Home / Feature Breaking news / नेपालले भारतलाई भन्यो- छिमेकीविरुद्ध हाम्रो भूमि प्रयोग हुन दिन्नौं

नेपालले भारतलाई भन्यो- छिमेकीविरुद्ध हाम्रो भूमि प्रयोग हुन दिन्नौं

भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच नेपालले ‘छिमेकीविरुद्ध कुनै पनि शक्तिलाई आफ्नो भूमि प्रयोग गर्न नदिने’ प्रतिबद्धता दोहोर्‍याएको छ ।

शुक्रबार बालुवाटार पुगेका काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि द्वन्द्वरत शक्तिलाई छिमेकीविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिइने बताए ।

‘नेपाल विश्व शान्तिको पक्षमा छ, सबै प्रकारका आतंकवादविरुद्ध दृढ अडान अनुरुप पहिल्यै आतंकवादी हमलाको भर्त्सना गरिएको छ’, ओलीले भनेका छन् ।

भारत–पाकिस्तान तनावबीच सार्वजनिक रुपमा फरक–फरक तथ्यहरू आइरहेका बेला जारी परिस्थितिबारे ब्रिफिङ गर्न राजदूत श्रीवास्तव बालुवाटार पुगेका थिए ।

त्यसक्रममा उनले पहलगाम हमलाको जवाफमा भारतले आतंकवादीविरुद्ध कारबाही गरेको प्रष्ट्याए । अन्य देशमा रहेका भारतीय मिसनले समेत यो बेला भा–पाक तनावबारे सम्बन्धित मुलुकलाई ब्रिफिङ गरिरहेका छन् ।

श्रीवास्तवले प्रधानमन्त्री ओलीसँग भेटका क्रममा आतंकवादविरुद्धको लडाइँमा नेपाल साथमा रहेको भन्दै विज्ञप्ति निकालेको प्रति धन्यवाद समेत दिए ।

‘यो कारबाही कुनै देशविरुद्ध लक्षित छैन, आतंकवादविरुद्ध मात्र लक्षित छ भन्ने कुरा प्रधानमन्त्रीज्यूसँग राखेको थिएँ’, शुक्रबार बेलुकी दूतावासमा सम्पादकहरुसँग छलफल गर्दै श्रीवास्तवले भनेका छन्, ‘त्यही अनुसार नेपालले राखेको अडानप्रति धन्यवाद समेत दिएको छु ।’

भारतले पाकिस्तानमा हवाई आक्रमण गरेको दुई दिनपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘आतंकवादविरुद्धको लडाइँमा नेपाल सबैसँग एकजुट रहेको’ बताएको थियो ।

‘पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति नेपाल सरकार गहिरो चिन्ता व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘भारत र पाकिस्तानबीच जारी तनाव चाँडै अन्त्य हुने अपेक्षा समेत गर्दछौं ।’

भारत प्रशासित जम्मु कश्मिरमा दुई साताअघि एक नेपाली र २६ भारतीय नागरिकको ज्यान जाने गरी आतंकवादी हमला भएको थियो ।

टीआरएफको पाकिस्तानमा आधारित इस्लामिक आतंकवादी समूह ‘लस्कर–ए–तोइबा’सँग प्रत्यक्ष सम्बन्ध रहेको भारतीय अधिकारीहरु बताउँछन् ।

काठमाडौंस्थित भारतीय राजदूत श्रीवास्तवले समेत प्रधानमन्त्री ओलीसँग नेपाली समेत मारिएको आतंकवादी हमलाको जवाफ दिइएको बताएका छन् । अर्थात्, नयाँ दिल्लीले पाकिस्तानमा भएको हवाई आक्रमणलाई आतंकवादविरुद्धको लडाइँको रुपमा सन्देश दिन खोजेको छ ।

भारतीय विदेशसचिव विक्रम मिस्रीले यसलाई थप बढाउने पक्षमा रहेको भन्दै शुक्रबार अपराह्न भनेका छन्, ‘हाम्रो जवाफ लक्षित, सटिक, संयमित र सन्तुलित रहेको छ, हाम्रो निशानामा सैन्य अखडा परेका छैनन् ।’

उनले ‘पाकिस्तानमा रहेका आतंकवादी पूर्वाधारमाथि निशाना साँधिएको’ भनेका छन् । यस्तोमा नेपालले राखेको धारणा उपयुक्त भएको भारतका लागि पूर्वराजदूत लोकराज बराल बताउँछन् । ‘आतंकवादविरुद्ध नेपालले बलियो गरी मत राखेको छ, सँगै शान्ति कायम हुनुपर्छ भन्ने सन्देश पनि दिएको छ’, बरालले अनलाइनखबरसँग भने ।

