Home / Feature Breaking news / विद्यालयका ३५ विगाह जग्गा अतिक्रमण

विद्यालयका ३५ विगाह जग्गा अतिक्रमण

दाङ,२५ बैशाख । घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ नमूना माध्यामिक विद्यालयको  ३५ विगाह जग्गा अतिक्रमणमा परेको छ । घोराही उपमहानगरपालिका–११ खैरा,चारबगीयामा अतिक्रमणमा परेको बषौँबितिसक्दा समेत फिर्ता हुन सकेको छैन । उक्त जग्गा अतिक्रमणकारीहरुले पक्की घर बनाउनका साथै पक्की सडक समेत निर्माण गरेका छन् । जग्गा किनबेच गर्छन तर विद्यालयलाई थाहा हुदैन । आफनै जग्गा किनबेच भैइरहुदा समेत विद्यालय प्रशासन निरिह बनेको छ । आफै अतिक्रमित जग्गा फिर्ता गराउन सक्दैन प्रहरी प्रशासनले विद्यालयको कुरा सन्दैन । जसका कारण दशकै पहिले अतिक्रमणमा परेको जग्गा पनि विद्यालयले फिर्ता गराउन नसकेको विद्यालयले जनाएको छ ।

जग्गा फिर्ता गराउन माग गर्दै जिल्ला शिक्षा कार्यालयसँगै जिल्ला प्रशासन कार्यालय पुग्दा समेत विद्यालयको जग्गा फिर्ता हुन नसकेको विद्यालयका प्रधानाध्यापक टोपबहादुर केसीले बताए । २०६७ साल फागुन १ गते म विद्यालयको प्रअ भएदेखि विद्यालयको शौक्षिक गुणस्तर सुधारसागै अतिक्रमित जग्गा फिर्ता गराउने प्रयास गर्दै आएको छु तर अहिलेसम्म कसैको साथ पाउन सकेको छैन केसीले भने । ‘तत्कालिन प्रमुख जिल्ला अधिकारी मधुसुदन बुर्लाकोटीदेखि दिपक काफ्लेसम्मका चार जना प्रमुख जिल्ला अधिकारीलाई भेटेर अतिक्रमित जग्गा फिर्ता गराईदिन आग्रह गरे,तर उहाँहरुले हुन्छ भन्नुभयो काम गर्नुभएन’,विद्यालयका प्रअ केसीले भने,‘जसका कारण अतिक्रमित जग्गा फिर्ता हुन तँ के आफनो जग्गा हो भन्ने अवस्था समेत छैन ।’ तत्कालिन नारायणपुर गाविस,त्रिपुर नगरपालिकावाट सर्वदलिय बैठक गराएर फिर्ता गराउने प्रयास भएपनि प्रशासन र राजनीतिक दलको सहयोग नहुदा जग्गा फिर्ता हुन नसकेको केसीको भनाई छ ।

‘विद्यालयको करिव ३५ विगाह बढि जग्गा फिर्ता गराउनका लागि २०६७ सालदेखि म निरन्तर लागेको छु,तर कतैवाट पनि सहयोग पाउन सकेको छैन’,विद्यालयका प्रअ केसीले भने,‘विद्यालयको जग्गा फिर्ता गराउन माग गर्दै निवेदन दिएपनि प्रमुख जिल्ला अधिकारीवाट हुन्छ काम गछौँ भन्ने तर काम नगर्दा अतिक्रमण भएको जग्गा दशकौ वितिसक्दा पनि फिर्ता हुन सकेको छैन ।’ प्रअ केसीका अनुसार विद्यालयको जग्गा ८२ विगाह छ कट्ठा नौ धुर मध्य ३५ विगाह बढि जमिन अतिक्रिमणमा परेको छ । पुर्खाहरुले संरक्षित तथा जग्गादाता प्राप्त भएको जग्गा नै २०३६ सालयता विभिन्न समयमा अतिक्रमित भएको हो ।

