Home / Feature Breaking news / गुनासाभित्रै पोखिएका आशा…

गुनासाभित्रै पोखिएका आशा…

दाङ, ३ पुस । व्यक्ति देखेरै आफ्नो धारणा बनाइरहेका हुन्छौं, न्युट्रालिटीलाई कोड अफ कण्डक्टमा राख्न सकेनौ, सामाजिक उत्तरदायित्वबोध गरी काम गर्न सकेनौँ, राजेन्द्र लिंग्देनले नेतालाई गाउँमा जाँदा चोर भन्छन् भन्याजस्तै मिडियाको पनि उस्तै अवस्था, राजनीतिक संगठनका पृष्ठपोषक बन्यो पत्रकारिता, हुवहु समाचार हामीलाई पस्कियौं भनिरहँदा पनि नागरिकहरुमा अन्ततः कुनै न कुनै अवस्थामा समाचारको भोक जागृत नै रहेको नागरिक अगुवाहरुले बताएका छन् ।

पत्रकार महासंघ दाङ शाखाले स्थापना दिवसको अवसर पारेर नागरिकका आँखामा मिडिया कार्यक्रममा सहभागीहरुले यस्तो अभिव्यक्ति दिएका हुन् । सहभागीहरुले सिंगो पत्रकारितालाई आलोचना गरिरहे पनि अन्ततः मुलुकलाई सही ट्रयाकमा ल्याउन मिडियाको कुनै विकल्प नभएको पनि उनीहरुको अभिव्यक्ति थियो । ‘हामीले देख्दा सकारात्मक देख्नुपर्दछ तर पनि मिडियामा व्यक्ति देखेरै अलरेडी कन्सेप्ट बनाइदिने प्रवृत्ति हावी छ’, कार्यक्रममा सहभागी एमाले दाङका सचिव मनोहर बुढाथोकीले भने ।

कार्यक्रममा कांग्रेस जिल्ला उपसभापति गिरिराज सुवेदीले पनि रिपोर्टरका कुरालाई पनि सञ्चालकले तोडमरोड गरेर आफ्नो स्वार्थमा ढाल्ने गलत अभ्यासले मिडियाप्रतिको विश्वासमा कमी आएको बताए । व्यक्तिगत प्रभावमा परी बहकिदिने र प्रबृत्ति भन्दा पनि व्यक्तिलाई खेद्ने प्रबृत्ति पनि मिडियामा आएकाले त्यसलाई सुधार्नु आवश्यक रहेको पनि उनको अभिव्यक्ति थियो । यति भनिरहँदा पनि उनले मिडियालाई राष्ट्र निर्माणको मेरुदण्ड भन्न भने चुकेनन् । मिडियाप्रति उनको भरोसा पनि थियो, हाम्रा विपक्षमा पनि खवरदारी गरिदिनुस् ताकि हामी पनि सही ट्रयाकमा हिँड्न सकौं । सो अवसरमा सहभागी राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले युगवोधदेखि युट्युवसम्मका मिडिया उदाएकाले कसलाई कति विश्वास गर्ने भन्ने समस्या उत्पन्न भएको बताउँदै मिडियाको पुनः परिभाषा आउनुपर्ने धारणा राखे ।

नागरिक अगुवा केबी मसालले नागरिकहरुमा पत्रिका पढ्ने चलन हराएको बताउँदै पत्रिका खोजी–खोजी पढ्ने वातावरण बनाउन पत्रकार महासंघले एकपटक आत्मसमीक्षा गर्नुपर्ने बताए । ‘मैले एकैदिन घोराहीका ७ जना सम्भ्रान्त नागरिकका घरमा दैनिक पत्रिका पढ्ने बानी छ छैन भनेर एक दिन सर्वे पनि गरेँ, तर सातै जनाको घरमा कुनै पनि दैनिक पत्रिका आउने रहेनछ’, मसालले भने– उनीहरु सबै फेसबुकमा समाचार हेरेर चित्त बुझाउँदा रहेछन् ।

कार्यक्रममा दाङ उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीले उद्योग वाणिज्य संघ, पत्रकार महासंघदेखि सबै संघसंगठनका व्यक्तिहरुमा राजनीतिको नशा चढेको अभिव्यक्ति दिँदै पत्रकारितामा पनि तरलता आउन थालेको बताए । ‘स्वतन्त्र प्रेसको हामी सम्मान गर्दछौं, तर यहाँ कताकता स्वतन्त्र प्रेस हराउँदै गएको पाउँछौं’, महासचिव बुढाथोकीले भने ।

पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदीले विषयबस्तु प्रवेश गराएसँगै सुरु भएको अन्तक्र्रिया कार्यक्रममा नेपाल महिला सामुदायिक केन्द्रकी अध्यक्ष कल्पना शर्माले मिडियाप्रतिको प्रतिशोध किन आयो भन्ने सवालमा पनि आत्मसमीक्षा गर्नुपर्ने अवस्था आएको बताइन् । नागरिक अधिकारकर्मी एचबी थापाले पछिल्लो पत्रकारितामा सामाजिक उत्तरदायित्वको भावना हराउँदै गएकाले यसलाई पुनःस्थापित गर्न यो पुस्ताले नै पहल गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि, नागरिक अगुवा तथा वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माले चिन्तन, मनन र खोज अध्ययनको कमी आएको बताउँदै अबको मिडिया दलीय आचरणभन्दा माथि उठ्नुपर्ने सुझाव दिए । सो अवसरमा पत्रकार तथा प्राध्यापक सुदर्शन रिजाल, पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सविन प्रियासन, पत्रकारहरु भूपेन्द्र वली, पाण्डव शर्मा, टिका बस्नेतलगायतले बोलेका थिए । पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा संघका उपाध्यक्ष वसुन्धरा गौतमले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण सचिव आरके शितलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*