Home / Feature Breaking news / दाङमा पहिलो पटक ‘आरएससीसी’

दाङमा पहिलो पटक ‘आरएससीसी’

घोराही, १० माघ

दाङमा सवारी दुर्घटना न्यूनिकरणकालागि आरएससिसी सुरु भएको छ । नेपाल प्रहरीले सवारी दुर्घटना न्यूनिकरणकालागि आरएससिसी चेकिङ सुरु गरेको हो । जिल्लामा पहिलोपटक मंगलवार यो चेकिङ गरिएको छ ।

प्रदेश नम्बर पाँचका प्रहरी प्रमुख एआईजी मधु प्रसाद पुडासैनीको विशेष निर्देशनमा सडक सुरक्षा चेक प्वाईण्ट अवधारणा (आएससिसी) जिल्लामा सुरु गरिएको हो । जिल्लामा घोराही लमही सडकखण्डमा यो चेकिङ गरिएको थियो । यस सडकखण्डको गोग्लीमा मंगलवार दिउसो ११ बजेदेखी २ बजेसम्म यो चेकिङ गरिएको थियो । २०६८ सालदेखी कपीलवस्तुबाट सुरु भएको यो अवधारणा पछिल्लो समय अन्य जिल्लाहरुले पनि लागु गर्न थालेका छन् ।

trafic 2

दाङमा पहिलो पटक मंगलवार भएको चेकिङमा १ सय ६३ वटा सवारी साधन चेकजाच भएकोमा १८ वटा सवारी साधनलाई कारबाही गरिएको जिल्ला ट्रफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक ओमप्रकाश वाग्लेले जानकारी दिनुभयो । साथै मंगलवार जिल्लामा भएको ट्रफिक चेकिङबाट सवारी साधन चेकजाँचका क्रममा १ सय २६ वटा सवारी साधनलाई कारबाही र ७१ हजार ५ सय राजस्व संकलन भएको वाग्लेले जानकारी दिए । ‘मंगलवार जिल्लामा आरएससिसी पहिलो पटक सुरु गरिएको छ । घोराही लमही सडकखण्डमा गरिएको आरएससिसी गरिएको हो’ वाग्लेले भने­‘जसमा १ सय ६३ सवारी साधन चेकजाँच गरिएको थियो, जसमा राडार गनको सहयोगमा ७ सवारी साधनलाई कारबाही गरियो ।’

आरएससिसी अवधारण अन्तरगत तीव्र गतिमा रहेका ७ वटा सवारी साधनलाई कारबाही गरिएको छ । यसले सवारी चालकलाई सचेत बनाउने, सवारी दुर्घटना कम हुने, गैरकानुनी रुपमा ओसारपसार गर्ने सामानको नियन्त्रण, अपराधीहरु नियन्त्रणमा लिन सहज हुने प्रहरीले बताएको छ ।

के हो आरएससिसी ?

जिल्ला स्थित सवारी साधन चलने सडकहरुमा भरपर्दो वैज्ञानिक एवं सुरक्षित तबरले प्रहरीद्धारा चेक गर्ने अवधारणा नै आरएससिसी हो । वस्तुतः अपराध घटाई अपराधीहरु फरार हुन सक्ने, अवैध कारोवार ओसार पसार गर्न सक्ने, गैह्रकानूनी सवारी साधन चलाउन सक्ने अवस्थालाई मध्यनजर गरी यो अवधारणा अगाडि सारिएको हो ।

आरएससिसी भनेको शाब्दिक अर्थमा ‘रोड सेक्युरिटी चेकप्वाईन्ट कन्सेप्ट’ अर्थात सडक सुरक्षा चेकप्वाईन्ट अवधारणा हो । विगतमा अवस्थित किसिमबाट प्रहरीद्धारा चेक गरिने भिगरस चेकको व्यवस्थित, आधुनिकीरण, वैज्ञानिकयुक्त सुरक्षित हिसाबले विकास गरी गरिने चेकजाँच हो । यो अवधारणा अनुसार चेकजाँच गर्नको लागि निश्चित संख्यामा प्रहरी खटाई उनीहरुलाई पेशागत दक्ष बनाई कामको बाँडफाड समेत समुचित किसिमबाट गरि गरिन्छ । यसरी चेकजाँच गर्दा विगतको तुलनामा पक्कै पनि फलदयी प्रतिफल प्राप्त गर्न सकिन्छ ।

यो चेकिङले सवारी दुर्घटना न्यूनीकरण, अपराध नियन्त्रणमा विशेष सहयोग पुग्ने प्रहरीको अपेक्षा रहेको छ । चेकिङमा एक जना जुनियर प्रहरी अधिकृत १ जना, ट्राफिक प्रहरी १ जना, महिला प्रहरी १ जना गरि प्रहरी जवान ७ जना गरि कम्तीमा ९ जना प्रहरी चेकप्वाईन्टमा खटिन्छन् । आरएससिसी कार्यान्वयन गर्दा कमाण्डर (संयोजक) को महत्वपूर्ण भूमिका रहन्छ । कमाण्डर जुनियर प्रहरी अधिकृतस्तरको हुन्छ । प्रत्येक टिममा कमाण्डर सहित ९ जनाको संख्यामा रहन्छ ।

कमाण्डरमा काम प्रति पूर्ण जानकारी, सो सम्बन्धी कानूनी ज्ञान, अनुशासन, धैर्य सहनशिलता र परिस्थिति अनुरुप चल्न सक्ने हुनु पर्छ । उसमा माथिल्लो कमाण्डरले दिएको आदेश स्पष्ट बुझ्ने र मातहतलाई सोही अनुसार बुझाउने सक्ने खुबी हुनु पर्दछ । चेकिङमा एक जना अभिलेखकर्ता, एक जना ट्राफिक प्रहरी, एक जना संवादकर्ता, एक जना महिला प्रहरी सहितका प्रहरी हुने गर्दछन् । अभिलेखकर्ताले रजिष्टरमा सवारी साधनको नम्बर चालकको नाम, सम्पर्क नम्बर सहित चेकजाँचको क्रममा भेटिएको सामान एवं अवश्याको बारेमा अभिलेख राख्ने गर्दछ ।

आरएससिसीकालागि गति मापन गर्ने यन्त्र राडारगन, मादकपदार्थ सेवन गरेको पत्ता लगाउने यन्त्र ब्रेथलाईजर, रातिमा सवारी साधन रोक्न र पास गर्नकालागि संकेत गर्ने यन्त्र म्याजिक लाईट, रातिको समयमा टाढाको वस्तु देख्नकालागि प्रयोग गरिने फोकस लाईट, टाउकोमा बाँधेर कागजपत्र हेर्न प्रयोग गरिने हेड लाईन, सवारी साधनहरुको गति नियन्त्रण गरि रोकेर चेकजाँच गर्न प्रयोग गरिने ब्यारिएर, ट्रफिक कोण, टाफिक सिग्नल ईन्डीकेटर, मेटल डिटेक्टर, सञ्चार सेट, ज्याकेट, नोटबुब, लकबुक, हातहतियार, गोलिगठ्ठा, हतकडी सहितका सामाग्री प्रहरीसँग हुनुपर्ने हुन्छ । यो चेकिङमा ट्रफिक प्रहरीले सावरी साधनको कागजपत्र र चालकको कागजपत्र चेक गर्छ भने जनपथ प्रहरीले सवारी साधनमा रहेको सामान र व्यक्तीहरुको जाँच गर्ने गर्छ । शंकास्पद वस्तु वा व्यक्तीहरुको शरिर नै चेक गर्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*