Home / Feature Breaking news / दाङमा यातायात बन्द, घोराहीबाट बन्दकर्ता पक्राउ

दाङमा यातायात बन्द, घोराहीबाट बन्दकर्ता पक्राउ

घोराही, ६ साउन
अपहरणपछि हत्या भएका दाङका निर्माण व्यवसायी रणबहादुर घर्तिको हत्याको विरोधमा आज दाङमा यातायात सेवा बन्द भएका छन् । विनाकारण रणबहादुरको हत्या भएको विरोधमा हिन्दु जागरण नेपाल दाङले आज दाङमा यातायात बन्दको आह्वान गरेको हो । जागरणका जिल्ला सदस्य एवं युवा समितिका जिल्ला संयोजक घर्तिको हत्यारालाई हदैसम्मको कारबाही, श्रीमतिलाई रोजगारको ग्यारेन्टी, छोराहरुलाई गुणस्तरिय शिक्षाको ग्यारेन्टी हुनुपर्ने माग गर्दै चक्काजाम गरिएको हो । जसका कारण साना तथा ठुला सवारीका साधन चल्न सकेका छैनन् । घोराही बजारमा पसलहरु पनि आंशीक मात्रामा खुलेका छन् ।

तुल्सीपुरका व्यापारी राजकुमार श्रेष्ठसँगै अपहरणमा परेका रणबहादुरको पनि हत्या गरिएको थियो । काम विशेषले रुकुम जादै गरेका रणबहादुर राजकुमार श्रेष्ठलाई अपहरण गरेको पोल खुल्ने डरले अपहरणमा परेका थिए । जेठ २६ गते अपहरण भएका रणबहादुरको ३ दिनपछि अपहरणकारीहरुले हत्या गरेका थिए । घर्तिको शव सल्यानको झिम्पे जंगलमा असार २८ गते भेटिएको थियो । परिवारले शव वुझेका छैन भने प्रहरीमा जाहेरी पनि दिएको छैन । उनको शव राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा राखीएको छ ।
प्रहरीले रणबहादुर समेत अपहरणकारीको समुहका सदस्य रहेको हुनसक्ने बताएको भएपनि घर्तीको हत्या र पक्राउ परेका हत्याराको बयानबाट घर्ती निर्दोस भएको बताएको छ । प्रहरीले अहिलेसम्म राजकुमार श्रेष्ठ तथा रण बहादुर घर्तीको अपहरण तथा हत्यामा संलग्न १० जनालाई पक्राउ गरेको छ ।

घोराहीबाट एक बन्दकर्ता पक्राउ

अपहरणपछि हत्या भएका दाङका निर्माण व्यवसायी रणबहादुर घर्तिको हत्याको विरोधमा आह्वान गरिएको यातायात बन्दका क्रममा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । यातायात बन्द गराउदै हिडेको भन्दै उनलाई घोराहीको तुल्सीपुर चोकबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा हिन्दु जागरणका डमरुप्रसाद निरौला रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*