Home / Feature Breaking news / राष्ट्रपतिमा कांग्रेसको सचेत कसरत

राष्ट्रपतिमा कांग्रेसको सचेत कसरत

राष्ट्रपतिमा ‘अर्जुनदृष्टि’ लगाएको कांग्रेस पार्टीमा आउन सक्ने ध्रुवीकरण र अन्य अवरोध रोक्ने गरी सचेतपूर्वक कसरत गरिरहेको छ । सभापति शेरबहादुर देउवा सरकार गठनका वेला पाएको असफलताको अपजस दोहोरिन नदिन पार्टीको इतरपक्षलाई समेत समेटेर अघि बढेका हुन् ।

देउवाले इतर समूहबाट महामन्त्री गगन थापा तथा आफूनिकट नेताहरू उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला र वरिष्ठ नेता रामचन्द्र पौडेललाई अन्य दल तथा नेतासँगको छलफल–सहमतिको भूमिकामा अगाडि लगाएका छन् । महामन्त्री थापा देउवाको निर्णयमाथि खरो रूपमा प्रस्तुत हुनेमध्येमा थिए । कांग्रेसले राष्ट्रपतिमा आफूले तय गर्ने उम्मेदवारको पक्षमा सम्भव भए राष्ट्रिय सहमति, नभए परिणाम ल्याउने गरी दलहरूसँग छलफल तीव्र पारिरहेको छ ।

यसैको तयारीस्वरूप कांग्रेसबाट अगाडि सार्ने उम्मेदवारको नाममा सहयोगका लागि आइतबार औपचारिक रूपमै प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डलाई आग्रह गरेको थियो । पछिल्लो समय कांग्रेस नेताहरूले दिने अभिव्यक्तिमा समेत सत्तागठबन्धनमा समस्या आएकाले समीकरण परिवर्तन हुने र कांग्रेसले उठाएको उम्मेदवार नै राष्ट्रपति बन्ने एक स्वर आइरहेको छ ।

इतर समूहको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइरालाले पनि सोमबार कांग्रेसको उम्मेदवारले नै बाजी मार्ने दाबी गरेका थिए । कांग्रेस सिन्धुली क्षेत्र नम्बर २ (१) ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टीमा कुनै मतभेद नरहेकाले कांग्रेसले राष्ट्रपति जितेरै छाड्ने जिकिर गरेका थिए । ‘शेरबहादुरजी पार्टी सभापति हुुनुहुन्छ । हामीमा केही कुरा नबुझे खुलस्त भन्छाैँ । हामीमा समस्या छैन,’ उनले भनेका थिए, ‘राष्ट्रपतिमा कांग्रेसको उम्मेदवार हुन्छ र जित्छ, यसमा म ढुक्क छु । कांग्रेसले राष्ट्रपति पाउने होइन, जितेर लिने हो ।’

कोइरालाको भनाइले पनि कांग्रेसमा पछिल्लो समय मतभेदलाई भुलेर राष्ट्रपतिका लागि एकजुट बनेको संकेत गर्छ । कांग्रेस नेताहरू पनि सरकार गठनमा देखिएको असफलतापछि राष्ट्रपति निर्वाचनमा अभूतपूर्व एकता देखिएको बताउँछन् । राष्ट्रपति निर्वाचनकै लागि पार्टीको केन्द्रीय कमिटी बैठकसमेत चल्न सकेको छैन । साथै नेताहरू एमालेले खेल्न सक्ने प्रतिकूल भूमिकामाथि समेत सूक्ष्म नजर राखिरहेका छन् ।

कांग्रेसले सहयोगका लागि प्रस्ताव गर्दा पात्र नभई, पार्टीको उम्मेदवारलाई सहयोग गर्न आग्रह गरिरहेको छ । एक पदाधिकारीका अनुसार पात्रको नाम बाहिर ल्याउँदा माहोल बिग्रने सम्भावनाका आधारमा यस्तो रणनीति तय गरिएको हो । कांग्रेसले खासगरी राष्ट्रपति निर्वाचनमा निर्णायक मानिएको माओवादीले निर्णय गरेपछि बैठक बसेर उम्मेदवार टुंग्याउने तयारी गरेको छ ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत पनि कांग्रेसमा पछिल्लो समय कुनै मतभेद नरहेको बताउँछन् । पार्टीमा एकमत भएर कांग्रेसबाट अघि सार्ने उम्मेदवारको पक्षमा सहमति जुटाउने प्रयास भइरहेको उनको भनाइ छ । ‘पार्टीमा कुनै विमति छैन । कांग्रेसको उम्मेदवारको पक्षमा राष्ट्रिय सहमतिका लागि दलहरूसँग निरन्तर छलफल भइरहेको छ । सरकारको नेतृत्व गरिरहेको माओवादीसहितका दलहरू हाम्रो प्रस्तावमा सकारात्मक नै हुनुहुन्छ,’ उनले भने, ‘उपयुक्त समय आएपछि पार्टीको बैठक बसेर उम्मेदवार कसलाई बनाउने भन्ने टुंगो लगाउँछौँ ।’

दोहोर्‍याउन चाहँदैन सरकार गठनमा पाएको असफलताको अपजस
डा. प्रकाशशरण महत प्रवक्ता, कांग्रेस

पार्टीमा कुनै विमति छैन । कांग्रेसको उम्मेदवारको पक्षमा राष्ट्रिय सहमतिका लागि दलहरूसँग निरन्तर छलफल भइरहेको छ । सरकारको नेतृत्व गरिरहेको माओवादीसहितका दलहरू हाम्रो प्रस्तावमा सकारात्मक नै हुनुहुन्छ । उपयुक्त समय आएपछि पार्टीको बैठक बसेर उम्मेदवार कसलाई बनाउने भन्ने टुंगो लगाउँछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*