Home / Feature Breaking news / गाउँगाउँमा बढ्दै जनसमर्थन, उत्साहित उम्मेदवार घिमिरे

गाउँगाउँमा बढ्दै जनसमर्थन, उत्साहित उम्मेदवार घिमिरे

निर्वाचनको मिति नजिकिँदै जाँदा दाङमा चुनावी माहोल तातिँदै गएको छ । उम्मेदवारहरू मतदातालाई आफ्नो पक्षमा पार्न घरदैलो,भेटघाट तथा चुनावी सभालगायत कार्यक्रमलाई तीव्रता दिइरहेका छन् ।

यसैक्रममा गाउँ–गाउँमा जुट्दै गएको जनसमर्थनले उम्मेदवार किरणकिशोर घिमिरे उत्साहित बनेका छन् । नेपाली कांग्रेसबाट दाङ निर्वाचन क्षेत्र नम्बर–२ मा उम्मेदवार बनेका घिमिरेलाई फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा जिताउने गरि विभिन्न कार्यक्रमहरु भैरहेका छन् ।

उम्मेदवार घिमिरेले पनि गाउँगाउँमा पुग्दा मतदाताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको उल्लेख गर्दै आफ्नो जित सहज बन्दै गएको दाबी गरेका छन् । आइतबार घोराही उपमहानगरपालिका–८, १०, ११ र १६ अन्तर्गत तेरौटे, बेलुवा, बरुवा गाउँ, खैरा, नारायणपुर, पर्सेनीलगायतका विभिन्न ठाँउमा आयोजना गरिएका कार्यक्रमलाई सम्बोधन गर्दै जनताको उत्साहले आफूलाई थप जिम्मेवार बनाएको बताएका थिए ।

जनताका समस्या समाधान गर्दै सेवकका रुपमा काम गर्ने गरि आफू निर्वाचनमा उम्मेदवार भएको भन्दै घिमिरेले भने,“चुनाव जित्नु मात्र ठूलो कुरा होइन, जनताको विश्वास जित्नु मुख्य कुरा हो । वर्षौँदेखि जनप्रतिनिधिले प्रभावकारी काम गर्न नसक्दा जनतामा निराशा बढेको छ । त्यस निराशालाई आशामा बदल्न म उम्मेदवार बनेको हुँ ।”

केही नेताहरूले आफ्नो पहलमा विकास आयोजना सम्पन्न भएको दाबी गरिरहे पनि जनताको आधारभूत समस्या अझै समाधान हुन नसकेको पाइएको बताए । जनताको घरदैलोमा जाँदा अहिले पनि सडक, खानेपानी, सिँचाइ र विद्युत् जस्ता समस्या यथावत् रहेको पाइएको बताएका थिए ।

उनले अहिलेको निर्वाचनलाई केवल प्रतिनिधि छान्ने प्रक्रिया नभई मुलुकको दिशा तय गर्ने ऐतिहासिक अवसरका रूपमा व्याख्या गरे । “यो चुनाव एउटा सांसद जित्ने मात्र होइन, देशलाई अस्थिरता र अन्योलबाट जोगाउने कि फेरि प्रयोगशालामा लैजाने भन्ने निर्णय हो”, उनले भने । पछिल्ला वर्षहरूमा देखिएको राजनीतिक अस्थिरता, सरकार परिवर्तनको चक्र र आर्थिक मन्दीले जनतामा निराशा बढेको उल्लेख गर्दै उनले स्थायित्वका लागि कांग्रेस नेतृत्व आवश्यक रहेको दाबी गरे ।

घिमिरेले संविधान र लोकतान्त्रिक व्यवस्थामाथि विभिन्न कोणबाट दबाब आइरहेको सन्दर्भ जोड्दै २०७२ को संविधान निर्माणदेखि लोकतान्त्रिक आन्दोलनसम्म कांग्रेसको भूमिका स्मरण गराए । “देशमा हरेक निर्णायक मोडमा कांग्रेसले नै नेतृत्व गरेको छ, अहिले पनि त्यही जिम्मेवारी हाम्रो काँधमा आएको छ”, उनले भने ।

पार्टीका नेता–कार्यकर्तासँगै अन्य दलप्रति आस्था राख्ने मतदाताबाट पनि सकारात्मक संकेत मिलिरहेको घिमिरेले बताए । “सबै मतदाता खुलेर बोल्न सक्दैनन्, तर जनमत हाम्रो पक्षमा बढिरहेको छ,” उनले भने, “त्यसैले संगठित भएर जित सुनिश्चित गर्ने गरी तयारीमा जुट्नुपर्छ ।” उनले शिक्षा, स्वास्थ्य, रोजगारी र स्थानीय विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउँदै भने, “अबको नेतृत्वले भाषण होइन, कामबाट जनताको भरोसा जित्नुपर्छ ।”

भेटघाटका क्रममा स्थानीयले सडक, सिँचाइ, खानेपानी, शिक्षा र रोजगारीका विषयमा गुनासा राखेका थिए । घिमिरेले ती मागहरूलाई केन्द्रीय नीतिसँग जोडेर समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेका थिए । चुनावी प्रचारप्रसार कार्यक्रममा नेपाली कांग्रेसका नेतृ एवं संविधान सभा सदस्य अनिता देवकोटा,नेपाली कांग्रेसका क्षेत्रीय सभापति भिमप्रकाश खड्का, कांग्रेस प्रदेश सभा (ख) का सभापति अभियान बस्नेत, उपसभापति शरद समीर, सचिव तिलक केसीलगायत नेताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*