तुलसीपुर, १९ असोज । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष चालिसेले मेट्रो अस्पताललाई २१ हजार सहयोग सहयोग गरेका छन् । स्व. बुवा टंकुप्रसाद चालिसे र आमा बेदीकुमारी चालिसेको स्मृतिमा अध्यक्ष चालिसे र उनका दाजुहरु झग्गुप्रसाद चालिसे र मिनप्रसाद चालिसेले अस्पतालको स्तरबृद्धिका लागि सो रकम सहयोग गरेका हुन् ।
तुलसीपुर उद्योग वाणिज्य संघले सञ्चालन गरको सहयोग रकम संकलन र स्तरबृद्धिको अभियानलाई थप टेवा पुग्ने उद्देश्यले सो रकम वाणिज्य संघका कोषाध्यक्ष देबबहादुर केसीलाई हस्तान्तरण गरिएको कार्यालय प्रमुख पारेश्वर भट्टराईले जानकारी दिए । यता, तुलसीपुर–८ अश्वारामा सञ्चालनमा रहेको मेट्रो अस्पतालको स्तरबृद्धि र स्वास्थ्य उपकरण थप गर्नका लागि ९० दिने सहयोग कार्यक्रम तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाईमा आइतवारदेखि सुरु गरिएको महासचिव बिनिल केसीले जानकारी दिए ।
जनस्तरबाट रकम संकलन गरी सञ्चालन गरिएको मेट्रो अस्पतालको स्तरबृद्धिका लागि सहयोग गर्न सबै पक्षसँग तुलसीपुर उपमहानगरपालिका र तुलसीपुर उद्योग वाणिज्य संघले अपिलसमेत गरेको छ । सहयोग गर्न चाहनुहुने महानुभावहरुले वाणिज्य संघको कार्यालय तुलसीपुर अथवा ग्लोबल आईएमई बैंकको चहिन ५७०१०१००००४१२ तुलसीपुर चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजको नाममा रकम जम्मा गरेर सचिवालयमा जानकारी गराउने आह्वान गरेको छ । यसअघि कोरोना महामारीको समयमा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न नगरपालिकाले सहयोगको याचना गरेको थियो ।
देश–बिदेशबाट ठूलो रकमसमेत संकलन भयो तर प्लान्ट स्थापना अझैसम्म पनि हुन सकेको छैन । सो समयमा संकलन भएको रकम दिनरात गरी अस्पतालको भौतिक संरचना र प्राविधिक विकासमा लगाएर छोटो समयमा नै कोरोना विशेष अस्पतालको रुपमा सञ्चालनमा ल्याइएको थियो । यसले पश्चिम दाङ र छिमेकी जिल्लाका धेरैभन्दा धेरै नागरिकहरुको उपचारमा सहयोग भएको फोकल पर्सन विमल केसीले बताएका छन् । अघिल्लो सातादेखि मेट्रो अस्पताल जनरल अस्पतालका रुपमा सञ्चालन भएको छ । हाल सो अस्पतालमा कोभिडका बिरामी नरहेको अस्पतालले जनाएको छ ।
RaptiSandesh RaptiSandesh