नारायणपुर, २६ फाल्गुन
मानव कल्याण समाज (सेवा घर) नारायणपुरका लागि अत्यावश्यक सामाग्रीहरु सिद्धार्थ बैंकले सहयोग गरेको छ । बैंकले मानव कल्याण समाजले घोराही उपमहानगरपालिका वडा नम्बर १० मा सञ्चालन गरेको सेवा घरकालागि आवश्यक भान्साका सामाग्रीहरु प्रदान गरेको हो । सोमवार सेवा घरमा एक कार्यक्रमको आयोजनाका बिच सामाग्रीहरु हस्तान्तरण गरिएको थियो ।
सिद्धार्थ बैंक घोराही शाखाका प्रमुख मिंगल सिंह ठकुरीले ग्याँस चुह्लो, ग्याँस सिलिण्डर, राईस कुकुर, हिटर, किट्ली, ईलेक्ट्रिक पानी फिल्टर लगायतका भान्साका लाथि अत्यावश्यकीय सामाग्रीहरु सेवा घरलाई हस्तान्तरण गर्नुभएको थियो ।
सामाग्री हस्तान्तरण गर्दै ठकुरीले सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले सेवा घरका लागि अत्यावश्यक सामाग्रीहरु सहयोग गरिएको बताउनुभयो । मानव सेवा घरको बारेमा आफूले जानकारी पाएसँगै समन्वय सहकार्य गर्दै आएको बताउदै मानवताको सेवाका लागि बैंक परिवारसँगको समन्वयमा सामाग्री हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । सेवा घरमा दैनिक रुपमा आवश्यक भान्साका सामाग्रीहरु सेवा घरसँगकै समन्वयमा सहयोग गरिएको सिंहको भनाई थियो ।
नागरिक समाज दाङका पूर्व संयोजक चन्द्रराज पन्तले सडक मानव मुक्त बनाउने मानव कल्याण समाजको अभियानमा जोडिएकोमा सिद्धार्थ बैंकलाई धन्यवाद दिदै अभियानमा जोडिन सम्पूर्ण बैंक तथा वित्तिय संस्थाहरुलाई पनि अनुरोध गर्नुभयो ।
कार्यक्रममा बोल्दै मञ्जु सिंह ठकुरीले मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य भएकाले सडक मानवहरुको अभिभावक मानव सेवा घरलाई सहयोग गर्न आवश्यक रहेको बताउनुभयो ।
त्यस अवसरमा दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नारायण भुषाल, नारायणपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दानबहादुर बुढाथोकी, नेपाल पत्रकार महासंघ दाङका निवर्तमान सचिव आर.के.शीतल, व्यवसायी भरत रेग्मी लगायतको उपस्थिति रहेको थियो ।
त्यस अवसरमा उपस्थितहरुलाई मानव कल्याण समाजका प्रबन्धक रोशन ढकालले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सहजिकरण नारायणपुर शाखा प्रमुख सुस्मीता श्रेष्ठले गर्नुभएको थियो ।