Home / Feature Breaking news / दाङमा १२ करोडको लगानीमा ‘अत्याधुनिक फनपार्क’

दाङमा १२ करोडको लगानीमा ‘अत्याधुनिक फनपार्क’

बिमला घर्ती
घोराही, २६ साउन ।

घोराही उपमहानगरपालिका वडा नम्बर १० दक्षिण अम्राईमा अत्याधुनिक तथा व्यवस्थित फनपार्कको निर्माण शुरु भएको छ । गत बैशाख महिनाबाट निर्माण कार्य शुरु भएको फनपार्कको काम अहिले जारी रहेको दाङ फन भ्याली प्रालीका अध्यक्ष मिनराज घिमिरेले जानकारी दिनुभयो ।

१० जनाले करिब १२ करोड बढीको लगानीमा फन पार्क निर्माण शुरुवात गरिएको छ । सरकारले सन् २०२० लाई पर्यटन बर्षका रुपमा घोषणा गरेकाले जिल्लामा पनि पर्यटन भित्राउन पार्कले भूमिका खेल्ने जानकारी दिनुभयो ।

दाङ जिल्लामा पर्यटकीय स्थलहरु प्रयाप्त मात्रामा भएपनि प्रचार प्रसारको अभावमा ओझेलमा परेको अवस्थामा दाङमा मध्यपश्चिममै पहिलो अत्याधुनिक फन पार्कका निर्माण गर्न लागिएको हो । दाङको समग्र आर्थिक विकासलाई लक्षित गरेर निर्माण गर्ने योजनामा काम शुरु गरिएको निर्माण समितिको भनाई छ ।

राप्ती सन्देश अनलाईनसँग कुरा गर्दै घिमिरेले दाङको सवालमा यो नयाँ बिषय तथा काम भएको बताउनुभयो । गास, बास, स्वास्थ्य, शिक्षा, मनोरञ्जन आवश्यक पर्ने भएकोले जिल्लाका अधिकांश मानिसहरुका लागि रमाइलो गर्ने ठाउँ निर्माण गर्न लागिएको बताउनुभयो । मध्यपश्चिममा फन पार्क नभएको र केही गर्नुपर्छ भन्ने भावनाका साथ काम गर्न थालेको उहाँको भनाई छ ।

फनपार्क निर्माण संगै आन्तरिक पर्यटनको विकास, जिल्लाको आर्थिक बृद्धि, युवाहरुलाई स्वरोजगार बनाउने काम हुने बताउनुभयो । सरकारले निर्माण गर्ने काम स्थानीय लगानीकर्तावाट निर्माण गर्न लागिएको उहाँको भनाई छ । नागरिकहरु फुर्सदिलो समयमा रमाउने गरी पार्क निर्माण गरिने घिमिरेले जानकारी दिनुभयो ।

फनपार्कमा के–के हुनेछन्

आउदौ चैत वा बैशाखको महिनामा उद्घाटन गर्नेगरी निर्माणको काम भैरहेको छ । सबैखालका नागरिकहरु रमाउने वातावरण तयार गर्ने गरी काम भएको निर्माण समितिको भनाई छ ।

फनपार्कमा राष्ट्रिय तथा अन्तरर्राष्ट्रियस्तरको कार्यक्रम संचालनका लागि दुई ठुला हल हुनेछ । एउटा हलमा एक हजार जना मान्छे अटाउने गरी दुई हजार जना अटाउने दुई ठुला हलको निर्माण गरीने भएको हो ।

यसैगरी थारु संस्कृती संरक्षणका लागि पुराना ऐतिहासिक सामग्रिहरु राखिने, मगर संस्कृती संरक्षणका लागि सामग्री, मिनि चिडियाखाना, तीन वटा स्वीमिङ पुल हुनेभएको निर्माण समितिको भनाई छ । यसका साथै वाल उद्यान, भिडियो गेम, साइकल तथा मोटरसाइकल रेसिङ लगाएतका खेलको व्यवस्था हुने छ ।

मनोरम तरिकाले निर्माण थालिएको फनपार्कमा विभिन्न जातका फुलैफुलले घेरिने, बस्नका लागि स्थानहरु निर्माण गरिने, बच्चा, बृद्ध तथा बयस्कका लागि फरक फरक स्थान छुट्याई आवश्यकताका आधारमा स्थल निर्माण गरिने जानकारी दिनुभयो ।

गोरक्ष रत्ननाथ पात्र देव चौघेराको पाँच बिगाहा जति जग्गा लिजमा लिएर निर्माण शुरु भएको फनपार्कको काम अहिले तिव्र गतिमा भरहेको छ । जमिनलाई तारवार गर्ने, कार्यक्रम हलको भवन निर्माण, ठुलो रेष्टुरेन्ट निर्माण, खेलका लागि गेम जोन निर्माणको काम भैरहेको जानकारी दिइएको छ ।

अहिले बगैचा उद्यान निर्माणको काम भैरहेको निर्माण समितिका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । जसमा कल्की र अशोक जातका पाँच सय बोट विरुवा रोपिएको छ ।

फनपार्क बृहत उद्योग भएको बताउदै घिमिरेले एक सय २० जनालाई रोजगार दिने बताउनुभएको छ । राप्ती अञ्चललाई लक्षित गरी निर्माण गरिएको फनपार्कमा दैनिक तिन हजार जनाले अवलोकन गराउने लक्ष्य लिएको बताउनुभयो ।

जिल्लाका साथै रोल्पा, रुकुम, सल्यान, प्युठानका विद्यार्थीहरु प्रत्येक बर्ष अवलोकनका लागि विद्यार्थीहरुलाई ल्याउने लक्ष्य रहेको बताउनुभयो । दाङ दक्षिण अम्राईमा निर्माण जारी रहेको फनपार्कमा अहिले पनि दैनिक जसो मान्छेहरु अवलोकनका लागि जाने गरेको र चासो दिएको उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*