Home / Feature Breaking news / माघ २६, उमेश दाइ ढलेको त्यो दिन…

माघ २६, उमेश दाइ ढलेको त्यो दिन…

डा.सुदीप गौतम

राजाले २०६१ माघ १९ मा प्रत्यक्ष शासन सुरु गरेपछि देशभर आन्दोलन भइरहेको थियो । एक्लाएक्लै आन्दोलन गरिरहेका दलहरुको सात दलीय मोर्चा बनिसकेको थियो । अझ २०६२ मंसिर ३ गते माओवादी र ७ दलबिच १२ बुँदे समझदारी भएपछि आन्दोलनले उचाइ लिँदै थियो । यत्तिकैमा राजाले नगरपालिकाको निर्वाचन घोषणा गरे र मिति तोकियो २०६२ माघ २६ गते ।

नगर निर्वाचनको विरोध गर्दै दाङको घोराहीमा सात दलले शान्तिपूर्ण प्रदर्शन गरिरहेका थिए । माघ १७ गते महिला ¥यालीमा महिलाको अत्यधिक सहभागिता र १८ गतेको युवाहरुको मोटरसाइकल ¥यालीमा अत्यधिक सहभागिता भएपछि दलका कार्यक्रम रोक लगाउने कुरा सुरक्षाकर्मीबाट भएको थियो ।

म त्यतिबेला ‘पापड’को सदस्य सचिव थिएँ । पापडको जुलुसमा पनि हस्तक्षेप गरी पापड बाहेकका अन्य सहभागीलाई सुरक्षाकर्मीले पक्राउ गरेका थिए । यसै क्रममा २०६२ माघ २६ गते मध्याह्न १२ बजे घोराहीको ‘कटरबुटा’ (हालको वीपी चोक) बाट शान्तिपूर्ण जुलुस निकालिएको थियो । सो अस्पताल रोड, गणेश मन्दिर रोड, दामोदर चोक हुँदै तुलसीपुर चोक पुग्ने बेला प्रहरी निरीक्षक दीपक पोखरेलको नेतृत्वमा आएको सुरक्षाबलको भ्यानले जुलुसलाई रोक्ने प्रयास गरेपछि दुई पक्षीय तनाव भएको थियो ।

माघ २६ गते सुरक्षाकर्मीले जहाँ रोक्छन्, त्यहीँ कोणसभा गर्ने कार्यक्रम बनाएका थिए । तुलसीपुर चोकमा जुलुस आएपछि सुरक्षाकर्मीले रोके र लाठी चार्ज गरे । म त्यहीँ बसेर हेरिरहेको थिएँ । गोली चल्नु अगाडि सुरक्षाकर्मीले घरको छतमा बसिरहेका ६४ वर्षसम्मका महिलामाथि समेत ढुङ्गा प्रहार गरे । पर्यवेक्षकको हैसियतले मैले ढुङ्गा नहान्न आग्रह गरेपछि स्वयम् मलाई मार्ने धम्की दिए । त्यस बिचमा प्रहरी निरीक्षकले भने आफ्ना जवानहरुलाई जथाभावी नगर्न अह्राएका थिए तर सुरक्षाफौज कमाण्डभन्दा बाहिर गएको देखिन्थ्यो । सोही काममा सुरक्षाकर्मीले निर्ममता पूर्वक लाठी प्रहार गरी ११ जना नेता कार्यकर्तालाई घाइते तुल्याए ।

उक्त झडपपछि तितरवितर भएका नेता–कार्यकर्ताले मध्याह्न करिब साढे १२ बजे जिविस चोक (हालको सहिदगेट)मा पुगि पुनः कोणसभा सुरु गरे । तितरवितर भएको समूहका करिब २०–२५ जना प्रदर्शनकारी न्यूरोडबाट सुपरलज रोडतर्फ आउँदै थिए । रमेशकुमार पाण्डे, उपेन्द्र खड्का, विष्णु लामिछाने, ध्रुव आचार्यजस्ता युवाहरु ‘गणतन्त्र जिन्दावाद’को नारा लगाउँदै जिविस चोकतर्फ दौडँदै थिए । यसैबिच ट्रक र जिपमा आएको संयुक्त सुरक्षा बलले एक्कासी गोली प्रहार ग¥यो । सोही क्रममा नेकपा (एमाले) का कार्यकर्ता उमेशचन्द्र थापाको सुरक्षाकर्मीको गोलीबाट घटनास्थलमै मृत्यु भयो भने नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि दाङ जिल्लाको धर्ना गाविसका ५५ वर्षीय कृष्ण गिरी घाइते भए । घाइते गिरीको छाति र खुट्टामा गोली लागेको थियो ।

