Home / Feature Breaking news / आठ बुँदे सहमतिपछि ताला खोलियो

आठ बुँदे सहमतिपछि ताला खोलियो

घोराही, २५ बैशाख । विद्यार्थी संगठनहरुले बिभिन्न मागहरु राख्दै घोराही उपमहानगरको शिक्षा शाखा र प्याबसनको कार्यालयलयमा लगाएको ताला खोलेका छन् । घोराही उपमहानगरपालिका सामाजिक विकास समिति, शिक्षा शाखा, प्यावसन र विद्यार्थी संगठनहरु बिच मंगलबार ८ बुँदे सहमति गरि ताला खुलेको हो । छलफलबाट अनुमति विना सञ्चालन भएका कक्षाहरु बन्द गराउने निर्णय भएको छ ।

त्यसैगरी, संस्थागत विद्यालयहरुले शिक्षा ऐन, नियमावली अनुसार तत्काल विद्यालय व्यवस्थापन समिति गठन गर्ने, यस शैक्षिक सत्र २०७५ देखी शिक्षक, कर्मचारी नियुक्त गर्दा शिक्षा नियमावली अनुसारको छनोट समिति द्धारा गर्ने, शैक्षिक सत्र २०७४ अनुसार १० प्रतिशत छात्रबृत्ती वितरण गरि शिक्षा शाखा घोराही उपमहानगरपालिकामा पेश गर्ने निर्णय भएको छ । साथै यसै शैक्षिक सत्र २०७५ मा सामुदायिक विद्यालयले लिएको सहयोग शुल्क र नीजी शिक्षकको तलब भत्ता विवरण घोराही उपमहानगरपालिका शिक्षा शाखामा सात दिन भित्र पेश गर्ने, यसै शैक्षिकसत्रमा संस्थागत विद्यालयमा नियुक्त शिक्षकको तलब भत्ता घोराही उपमहानगरको शिक्षा शाखामा सातदिन भित्र पेश गर्ने निर्णय भएको छ ।

त्यसैगरी, घोराही उपमहानगरपालिकाको शिक्षा शाखाले यही मिती २०७५ साल बैशाख २३ गते गठन गरेको अनुगमन समितिले अनुगमनलाई निरन्तरता दिदै अहिले देखिएको समस्याहरु समाधान गर्ने निष्कर्ष सहित अर्को निर्णय नभए सम्म हाल बृद्धी भएको शुल्क नलिन निर्देशन दिने निर्णय समेत भएको छ । साथै विद्यार्थी संगठनह अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेविसंले घोराही उपमहानगरको शिक्षा शाखा र प्याबसनको कार्यालयमा लगाएको ताला खोल्ने सहमति भएको छ । छलफलमा उपमहानगरका सामाजिक विकास समिति संयोजक भरत अर्याल, उपमहानगर शिक्षा शाखा प्रमुख नारायण पौडेल, प्याबसनका अध्यक्ष यादब गिरी, शिक्षक महासंघ घोराही उपमहानगर अध्यक्ष निशान्त आचार्य, अनेरास्ववियुका सुरेश जिसी, क्रान्तिकारीका सन्तोष पोख्रेल, नेबिसंघका टेपबहादुर बुढाथोकी र बलदेब मल्लको सहभागिता रहेको थियो । यसैगरि तुलसीपुर उपमहानगरपालिकामा लगाएको ताला समेत खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*