काठमाडौं, ९ कात्तिक
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको निर्वाचन क्षेत्र बाँडफाँट सम्बन्धी कार्यदलले १ सय २८ सिटको बाँडफाँट टुंगाएको छ।
कार्यदलले बाँडफाँटमा सहमति नजुटेका क्षेत्रको टुंगो लगाउने जिम्मा भने पार्टी एकता संयोजन समितिलाई दिएको छ।
केही निर्वाचन क्षेत्रमा माओवादी केन्द्र एमालेका आकांक्षीले कडा रुपमा दाबी प्रस्तुत गरेपछि टुंगिन सकेको छैन। दाङको २ मा माओवादी केन्द्रका कृष्णबहादुर महरा र एमालेका शंकर पोखरेलले दाबी गर्दा कार्यदल टुंगोमा पुग्न सकेको छैन।
त्यस्तै चितवन – २ एमालेका नेता कृष्णभक्त पोखरेल र रामबहादुर थापा ‘बादल’ दुवैले दाबी गरिहरेका छन्। कार्यदलमा एमाले सदस्य सुरेन्द्र पाण्डेले बुधबार कार्यदलले बाँडफाँटलाई अन्तिम रुप दिएर नेताहरूलाई प्रतिवेदन दिएको बताए।
‘नमिलेको ठाउँको पार्टी एकता संयोजन समितिमा पठाउने र त्यहाँबाट टुंगो गर्ने कुरा भयो’, पाण्डेले भने, ‘हामी कार्यदलमा भएको छलफल र कहाँ के गर्दा मिल्छ भन्ने राय राख्छौँ।’ नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच ६०/४० प्रतिशतमा सिट भागवण्डा गर्ने सहमति भएको थियो।
पहिलो चरणको निर्वाचनका लागि एमालेले ५७ प्रतिशत सिटमा उम्मेदवारी दर्ता गराएको छ भने माओवादीले ४३ प्रतिशत सिटमा उम्मेदवारी दर्ता गराएको छ।
RaptiSandesh RaptiSandesh