Home / Feature Breaking news / दशैमा साढे १ करोडका खसी–बोका निर्यात

दशैमा साढे १ करोडका खसी–बोका निर्यात

अमरराज आचार्य
दाङ, ४ कार्तिक । जिल्लाबाट दशैका लागि १ करोड ६६ लाख ५१ बढी मूल्यको खसी–बोका निर्यात गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले जिल्लाका विभिन्न स्थानबाट गरिद गरेर १ करोड ६६ लाख ५१ हजार ९ सय ७० रुपैयाँको निर्यात गरेको कम्पनीका निमित्त प्रमुख नकुल चौधरीले जानकारी दिए ।

गत वर्ष १ करोड ३५ लाखको निर्यात गरिएको थियो । उनका अनुसार यस वर्ष १ हजार १ वटा खसी–बोका खरिद गरेर जिल्ला बाहिर पठाइएको हो । जसमा ८ सय ४५ वटा खसी र १ सय ५६ वटा बोका रहेको कम्पनीका खड्गबहादुर बुढामगरले जानकारी दिए । पहिलो लटमा ६ सय र अरु दोस्रो लटमा गरेर पठाइएको हो । गत वर्ष भन्दा यस वर्ष २ सय खसी–बोका बढी निर्यात गरिएको चौधरीको भनाइ रहेको छ । गत वर्ष ८ सय १ वटा खसी–बोका निर्यात गरिएको थियो ।

‘यस वर्ष हामीले पहिलोपटक यति धेरै खसी–बोका खरिद गरेर निर्यात गरेका हौँ’, निमित्त प्रमुख चौधरीले भने ।
कम्पनीले खसी–बोका खरिद गरिदिएपछि कृषकहरुलाई बिक्री गर्नसमेत सहज भएको कृषकहरुको भनाइ रहेको छ । जिल्लामा गत वर्षभन्दा दाङमा जिउँदो खसी–बोकाको मूल्यमा प्रतिकेजी १५ रुपैयाँ बृद्धि गरिएको थियो । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मूल्य निर्धारण समितिको बैठकले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।

बैठकले २५ केजीभन्दा माथिको खसीको मूल्य प्रतिकेजी ५ सय ६५ रुपैयाँ निर्धारण गरेको थियो भने अघिल्लो वर्ष ५ सय ५० रुपैयाँ केजी निर्धारण गरिएको थियो । २० देखि २५ केजीसम्मलाई ५ सय ५० प्रतिकेजी मूल्य निर्धारण गरिएको थियो । अघिल्लो वर्ष ५ सय ३५ रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको थियो भने बोका ५ सय ४५ रुपैयाँ प्रतिकेजी निर्धारण गरिएको थियो । अघिल्लो वर्ष ५ सय ३० रुपैयाँ निर्धारण गरेको थियो । कम्पनीले २० केजीभन्दा कमको खरिद गर्ने गरेको छैन । मूल्यबृद्धि भएसँगै कृषकहरुले केही मात्रामा भए पनि राहात पाएका छन् ।

कृषकहरुले मूल्यवृद्धि बढाउन माग गर्दै आएका थिए । कम्पनीले असोज १७ गतेबाट खसी–बोका खरिद गर्न सुरु गरेको निमित्त प्रमुख चौधरीले बताए । जिल्लाको पश्चिम क्षेत्र तथा देउखुरी क्षेत्रबाट खसी खरिद गरिएको कम्पनीले जनाएको छ । देउखुरी कृषक तथा सहकारी संस्थाहरुले पालन गरिएको खसी–बोका खरिद गरिने गरेको छ ।

किसानहरू मारमा नपर्ने गरी खसी–बोकाको मूल्य निर्धारण गरिएको चौधरी बताउँछन् । खरिद गरिएका खसी–बोका ढुवानी गर्ने धेरैले नमान्ने उनको भनाइ रहेको छ । ढुवानी गर्दा खसी, बोकाको मृत्यु भएमा ढुवानी गर्ने बालाले व्यहोर्नुपर्ने भएकाले नमान्ने गरेका हुन् ।

दशैँ तिहारमा खसी–बोकाको कारोबार धैरै हुने र मनपरी मूल्यमा बिक्री वितरण हुने भएकाले सरकारले हरेक वर्ष खसी–बोका खरिद गरेर बिक्री गर्ने गरेको छ । ‘चाडपर्वमा बढी मात्रामा मासु खपत हुने भएकाले मूल्य बढाउन नदिनका लागि बजार मूल्यलाई नियन्त्रण गर्न सरकारले नै खरिद गरेर बिक्री गर्ने गरेको हो’, चौधरीले भने । घर–घरमा गएर कम्पनीले खसी–बोका खरिद गरिदिएर सहजता गराएको कृषकहरु बताउँछन् ।

यसले किसानहरूलाई थप राहत प्रदान गर्ने चौधरी बताउँछन् । स्थानीय उत्पादन र उद्यमशीलतालाई मुख्य प्राथमिकतामा राखी प्रत्यक्षरूपमा खसी–बोका खरिद गरी बिक्रीका लागि जिल्ला बाहिर पठाइने गरेको निमित्त प्रमुख चौधरी बताउँछन् । तुलसीपुर, घोराही, लमही क्षेत्रमा रहेर कृषि फर्महरू सञ्चालन गरेका सहकारी तथा सामूहिक संस्थामार्फत खसी–बोका खरिद गरिने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*