको वर्गिकरण नतिजा प्रति असन्तुष्ट नेपाल प्रेस युनियन दाङले नतिजा पुनरावलोकनको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत सञ्चारमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
प्रेस युनियनको केन्द्रीय कार्यक्रम अन्तर्गत युनियन दाङले विहीवार जिल्ला प्रशासन कार्यालय मार्फत सञ्चार मन्त्रीलाई ज्ञापन पत्र पठाएको हो ।
युनियनका जिल्ला अध्यक्ष सुशील बस्नेत, केन्द्रीय सदस्यहरु केपी घिमिरे, सुरेश श्रेष्ठ, अञ्चल सचिव लीला शाह, जिल्ला सचिव देवेन्द्र बस्नेत, सदस्यहरु आरके सितल, देव यादव लगायत युनियनका सदस्य सहितको टोलीले प्रमुख जिल्ला अधिकारी गजेन्द्रवहादुर श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको हो ।
काउन्सीलले प्रकाशन गरेको नतिजा सच्याई पारदर्शी र निश्पक्ष ढंगबाट प्रकृयागत रुपमा नतिजा सार्वजनिक गर्न युनियनले माग गरेको छ ।
वर्गिकरण नतिजामा राजनीतिक आग्रह, व्यक्तिगत पूर्वाग्रह र कृपावादबाट हाबी भएको गुनासो पत्रकार बृत्तबाट भएको भन्दै युनियनले नियमीत प्रकाशन भैरहेका पत्रपत्रिकालाई घटुवा गरि सोही ठाउँमा कहिलेकाँही मात्रै प्रकाशित हुने पत्रपत्रीकालाई बढुवा गरिएको प्रति आपत्ति जनाएको छ ।
पूर्वाग्रह र प्रतिशोध साँधिएको दस्तावेजको रुपमा काउन्सिलको बर्गिकरण नतिजालाई लिएको युनियनले यो नतिजा खारेज गरि पुनरावलोकनका लागि आग्रह गरेको छ ।
अन्यथा आन्दोलनको चेतावनी समेत युनियनले दिएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले युनियन दाङले राखेका माग प्रति आँफू गम्भिर रहेको भन्दै आँफूले युनियनले बुझाएको ज्ञापन पत्र सञ्चार मन्त्रालयमा पठाउने विश्वास दिलाउनु भयो ।