अतिक्रमित जग्गा फिर्ता गराउनकालागि तत्कालिन प्रअहरु भिमकान्त शर्मा,चिन्ताबहादुर बुढाथोकीलगाएत अहिले आफुले पटक पटक अतिक्रमणकारीसँग छलफलसँगै प्रशासनलाई आग्रह गर्दा समेत प्रशासनले कुनै वास्ता नगरेको उनको गुनासो रहेको छ । आफनै जग्गा उपभोग गर्न नपाउदा विद्यालयमा शिक्षक तथा कर्मचारीहरुलाई तलव खुवाउन विद्यार्थीहरु सहयोग उठाउनुपर्ने बाध्यता विद्यालयसामु रहेको छ । विद्यालयमा ५३ शिक्षक दरवन्दी रहेका छन जसमा शिक्षक र कर्मचारी गरि १३ जनालाई निजी श्रोतवाट तलव खुवाउनु पर्छ ‘आफनै जग्गा उपभोग गर्न नपाउदा तलव खुवाउनलाई विद्यार्थीसँग पैसा उठाउनुपर्ने बाध्यता रहेको छ’,प्रअ केसीले भने,‘ अतिक्रमित जग्गा आफनो बनाउन सके शिक्षक कर्मचारीलाई तलव खुवाउनदेखि विद्यालयको पुरानो चुहिने भवनलाई मर्मत सम्हार गर्न सहज हुने थियो । त्यसका साथै विद्यालयको अतिक्रमित जग्गालाई विद्यालयको बनाउन सके त्यसवाट विद्यालयलाई सञ्चालन गर्न सहज हुने उनी बताउछन ।

विद्यालयको करिव ४० विगाह जग्गा विभिन्न व्यक्ति तथा सहकारी सस्थाहरुले लिजमा लिएका छन । जग्गा लिजमा लिनेमा विभिन्न व्यक्तिहरुदेखि केही सहकारी सस्थाहरु समेत रहेका छन । उनीहरुले कृषि प्रयोजनका लागि २०६६ सालमा विद्यालयको जग्गा लिजमा लिएको पाइएको छ । बार्षिक प्रतिविगाह ४१ सयका दरले प्रत्येक तीन बर्षमा पाँच प्रतिशत वृद्धि हुने गरि करिव १८ बर्षकालागि लिजमा दिएको विद्यालयले जनाएको छ ।

विद्यालयको जग्गा भाडामा लिनेहरुमा निम्म व्यक्तिहरु रहेका छन । जसमा उद्यमशिल बहुउद्देश्य सहकारी सस्था दश विगाह,अर्जुन केसी दश विगाह, श्रीमण न्यौपाने दश विगाह,पुरुषोत्तम अधिकारी तीन बिगाह, टेकबहादुर केसी तीन बिगाह, रुद्रबहादुर बुढा चार विगाह,जग्गु चौधरीलाई दश कट्टा चार धुर, भक्तिराम आचार्यलाई तीन कट्ठा दश धुर जग्गा भाडामा दिएको विद्यालयका प्रअ केसीले बताए । जसवाट विद्यालय यसबर्ष एक लाख ३३ हजार नौ सय ४६ रुपैया भाडा संकलन गरेको छ ।

भाडा बुझाउन आनाकानी

विद्यालयको जग्गा भाडामा लिनेहरुले पछिल्लो समय भाडा बुझाउन आनाकानी गर्ने गरेका छन । विद्यालयको जग्गावाट आफुहरुले नाफा लिने तर विद्यालयलाई विगत दुई बर्षदेखि भाडा नबुझाएको विद्यालयले जनाएको छ । विद्यालयको भाडा नबुझाउनेमा उद्यमशील बहुउद्देश्य सहकारी सस्था,अर्जुन केसी,श्रीमन न्यौपानेलगाएतका व्यक्तिहरु रहेको विद्यालयले जनाएको छ । ‘जग्गा भाडामा लिएवाफतको रकम बुझाउन सम्वन्धी पक्षलाई हामीहरुले पटक पटक आग्रह गरेका छौँ’,विद्यालयका प्रअ केसीले भने,‘ तर गतबर्ष मंसिरमा बुझाउनु पर्ने रकम अहिलेसम्म बुझाएका छैनन् । ’ तर श्रीमन न्यौपानेले गतबर्षको रकम बुझाएको केही ढिला भएको बताए । ‘विद्यालयलाई बुझाउनु पर्ने केही रकम बुझाउन ढिलाई भएको हो,यो खास्सै ठुलो कुरो होइन’,न्यौपानेले भने,‘पहिले मैले चाडै दिने गरेको थिए,अहिले केही ढिलाई भएको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*