नारायणपुर, २३ माघ
नारायणपुरमा जारी ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ को अन्तिम दिन वुधवार युवाहरुको रोजाईका कलाकार दुर्गेश थापा आउने भएका छन् ।
दर्शकहरुको मागलाई मध्यनजर गर्दै वुधवार युवाहरुको रोजाई गायक दुर्गेश थापालाई महोत्सवमा आमन्त्रण गरिएको महोत्सवमा निर्देशक बिनादे बुढाथोकीले जानकारी दिनुभयो ।
साथै वुधवार लोकदोहोरी गायक दिपक खड्का, कलाकार विजय पुन लगायतको प्रस्तुति रहने उहाँले जानकारी दिनुभयो । साथै वुधवार सामान खरिददेखी बालउद्यानमा पनि विशेष छुट हुने भएकाले उपस्थित हुने उहाँले सम्पूर्ण दर्शकहरुमा अनुरोध गर्नुभएको छ ।
माघ १२ गतेदेखी ‘कृषि व्यवसाय एवं पर्यटनमा प्रोत्साहनः दीगो अर्थतन्त्रकालागि अमूल्य योगदान’ मूल नाराका साथ सुरु भएको ‘ तेस्रो नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ को वुधवार एक कार्यक्रमकाबीच समापन गरिने भएको छ ।
समापन कार्यक्रममा उपस्थितिकालागि महोत्सव आयोजक मूल समितिका संयोजक एवं नारायणपुर उद्योग वणिज्य संघका अध्यक्ष महेन्द्रकुमार दाहालले जानकारी दिनुभयो । समापनका अवसरमा महोत्सव सफल पार्नकालागि सहयोग गर्ने सम्पूर्ण व्यक्ती तथा संघसंस्थाहरुलाई प्रशंसापत्रले सम्मान गरिने उहाँले जानकारी दिनुभयो । दिउसो २ बजेदेखी सुरु हुने समापन कार्यक्रममा उपस्थितिकालागि उहाँले सम्पूर्ण दर्शकहरुमा अनुरोध गर्नुभएको छ ।