दाङ, १९ असोज । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलले प्रेस र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पत्रकारहरु उभिनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ दाङ शाखाको संयोजनमा घोराहीमा सञ्चालित एकहप्ते आधारभूत पत्रकारिता प्रशिक्षण तालिमको समापनका अवसरमा बोल्दै केन्द्रीय अध्यक्ष पोख्रेलले पत्रकारहरुले राज्यको अपेक्षा नगरेर समाजको बोली बनेर पत्रकारिता गर्नुपर्ने बताएका हुन् ।
पत्रकारिता पेशा नागरिकका सुख–दुःखका कुरासँगै अभिव्यक्ति स्वतन्त्रताका पक्षमा हुुने भएकाले समाजले विश्वास गर्ने पत्रकारिता अहिलेको आवश्यकता बनेको बताएका हुन् । पछिल्लो समय पत्रकारिता पेशासँग समाजको अपेक्षासँगै गुनासाहरु समेत बढेकाले गुनासोरहित पत्रकारिता अहिलेको आवश्यकता रहेको बताए ।
‘समाजमा पत्रकारितासँग अपेक्षासँगै गुनासाहरु बढेका छन्, जसले गर्दा जनतामा पत्रकारिताप्रतिको विश्वास घट्ने अवस्था आएको छ’, महासंघका केन्द्रीय अध्यक्ष पोख्रेलले भने– ‘पत्रकारिता पेशाप्रति जनताको विश्वास बढाउने गरी पत्रकारिताको विकास हुन आवश्यक छ । त्यसका लागि नयाँ पुस्ता अघि बढ्नुपर्छ ।’ त्यसका लागि पत्रकारहरुमा पत्रकारिता कसरी गर्ने र आचारसंहिताको बारेमा पूर्ण ज्ञान हुनुपर्ने समेत बताए ।
उनले जहिले पनि राज्यले सञ्चार क्षेत्र र पत्रकारहरुलाई आफ्नो पक्षमा पार्न खोज्ने भन्दै त्यसको प्रलोभनमा कोही पर्न नहुने बताएका हुन । सञ्चार क्षेत्र जहिले पनि सरकारको विपक्षमा हुने र सरकारले प्रेसलाई संकुचित गर्ने गरी कानुन बन्न थाले त्यसको विरोधमा बोल्नुपर्ने बताएका हुन् । उनले निर्भिक, निडर र निष्पक्षरुपमा पत्रकारले जनताको पक्षका बोल्न र लेख्नसमेत आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले पत्रकारको क्षमता विकाससँगै पत्रकारिता क्षेत्रमा गुणात्मक विकासका लागि महासंघले तालिमले सहयोग गर्ने बताएका थिए । साथै उनीहरुले पत्रकारिता क्षेत्रको मूल्य, मान्यता र आचारसंहिताभित्र रहेर काम गर्न सबैलाई आग्रह गरेका थिए । आधारभूत तहको पत्रकारिता तालिमले समाचार लेखनसँगै सम्पादनसम्मको ज्ञान दिएको बताएका थिए ।
नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष बसुन्धरा गौतमको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलको प्रमुख आतिथ्य एवं नेपाल पत्रकार महासंघका निर्वतमान केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको विशिष्ट आतिथ्यमा भएको थियो । कार्यक्रममा बोल्दै विशिष्ट अतिथि आचार्यले पत्रकारहरुले तालिममा सिकेका कुराहरुलाई गम्भीरतापूर्वक व्यवहारमा उतार्न आग्रह गर्दै जनउत्तरदायी पत्रकारितामा जोड दिएका थिए ।
तालिमको समापनका अवसरमा नेपाल महासंघ दाङ शाखाका निर्वतमान अध्यक्ष सविन प्रियासन, नेपाल पत्रकार महासंघ केन्द्रका कार्यक्रम प्रवन्धक संघर्ष पन्त, इन्टरनेशनल अलर्टका बरिष्ठ कार्यक्रम अधिकृत बिजय क्षेत्री, पत्रकार सरिता चौधरी, प्रकाश खनालले मन्तव्य व्यक्त गरेका थिए । नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीले कार्यक्रमका सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
महासंघका कार्यसमिति सदस्य शिवराज खनालको स्वागत मन्तव्यबाट सुरु भएको तालिमको सहजीकरण सचिव आर.के. शीतलले गरेका थिए । तालिममा जिल्लाभरका ४० जना पत्रकारहरुको सहभागिता रहेको थियो । युरोपियन युनियन र ईन्टरनेशनल अलर्टको सहयोगमा सञ्चालित सप्ताहव्यापी तालिमको प्रशिक्षकमा महासंघका निवर्तमान अध्यक्ष गोविन्द आचार्य रहेका थिए ।