उनी बेलायतमा स-परिवार स्थायी बसोबास गर्छन्। नेदरल्यान्डमा जागिर खान्छन्। भ्याएसम्म हप्ताको एकपटक घर आउँछन्। परिवारसँग समय बिताएर कर्मथलो फर्किन्छन्।
उनी वाटर फुटप्रिन्ट बिशेषज्ञका रुपमा जागिर खान्छन्। पानीको उपायोगिता बारे खोज अनुसन्धान गर्छन्। वाटर फुटप्रिन्टको उपयोगिताबारे अनुसन्धानात्मक उनका पुस्तक संसारका विभिन्न कलेजमा पढाइन्छन्।
उनी हुन् मेरा दौंतरी डा. अशोक चापागाईं। जनता नमुना माध्यमिक विद्यालय,विराट्नगरका कक्षा एक देखीका हामी समकक्षी हौं ।
समय पत्तै नपाई गएछ, पचास बसन्त पनि हामीले भर्खरै पार गर्यौं। हिजो भर्खरै जस्तो लाग्छ त्यो बरको फेदीमा जुटको बोरा ओछ्याएर खरी रपाटीको टेकोले क, ख, ग सिकेको। अनि, टिफिनमा स्कुलको गेट बाहिर बरको गाछीमुनि छहारीमा गौरीशंकर र केहि वर्षपछि शिवशंकको चटपटे, पीरो तित्री अनि पाचकको स्वादको तिर्सनाले अझै पिरोल्छ।
पढाईमा म अब्बल दर्जाको विध्यार्थी भने थिइनँ। फलामे ढोका मानिने एसएलसी उतिर्ण गर्न पनि हम्मे हम्मे नै पर्र्यो मलाई। सकिनसकी दोस्रो श्रेणीमा उतिर्ण भएको दिन सगरमाथा नै विजय गरेको झैं महशुस भएको थियो।
घरमा छोरालाई डाक्टर-इन्जिनियर बनाउने रहर थियो। त्यहि लहड पछ्याउँदै म पनि साईन्सको विद्यार्थी बनेँ। घोकन्ते पढाइले कति दिन पो थेगोस्? डाक्टर बन्ने सपना चकनाचुर भयो जब मैले दोश्रो श्रेणीमा आइएस्सी उतिर्ण गरेँ।
अशोक पढाईमा तिक्खर। कैले प्रथम त कैले दोस्रो हुने। आईएस्सीको फिजिक्स ग्रुपमा अशोक, बायोलोजीमा म। निलकन र पारकरको फीजिक्स किताब नेपालमा नपाएर दिल्लीबाट किनेर ल्याएको।
दु:ख का दिन थिए है अशोक ती! हामीसँग कलेजमा फीजिक्स, म्याथ र बायोलोजी पढाउने शिक्षक नभएर भारतबाट झिकाइन्थे। अनि, पाँच छ जनाको समूहलाई केमेस्ट्रीको प्राक्टिकलका लागि एउटा टेस्ट ट्युब पाइन्थ्यो। सम्झ त, यी सब अभावका कारण वर्ष दिन पढ्नु पर्ने किताब एक चौथाई पनि नसकी परिक्षा दिनुपर्ने हाम्रो बाध्यता।
इन्जिनियरका लागि छात्रवृत्ति पाएर रुड्की उढ्यौ। बिदाईका दिन मेरो चिनो भनी “पारकर पे” मलाई दिँदा तिमीले भनेका थियौ- ‘सुनिल यही पेनले आज मलाई रुड्की पठाएको हो, तिमीलाई अमेरिका पठाओस् भन्ने कामना गर्दछु ।”
त्यसपछि न त तिमीले सम्पर्क गर्यौ न मैले! हाम्रो करियर को बाटो नै अलग भयो। तीन दशक अर्थात ३० वर्ष पछि जासिङ्टन डिसीस्थित मेरो घरमा तिमीलाई एक रात भित्र्याउँदाको खुसी र सुखानुभूतिले मालाई त्यही सुन्दर बाल्यकालमा पुर्यायो।
हामी दुवै जनता स्कुलको त्यो प्यारोबरको गाछीको छहारीमा निक्कै बेर हरायौं। मैले आफ्नो अतीत कोट्याएँ, तिमीले आफ्नो। मुख भरी पानी आउन्जेल चट्पटेकाकुरा, स्कुलबाट भागेर हिन्दी सिनेमा शोले हेर्न गएको कुरा। अनि अन्य साथी भाई का कुरा। धीत मर्दैन कहिल्यै।
दोश्रो श्रेणीमा आईएससी उतिर्ण गरेपछि म काठमाडौं हुईकिएँ। आईएस्सीको पीडालाई एउटा अनुभवको रूपमा ग्रहण गर्दै मैले आफ्नो शैक्षिक गुणस्तर र रूचिलाई व्यवस्थापन विषयमा केन्द्रीत गरेँ। कमर्स पढ्न म मीनभवन कलेजमा बिहानी सत्रको लागी भर्ना भएँ।
