टि-ट्वान्टी विश्वकप अन्तर्गत समूह २ को सेमिफाइनल दौड रोमाञ्चक मोडमा पुगेको छ। बुधबार राति आयोजक भारतले बेंगलुरूमा अत्यान्तै रोमाञ्चक तरिकाले बंग्लादेशलाई १ रनले हराएपछि समूहबाट सेमिफाइनलमा पुग्ने भारतीय लक्ष्य मजबुत भएको छ।
गएरातिको जितसँगै भारतले समूहमा ४ अंक बटुलेर शीर्ष दुईमा पुगेको छ। समूहमा ६ अंक पाएको न्यूजिल्याण्ड आफ्ना तीनै खेल जितेर सेमिफाइनलमा पुगिसकेको छ।
यता भारतसँग पराजित भएसँगै बंगलादेश सेमिफाइनलको दौडबाट बाहिरिएको छ। प्रतियोगितामा तीनै खेल हारेको बंगलादेशले अब न्यूजिल्याण्डसँग खेल्न बाँकी छ।
अष्ट्रेलिया र पाकिस्तान समान २-२ अंकसहित तेस्रो र चौथो स्थानमा छन्। अब पाकिस्तान र भारतले एक-एक खेल खेल्न बाँकी छ भने अष्ट्रेलियाले २ खेल खेल्न बाँकी छ।
यो समूहबाट सेमिफाइनलमा पुग्न कसको सम्भावना कस्तो
पाकिस्तान– राम्रो रनरेटमा शुक्रबार अष्ट्रेलियालाई हराएर आइतबार हुने भारत र अष्ट्रेलियाबीचको खेलमा अष्ट्रेलिया विजयी भएमा। यदि यो खेलमा पाकिस्तान पराजित भएमा सेमिफाइनल दौडबाट बाहिरिने छ।
अष्ट्रेलिया- शुक्रबार पाकिस्तान र आइतबार भारतलाई हराएमा।
भारत- आइतबार अष्ट्रेलियालाई हराएमा।