दाङ, २० साउन
दाङका निजी विद्यालयहरुले क्षमताभन्दा धेरै विद्यार्थीहरु राखेर बसहरु सञ्चालन गर्ने गरेको पाईएको छ । विशेष गरि बजार क्षेत्रका निजी विद्यालयहरुले बसमा क्षमताभन्दा धेरै विद्यार्थीहरु राखेर विद्यालय ल्याउने लग्ने गरेको पाईएको ट्राफिक प्रहरीको भनाई छ ।
स्कूल बसले सिट क्षमताभन्दा तेब्बर मात्रासम्म विद्यार्थी राख्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको भनाई छ । नाम चलेका विद्यालयहरुले अन्य विद्यालयको तुलनामा धेरै विद्याथीहरु ओसारपसार गर्ने गरेको कार्यालयको भनाई छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख मदन कुँवर जिल्लामा आएपछि विद्यालयका बसहरुमाथीको निगरानी बढेर गएको छ । विद्यार्थीहरुसँग यातायात वाफत महंंगो फिस लिने तर विद्यार्थीहरुलाई कोचाकोच गरेर ओसारपसार गर्ने प्रचलनको बारेमा गुनासो आउन थालेपछि स्कूल बसमाथी निगरानी बढाएको प्रहरी निरिक्षक कुँवरले जानकारी दिनुभयो ।
पहिलो चरणमा जिल्लाका बजार क्षेत्रका विद्यालयहरुका बसहरुलाई सम्झाएको र नियमको पालना नगर्ने विद्यालयहरुलाई जरिमाना गर्न ससुरु गरिएको कुँवरले जानकारी दिनुभयो ।
‘सिट क्षमताभन्दा दोब्बर तेब्बरसम्म पनि विद्यार्थीहरु बसमा बोक्ने गरेको पाईएको छ’ प्रहरी निरिक्षक कुँवरले भने– ‘त्यस्ता बसहरुलाई जरिमाना काट्न सुरु गरेका छौ । विद्यार्थी धेरै चाहिने विद्यालयले त बस थप्नुप¥यो नि ।’
स्कूल बसले दुईजनाको सीटमा ३÷४ जना विद्यार्थीहरु कोच्ने, गल्लीभरी विद्यार्थीहरु उभ्याउने, ढोकामा झुढ्याउनेसम्म गरेको पाईएको कुँवरले बतानुभयो । दैनिक ५ देखी १० वटा स्कूल बसहरु जरिमानामा पर्ने गरेका छन् । जिल्लाका हरेक क्षेत्रमा स्कूल बसहरुमाथीको निगरानी बढाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालले जानकारी दिएको छ । कार्यालयले ट्राफिक नियमको पालना गर्दै सम्पूर्ण सवारी साधन एवं चालकहरुलाई अनुरोध गर्नुभएको छ ।