Home / Feature Breaking news / नक्खु कारागारबाट भागेका कैदीले ठमेल पुगेर गरे युवाको हत्या

नक्खु कारागारबाट भागेका कैदीले ठमेल पुगेर गरे युवाको हत्या

जेनजी प्रदर्शनपछि नख्खु कारागारबाट भागेका कैदीले ठमेलमा एकजनाको हत्या गरेको खुलेको छ । असोज १३ गते मकवानपुर घर भई बालाजु मनमैँजु बस्दै आएका २५ वर्षीय सुरज तामाङमाथि ठमेलमा खुकुरी प्रहार भएको थियो ।

ठमेल बुद्धबारको गल्लीस्थित ह्यापी होटेलअगाडि सुरजमाथि खुकुरी प्रहार भएको प्रहरी वृत्त स्रोहखुट्टले जनाएको छ । खुकुरी प्रहारबाट घाइते सुरजलाई प्रहरीले उद्धार गरेर उपचारका लागि वीरअस्पताल पुर्‍याए पनि उनको राति नै मृत्यु भएको थियो ।

प्रहरी अनुसन्धानले सुरजको हत्यामा आकाश मगरको संलग्ता खुलाएको हो । प्रहरीका अनुसार मगर जेनजीले भदौ २४ गते गरेको प्रदर्शनपछि नख्खु कारागारबाट भागेर आएको खुलेको छ । उनी लुटपाट तथा डकैती मुद्दामा जेल पुगेका थिए । उनी काठमाडौंबाट भागेर भारत पुगेको प्रहरीको आंशका छ ।

भदौ २४ मा कारागारहरूमा समेत आगजनी हुँदा देशभरका विभिन्न कारागारबाट कैदीहरू भागेका थिए । त्यही बेला सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने समेत बाहिर निस्केका थिए ।

कारागार विभागका अनुुसार देशभरका विभिन्न कारागारबाट करिब नौ हजार कैदी बाहिर निस्किएका थिए । नख्खु कारागारबाट त्यही दिन निस्केका काभ्रे पनौती नगरपालिका–१२ का सन्तबहादुर तामाङले असोज ५ गते ३० वर्षीया श्रीमती मनीषा तामाङको हत्या गरेका थिए ।

कारागारबाट भागेको एक हप्तामै सन्तबहादुरले श्रीमतीको हत्या गरेर खाल्डोमा पुरेका थिए । श्रीमतीको शव बेपत्ता पार्ने उद्देश्यले गाडेर उनी कारागार नै फर्किएका थिए ।

प्रहरीको अनुसन्धानले हत्यामा उनको संलग्नता देखाएपछि कागारबाट अनुसन्धानका लागि काभ्रे लगिएको थियो । प्रहरीले पछिल्लो समय जेनजी प्रदर्शनपछि कारागारबाट बाहिर निस्केका कैदीहरूका कारण सुरक्षा चुनौती बढेको जनाएको छ ।

प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरीका कार्यालय जलाउँदा हतियारसमेत लुटेका थिए । प्रहरीको आन्तरिक छानबिनका क्रममा करिब १२ हजार सानाठूला हतियार लुटिएको खुलेको थियो ।

त्यसमध्ये करिब तीन सय हतियार भने रिकभर भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पछिल्लो समय कारागारबाट जघन्य अपराधमा दोषी ठहर भएका कैदीहरू बाहिर र प्रहरीकै हतियारसमेत लुटिँदा सुरक्षा जोखिम बढेको सुरक्षा अधिकारीहरू बताउँछन् ।

प्रहरीको लुटिएका हतियार आपराधिक समूहसँगै पुगे आन्तरिक सुरक्षा चुनौती हुने जनाएको छ । प्रहरीले बारम्बार सूचना जारी गर्दै लुटिएका हतियार फिर्ताको लागि सूचना जारी गर्दै आएको छ ।

प्रहरीले काठमाडौंमा सुरक्षा चुनौती बढेको भन्दै विभिन्न समूहले काठमाडौंमा गर्ने भनिएको प्रदर्शन रोक्दै आएको छ ।

बाह्रखरीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*