Home / Feature Breaking news / दाङमा ३५ प्रतिशत रोपाई हुन बाँकी

दाङमा ३५ प्रतिशत रोपाई हुन बाँकी

बिमला घर्ती
घोराही, १७ साउन
साउन आधा सम्म पनि पर्याप्त वर्षा नभएपछि दाङमा गत वर्षको तुलनामा न्यून रोपाई भएको छ । जिल्ला कृषि विकास कार्यालय दाङका अनुसार हालसम्म जिल्लामा ६५ प्रतिशत मात्रै रोपाइँ सकिएको छ । पोहोर यो बेलासम्ममा ८० प्रतिशत रोपाइँ सकिएको थियो । धानको बिउ राखेको करिव २५ देखि ३० दिन सम्म रोपिसक्नुपर्ने हुन्छ । तर बिउ राखेको ४५ दिन भन्दा धेरै भैसकेको छ ।

यो बर्ष धान उत्पादनमा कमी आउने जिल्ला कृषि विकास कार्यालय दाङका कृषि प्रसार अधिकृत भरतमणि पोख्रेलले जानकारी दिनुभयो । वर्षा नै नभएपछि रोपाइँको चटारो हुने समयमा पनि सिँचाइ सुविधा नभएका स्थानका किसान फुर्सदिला छन् । मानो रोपेर मुरी उब्जाउने सिजनमै फुर्सद भएपछि अनिकाल लाग्ने चिन्ताले किसानलाई सताउन थालेको छ । सिँचाइ सुविधा भएका ठाउँमा किसानले जेनतेन रोपाइँ गरिरहे पनि अकासे पानीमा भर पर्नुपर्ने ठाउँका किसान आकाश हेरेरै दिन बिताउन बाध्य छन् ।

धान खेतीका लागि आवश्यक पानि पर्न नसकेकाले रोपाइँमा समस्या भएको घोराही उपमहाँनगरपालिका वडा नम्बर १३ का मोहन नेपालीले गुनासो गर्नुभयो । पोहोर असार मसान्तमै धान रोपिसकेका नेपालीलाई यो वर्ष कसरी रोपाइँ गर्ने भन्ने चिन्ता छ । उहाँले भन्नुभयो– ‘धानको बिउ राखेको लामो समय भैसक्यो, बिउ छिप्पीसक्यो, खेतमा पानी छैन, के गर्ने पानी नै पर्दैन’

अकासे पानीको भरमा खेती गर्दै आएका प्रेम बहादुर थापाको चिन्ता पनि उस्तै छ । यो वर्ष पानी पर्न नसकेकाले खोलानालामा प्रयाप्त पानी छैन । जसले गर्दा यो बर्ष रोपाइँ गर्न नसकिएको बताउनुभयो । यसवर्ष पर्याप्त पानी नपर्दा साउनको १५ विति सक्दा पनि दाङको ३५ प्रतिशत जमिन बाँझै छ । विगतका वर्षमा साउनको पहिलो सातामा धेरै जसो स्थानमा रोपाइँ भईसकेको भएपनि दाङमा यसवर्ष पर्याप्त पानी नपरेपछि रोपाइँ हुन नसकेको हो ।

खोला र कुलोबाट सिँचाइ पुग्ने ठाउँमा धान रोपाइँ सकिएर हरियो भएको छ भने कुलो नलाग्ने र आकाशे पानीको भर पर्नुपर्ने खेत अझै पनि बाँझै छन् । पर्याप्त रोपाइँ हुन नसकेपछि धानको बीउ ब्याडमै मर्न थालेका छन् भने धानको बीउमै डाँठ पलाउन थालेपछि अब रोपाइँ नै नहुने होकी भन्ने पिडामा पीडित किसान रहेका छन् ।

जिल्लामा हाल सम्म ६५ प्रतिशत मात्र धान रोपाई भएको छ भने ३५ प्रतिशत रोपाइँ हुँन बाँकी छ । जिल्ला कृषि विकास कार्यालय दाङले हाल सम्म ६५ प्रतिशत मात्र धान रोपाई भएको जनाएको छ । गत वर्ष भन्दा यस वर्ष धान खेती कम भएको कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत पोख्रेलले बताउनुभयो । उहाँका अनुसार समयमै वर्षात सुरु नभएको कारणले गर्दा हाल सम्म अघिल्लो वर्ष भन्दा कम धान खेती भएको हो ।

जिल्लाको देउखुरी र पश्चीम क्षेत्रका धेरै ठाँउमा रोपाई भईसकेको भएपनि विशेष गरि सौडियार, डुरुवा, नारायणपुर, ढिकपुर, घोराही क्षेत्रमा केही स्थानमा मात्र धान रोपाई गरीएको कार्यालयले जनाएको छ । जिल्लामा ३६ हजार हेक्टरमा धान खेती हुने गरेको छ ।

गत बर्ष जिल्लामा एक लाख ३९ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । जिल्लामा ४० प्रतिशत खेती आकाशे पानीको भरमा हुने गर्दछ । बाह्रै महिना नै सिंचाई ६० प्रतिसत जमीनमा हुने गर्दछ । गत वर्ष प्रति हेक्टर ४ टन उत्पादन भएको कृषि कार्यालयको भनाई छ । जिल्लामा यस वर्ष १ सय ३ हेक्टरमा चैते धान खेती गरीएको कृषि प्रसार अधिकृत पोख्रेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*