घटना लगत्तै करिब १० मिनेटमा सुरक्षाकर्मीले घटनास्थलबाट मृतक र घाइतेलाई उठाएर आफ्नै गाडीमा राखी महेन्द्र अस्पताल (हालको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान) पु¥याए । गोली चल्दा म क्यामराको ब्याट्री लिन दामोदर चोकको सौर्य फोटो स्टुडियोमा गएँ । त्यताबाट तुलसीपुर चोक हुँदै जिविस चोक फर्किएँ । चोकमा थिए विपुल पोख्रेल (हाल पत्रकार महासंघका अध्यक्ष) हामी त्यहाँबाट हाम्रो कार्यस्थल स्वर्गद्वारी एफएम आयौँ ।

हामी पुगेलगत्तै विष्णु लामिछाने (तात्कालीन स्ववियु सभापति महेन्द्र बहुमुखी क्याम्पस) र रमेश पाण्डे (हालका वडा नं १५ का अध्यक्ष) आइपुगे । रमेशको हातबाट रगत बगिरहेको थियो । विष्णु निकै आत्तिएका थिए । एकछिन सुस्ताएपछि समूहले भने, ‘उमेश दाइ छैनन्, मैले पछाडि फर्केर हेर्दा उनको शरीर छिया–छिया थियो ।’ मनले मानेन, विपुल र म अस्पताल गयौँ तर भित्र जान दिइएन । कालिका मेडिकल हलको मथिल्लो छतमा गयौँ, त्यहाँबाट पनि केही मेसो पाउन सकिएन । त्यत्तिकैमा जितबहादुर केसी अस्पताल भित्रबाट आए र ‘उमेशचन्द्र थापा हुनुहुन्न’ भन्न थाले ।

मैले नजिकै रहेका किशोरचन्द्र गौतमसँग भने ‘धन्न भगवान् उमेश दाइ रैनछन्, त्यसो भए को हो त ? किशोरले झपारे, ‘के भन्छ पागल हुनुहुन्न भनेको, गइसके भनेको हो ।’ शरीर चिसो भयो । उमेश दाइले प्रेस सञ्चालन गर्ने भएकाले छापामा आउने जाने क्रममा आत्मियता बढेको थियो । अझ आन्दोलनको क्रममा सँगै थिएँ । नरमाइलो लाग्यो र हामी स्वर्गदारी एफएममा फर्कियौँ । फर्कँदा म, विपुल पोख्रेल र कृष्ण गिरीको छोरा सैनिक ब्यारेकमा गयौँ । नाम नखुलेका मेजरले ६ बजे टेलिफोन खुलेपछि मात्र भेट्न सकिने बताए तर पनि घाइते गिरीलाई भेट्न नदिइ उपचारका लागि सेनाले हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको थियो । हामीले भेट्न पाएनौँ ।

विपुल र मैले सल्लाह ग¥यौँ, ‘यो घटनाको राष्ट्रियकरण गर्नु पर्छ ।’ स्थानीय प्रशासनले तुलसीपुर र घोराही क्षेत्रमा टेलिफोन बन्द गराएको थियो । सञ्चार माध्यममा सेनाको पहरा हुन्थ्यो । सरकारी मिडियाले घोराहीको घटनाबारे समाचार बजाउने कुरै थिएन । अन्य ठाउँमा समाचार पठाउन अहिले जस्तो इमेल। इन्टरनेट थिएन । सामाजिक सञ्जालको प्रचलन थिएन । हस्तिलिखित सामग्री फ्याक्स गर्नु पर्दथ्यो ।

हामीले घटनालाई कसरी राष्ट्रियकरण गर्न सकिन्छ भन्नेबारे सल्लाह गरेर समाचार तयार पा¥यौँ । तुलसीपुर र घोराहीमा टेलिफोन सेवा काटिएको भए पनि लमहीमा काटिएको छैन भन्ने हामीलाइ थाहा थियो तर कसरी र कहाँबाट त्यो समाचार फ्याक्स गर्ने ? अन्योल सिर्जना भयो । यहीँ बिचमा घोराही उपमहानगरपालिका वडा नं. १७ बेलभारका पत्रकार दामोदर अधिकारी (कोरोनाका कारण उनको निधन भयो) स्वर्गद्वारी एफएम आए ।

हाम्रो बिचमा समाचार कहाँबाट र कसरी केन्द्रसम्म पु¥याउने भन्ने छलफल चलिरहेको सुनेपछि अधिकारीले समाचार लगेर आफू साइकलमा लमही जाने दृढता व्यक्त गरे । उनले ‘दाइ म लमहीसम्म जसरी पनि पु¥याउँछु’ भने । हामीले उनलाई कसरी पु¥याउँछौ भनेर सोध्यौँ ? साधन छैन, सेनाको गस्ती छ ।’ अधिकारीले जवाफ दिए, ‘दाइ म साइकलबाट जान्छु, हाप पाइन्ट लगाएको छु । सेनाले सोध्यो भने मजदुरी गरेर फर्केको भन्छु ।’ हामीलाई सन्तोष मिल्यो, सबै राष्ट्रिय सञ्चारमा ध्यममा र बिविसीको नेपाल स्टुडियोसम्म पु¥याउने लक्षसहित सबै फ्याक्स नम्बर खोजेर तयार गरेर उनलाई जिम्मा दियौँ ।