त्यहिबेला अंग्रेज़ी भाषा सिक्न न्यूरोड स्थित अमेरिकी लाईब्रेरीको कक्षा तीनमा भर्ना भएँ। त्यस लाईव्रेरीमा अंग्रेजी भाषा पढ्न ठूला बडाका छोरा छोरीले मात्र धान्न सक्ने शुल्क पो लाग्दो रहेछ। रिन काडेर जसोतसो पैसाको जोहो गरेर पढाई सुचारू गरेँ! यसैबीच स्वास्थ्य मन्त्रालयमा अस्थाई सुब्बाको जागिर पाएँ। जागीरले पढाईमा मद्दत नै पुर्यायो। बिहान कलेज, दिउँसो जागिर र साँझ भाषा कक्षा, मेरो दैनिकी बन्यो। तीन महिनापछि टुटेफुटेको अंग्रेज़ी बोल्ने र बुझ्न सक्ने भएँ।
सवारीका नाममा मसँग एउटा साइकल समेत थिएन। कलेज आवतजावत गर्न, अफिस जान र भाषा सिक्नका लागी साझा बस नै मेरो साहारा थियो। पटक-पटक हुने विद्यार्थी आन्दोलनले मीनभवन लगायत नेपालका सबै कलेज प्रभावित थिए। दिनहुँको हड्ताल र चक्काजामका कारण चार महिना पछि मैले कलेज धाउनुको बदला प्रसस्त पुस्तक स्वाध्ययन गर्न थालेँ।
पहिलो वर्षको परिक्षाको समय नजिकै आउँदा मुटुको धड्कन पनि बडदैथियो। अंग्रेजी सिक्दै गरेकोले परिक्षामा मलाई अंग्रेजी ग्रामरको कुनै चिन्ता नै भएन। अंग्रेजीको परिक्षा मज्जाले नै दिएको थिएँ । यसको नजिता मेरो ज़िन्दगी कै उच्चतम थियो। दोस्रो वर्षको परिक्षा पनि सझिलै उतिर्ण गरेँ। लेखापालको जागिर अनि अंग्रेजी भाषा अध्यनको चटारो बीच अध्यनलाई निरन्तरता दिएँ। स्नाकोत्तर पनि राम्ररी नै उतिर्ण गरेँ।
एक अन्तर्राष्ट्रिय संस्थामा काम पाएपछि मेरो करियरले अर्को मोड लियो । दश वर्षे जागिरे जीवनका दौरान तथा आफ्नो व्यक्तिगत चाहनाले नेपालका ६५ जिल्लाका भीरपाखा पार गर्ने अवसर पनि प्राप्त गरेँ। नेपाली ग्रामिण जीवन नजिकबाट अध्ययन गरेँ।त्यसको प्रतक्ष अनुभूति पनि। सिस्नु र ढिँडो, गुन्द्रुक र सिन्की अनि तामाको स्वाद अहिले पनि सम्झना आउँछ।
पछि म त साँच्चिकै अमेरिका आइपुगेँ, पारकर पेन दिँदा तिमीले भनेझैं भयो। अमेरिका आएपछिको एकदिन म कार्यालयमा थिएँ।
अचानक मेरो इनबक्समा अफिसको इमेल आयो। क्लिक गरेँ। पठाउनेको नाम थियो-अशोक चापागाईं।
मैले तत्काल त विश्वास नै गर्न सकिनँ। ३० वर्षदेखि बिछोडिएको मेरो समकक्षी एउटै कार्यालय अन्तर्गत बेलायतमा बसेर काम गर्दैछ भनेर मलाई विश्वास नै भएन। कस्तो संयोग!
त्यो जुटको बोरा अनि खरी र पाटीको टेकोले हामी दौंतरीलाई एउटै कार्यालयमा भेटाई दियो। तिमीले दिएको आफ्नो चिनो ‘पारकर पेन’ ले त कमाल नै गर्यो। तिम्रो बोलीमा सरस्वतीले बास गरेको अनुभूति मलाई थियो।
हाम्रा अतीतका दु:ख, कष्ट अनि अभावले तिमीलाई आज पनि पिरोल्दो हो नि अशोक!
तिमीले आफ्ना अनुसन्धानका पुस्तक कलेजहरूलाई वितरण गर्दै आएका छौ। यो धरतीमा शिक्षाको ज्योति छर्नु जस्तो ठूलो कर्म अरु केही हुँदैन अशोक, तिमी आफ्नो कर्म गर्दै जाउ।
आफ्नो मातृभूमिको सेवा गर्न विश्वाको जुन कुनोमा बसे पनि आ-आफ्नो तरिकाले गर्न सकिन्छ भन्ने एक नमुना हौ तिमी अशोक। तिम्रै शब्द सापटी लिएर भन्दा “आफ्नो मातृभूमि सेवाका अनेक रूप हुन्छन्। अहिलेको तीब्र विश्वव्यापिकरणको युगमा भौगौलिक सीमा र दूरीको मायने कमै हुन्छ। चाहना हुनुपर्छ, बाटा प्रशस्तै छन्।’
यसलाई हेर्ने आँखा र बुझ्ने दिमाग फरक होलान् तर एउटा कुरा सत्य छ अशोक,
‘फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार।’