Home / समाचार / प्रधानमन्त्रीद्वारा २ र ५ नम्बर प्रदेशको चुनाव सार्न प्रस्ताव

प्रधानमन्त्रीद्वारा २ र ५ नम्बर प्रदेशको चुनाव सार्न प्रस्ताव

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार सिंहदरबारमा बसेको प्रमुख चार दलको बैठकमा राष्ट्रिय जनता पार्टी (राजपा) लाई सहभागी गराउन दुई र पाँच नम्बर प्रदेशको निर्वाचन सार्ने प्रस्ताव गरेका छन्।

राष्ट्रिय जनता पार्टी (राजपा) ले दोस्रो चरणको चुनाव बिथोल्न मंगलबारदेखि मधेस बन्दसहितको आन्दोलन अघि बढाएपछि प्रधानमन्त्री देउवाले साँझ साढे पाँच बजे प्रमुख प्रतिपक्षी एमालेसहितको बैठक बोलाएर यस्तो प्रस्ताव राखेका हुन्।

बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले राजपालाई सहभागी गराउने सर्तमा प्रधानमन्त्रीबाट असार १४ गतेको चुनाव सार्न सकिने प्रस्ताव आएको बताएका छन्। ‘उहाँले दुइटा प्रदेशमा असार १४ गतेको चुनाव सारेर भए पनि राजपालाई समाहित गराउने हो कि भन्ने कुरा झिक्नुभयो, तर चुनाव सार्ने कुरा एमालेलाई स्वीकार्य हुन्न,’ बैठकबाट बाहिर निस्कँदै ओलीले संवाददाताहरूसँग भने।

ओलीले सत्तापक्ष आफैं राजपालाई निर्वाचनमा सहभागी नगराउन लागिपरेको आशंका पनि व्यक्त गरेका छन्।

सत्ता साझेदार माओवादी केन्द्रका नेता वर्षमान पुनले राजपा चुनावमा आउँछ भने निर्धारित मिति सार्ने प्रस्तावबारे सोच्न सकिने बताएका छन्।

‘सरकार असार १४ गते चुनाव गराउन प्रतिबद्ध छ, तर राजपा आउँछ भने यो मितिका बारेमा सोच्न सकिन्छ,’ उनले भने। यस विषयमा बुधबार राजपासँग वार्ता हुने उनले जानकारी दिए।

राष्ट्रिय जनता पार्टीले भने आफूहरूको माग सम्बोधन गर्न सरकार जिम्मेवार नभएको आरोप लगाउँदै आमहड्ताल लगायतका विरोध कार्यक्रम गरिसकेको छ। मंगलबार बिहानै बसेको नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठकमा पनि केही सदस्यले दुई र पाँच नम्बर प्रदेशमा चुनाव सार्नुपर्ने धारणा राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*