अधिकारी एट्लस साइकल लिएर आए । त्यही साइकलको सिट मुनि समाचार लुकाउन कोचेर राखे । एक्लै साइकल लिएर निस्किए । घोराहीदेखि २४ किलोमिटर टाढा अजङ्गका पहाड र उकाली ओराली छिचोल्दै लमही पुगे । लमही आउन जान उनले झन्डै ५० किलोमिटर बढीको यात्रा सामान्य साइकलमै गरे । उनी सेनाको राइफल छिचोल्दै काम फत्ते गरेर सोही दिन राति घर फर्किए ।

हामीलाई प्रिय दाइ उमेशचन्द्र थापा गुमाउनुको पीडाले जिन्दगीभर पोलिरहन्छ तर पनि एउटा कुराले सन्तोष लाग्छ कि हामीले पत्रकार दामोदर अधिकारीको सहयोगले समयमै सत्य सूचना सार्वजनिक गरेर “बुथ लुट्न आएका आतङ्कारीको गोली लागेर मृत्यु भएको” भन्ने प्रशासनले फैलाउन खोजेको गलत सूचनाको खण्डन गर्न आफ्नो कर्तव्य पूरा ग¥यौँ ।

को हुन् उमेश ?

उमेशचन्द्र थापा प्युठानमा जन्मिएका थिए । वि.सं २०१२ असोज १० गते उनको जन्म दिन हो । आमा फनिदेवी थापा र बुवा भोजबहादुर थापाको कोखबाट प्युठानको बरौलामा उनको जन्म भएको थियो । उमेशको शिक्षा स्नातकसम्मको हो । प्युठानकै बिजुली गाविसमा रहेको तत्कालीन जनता मावि र मुक्ति विद्यालयमा अध्ययनपछि दाङको घोराहीमा बसाइँ सरेर आएका थिए । उच्च शिक्षा घोराही भरतपुर स्थित महेन्द्र बहुमुखी क्याम्पसमा सुरु गरेका उमेशले विद्यार्थीकालदेखि नै राजनीति सुरु गरेका थिए ।

बामपन्थी आन्दोलनबाट प्रभावित भएर उमेशले प्युठानबाटै राजनीतिक जीवन सुरु गरेका थिए । कम्युनिस्ट घटकको रुपमा उनले राजनीति सुरु गर्दा विद्यार्थी राजनीतिको अवस्था समेत कमजोर थियो । तत्कालीन नेकपा मालेको सम्पर्कमा रहेर महेन्द्र बहुमुखी क्याम्पसमा उनले काम गरेका थिए ।

वि.सं २०३५÷०३६ तिरको बामपन्थी विद्यार्थी आन्दोलनका क्रममा उनी तुलसीपुरमा चार महिना हिरासतमा रहेका थिए । २०३५ साल चैत्रमा पक्राउ परेका थापा कृष्णकिशोर घिमिरे, तिलकराम पौडेल बैरागी, रामबहादुर अधिकारी, गणेश केसी, खगेन्द्र ढकाल, सैलेश्वर श्रेष्ठ सँगै तुलसीपुर कारागारमा बसेका थिए । उनीहरु ७ जनालाई घोराही रामपुरका ऋषिराम शर्मा (कृष्णकिशोर घिमिरेका बाबु)ले तत्कालीन अञ्जल अदालत तुलसीपुरमा बन्दी प्रत्यक्षीकरणको रिट दिई २०३६ साल असार ३ गते थुना मुक्त गरेका थिए । थापाले एमालेको नगर कमिटी सदस्य समेत भएर काम गरेका थिए ।

उनको आफ्नै प्रेस थियो । थापाले विवाह प्युठानबाटै गरे । विद्यार्थी र राजनीति गर्दै दाङमा बस्न थालेपछि प्युठानकै एञ्जला थापासँग विवाह गरेका थिए । वि. सं २०४१ फागुन २२ गते उनले मागी विवाह गरेका थिए ।

उमेशको सहादत २०६२÷०६३ को आन्दोलन सफलताको प्रस्थान विन्दु बन्यो । उमेशको श्रद्धाञ्जली कार्यक्रममा भएको जनसहभागिताले तत्कालीन सरकारको मुटु थर्किएको थियो । उमेशकै सहादत देखी दाङमा आन्दोलनले गति लिएको थियो र प्रशासनको मनोबल गिरेको थियो । त्यसैले ०६२÷०६३ को आन्दोलनमा दाङमा प्रशासन दमनमा उत्रन सकेन । उल्लासपूर्ण सहभागितामा ०६२÷०६३ को आन्दोलन सफल भयो ।

(गौतमले दाङको राजनीतिक इतिहासमा विद्यावारिधि गरेका छन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*