Home / Feature Breaking news / मादलबाट जिवन धानेका कमानसिंङ

मादलबाट जिवन धानेका कमानसिंङ

यमकला भुषाल
तुलसीपुर, २ कार्तिक
दाङ तुलसीपुर उपमहानगरपालीका वडा नम्मर ७ ग्वारखोलामा बस्दै आउनुभएका कमानसिंङ विश्वकर्मा अहिले ६० बर्षका हुनुहुन्छ । २०३८ साल देखी घरमै आफ्ना पितासँग बसेर मादल बनाउन सिकेका कमानसिङ ३६ वर्षदेखी मादल बनाउने र बेच्ने गदै आएको बताउनुभयो ।

सहरमा चाडपर्वको मौसम सुरु हुन थालेसँगै उहाँ अहिले ब्यस्त हुनुहुन्छ, किनकी चाडपर्वको समयमा मादलको माग सबभन्दा बढी हुन्छ । मादल बनाउन र मर्मत गर्नमा क्षमतावान् विश्वकर्मा मादलको पर्यायवाची बन्नुभएको छ ।

व्यावसायिक रुपमा मादल बनाउने पेशा संकट पर्दै गएको अवस्थामा रोजी रोटीको लागि मात्र नभएर मादल जोगाउने सुरका साथ आफूले यो पेशालाई निरन्तरता दिएको उहाँले बताउनुभयो । अन्य समुदायले मादल बनाउन छोडे पनि आफूले नछोड्ने र पछाडिका पुस्तालाई यो कला र सीप हस्तान्तरण गर्न चाहेको उहाँको भनाइ छ । नयाँ मादल बनाउने र पुराना मादलको मर्मत गर्ने गरेका कमानसिंहको घरमा मादल किन्न आउनेको भिड हुने गर्दछ ।

१४ जना परिवार भएका कमानसिङले मादल मर्मत गरेर आफ्नो परिवारको घरखर्च चलाउदै आउनु भएको छ । ३ भाई छोरा भएको कमानसिंहलाइ कसैको भरमा बाच्नु परेको छैन । उहाँले सिजनमा मादल बनाएर मनग्य आम्दानी गर्नुहुन्छ भने अन्य समयमा आरन पेशा गर्नुहुन्छ । ‘दसैँको बेला खासै कारोबार हुदैन’ उहाँले भन्नुभयो– ‘सबैभन्दा बढी तिहारमा र माघीमा मादल बनाउन आउनेको घुइचो लाग्छ आम्दानी पनि राम्रो हुन्छ ।’

उहाँलाई मादल बनाउन र मर्मत गर्न भ्याइनभ्याई छ । मादल बनाउने पेशालाई व्यावसायिक बनाउन आधुनिक औजार र नवीनत्तम् प्रविधिको खाँचो रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो– ‘मानिसहरु घर भन्दा बाहिरी गएर धेरै दुख्ख कष्ट बेहोर्नु पर्छ तर सिप सिक्ने हो भने घरमै बसि बसि राम्रो आमदानी गर्न सकिन्छ । पुस्तौँ देखि नै हाम्रो घरपरिवारमा यो पेशा अँगाल्दै आइएको छ ।’

पेशा सजिलो, आयआर्जन हुने र स्थानीय स्तरमै कच्चा पदार्थ समेत उपलब्ध हुने भएका कारण निरन्तरता पाउनेमा आफू आशावादी रहेको विश्वकर्माको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*