भारतको सुरक्षा चासो

पाकिस्तानमा हवाई आक्रमण गर्नुभन्दा ठ्याक्कै एकसाता अघि भारतीय विदेशमन्त्रीको विशेष दूतका रुपमा काठमाडौं आएका विजय चौथाइवालेले नेताहरुसँग म्याराथन भेट गर्दै दक्षिण छिमेका सुरक्षा चासोहरु राखेका थिए ।

सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख चौथाइवालेले एक नेपालीको अनाहकमा ज्यान गएको भन्दै भारतले गर्ने कुनै पनि जवाफी कारबाहीमा नेपालको स्पष्ट समर्थनको अपेक्षा व्यक्त गरेका थिए ।

काठमाडौंस्थित भारतीय दूतावासले संयोजन गरेको तीन दिने भ्रमणमा उनले सत्ता र प्रतिपक्षी दलका नेताहरुसमेत गरी १३ जनालाई भेटेका थिए । स्रोतका अनुसार, ती सबै भेटमा चौथाइवालेले आतंकवादविरुद्धको लडाइँमा नेपालले साथ दिनुपर्ने बताएका थिए ।

गृहमन्त्री रमेश लेखकलाई भेट्ने क्रममा भने उनले खुला सीमाको आतंकवादी समूहले दुरुपयोग गर्न सक्नेप्रति चिन्ता प्रकट गरेका थिए । उच्च सुरक्षा स्रोतका अनुसार, त्यसबेला उनले सीमा क्षेत्रबाट भारतविरुद्ध हुने गरेको आतंकवादी गतिविधिको प्रसंग उप्काएका थिए ।

भारतीय अधिकारीहरुले अन्तरवर्ल्ड डन दाउद इब्राहिम र पाकिस्तानको खुफिया एजेन्सी इन्टरसर्भिस इन्टलिजेन्स ९आईएसआई० ले भारतविरुद्ध गतिविधि गर्न नेपाललाई सेल्टर बनाएको आरोप लगाउँदै आएका छन् । आईएसआई र दाउदसँग जोडिएको आरोप लागेका कतिपय नेपाली नागरिक रहस्यमय रुपमा मारिएका उदाहरणहरु छन् ।

पहलगाम आक्रमणमा जोडिएको समूहको प्रत्यक्ष सम्बन्ध रहेको भनिएको ‘लस्कर–ए–तोइबा’सँग जोडिएका केही व्यक्तिहरु विगतमा नेपालमा पक्राउ समेत परेका छन् ।

‘भारतले विगतदेखि नै त्यहाँ हुने आतंकवादी गतिविधिमा संलग्नहरुले नेपालमा सैलटर लिएको आरोप लगाउँदै आएको छ, त्यसमा केही प्रतिशत सत्यता पनि छ’, राष्ट्रिय अनुसन्धान विभाग ९राअवि० का पूर्वप्रमुख देविराम शर्मा भन्छन्, ‘झण्डै १८ सय किलोमिटर खुला सीमा भएपछि काहीँ न काहीँबाट त्यस्तो आतंकवादीहरु प्रवेश गर्नसक्ने अवस्था रहन्छ, पाकिस्तानतर्फ भाग्न नसकेको अवस्थामा उनीहरु सुरक्षित बन्न नेपाल प्रवेश गर्न खोज्छन् ।’

यस्तोमा नेपालले आतंकवादविरुद्ध स्पष्ट अडान राख्दै आएको र त्यसअनुसार कारबाही समेत गरिरहेको उनी बताउँछन् ।

‘अनुहार वा भाषामा खासै फरक नहुने हुँदा पाकिस्तान वा बंगलादेशमा बस्ने व्यक्तिहरु भारतीय पहिचानमा प्रवेश गर्न सक्ने सम्भावना सधैँ रहन्छ’, शर्मा भन्छन्, ‘यस्तोमा उनीहरुले यसबारे चासो राख्नु स्वभाविक पनि हो, नेपालले पनि त्यस्तो अवस्थामा सीमा कडाइ गर्नेसहितका गतिविधि गरेर त्यसलाई निस्तेज पार्ने प्रयास गरिरहेको छ ।’

गृह मन्त्रालयले चौथावाल फर्किएपछि सुरक्षा संयन्त्रका प्रमुखहरुसँग आइपर्नसक्ने सम्भावित सुरक्षा चुनौतिहरुबारे छलफल समेत गरेको थियो । मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारी चाहिँ भारतमा एककिमिसको तनावको परिस्थिति सिर्जना हुँदा छिमेकी मुलुकले स्वभाविक रुपमा सतर्कता बढाउनुपर्ने र त्यही अनुसार गरिएको बताउँछन् । ‘मन्त्रीज्यूसँग के कुरा भयो भन्ने मलाई जानकारी हुने कुरा भएन, तर स्वभाविक रुपमा दुई पक्षीय हित र चासोको विषयमा कुरा हुने हो’, उनले थपे ।

सशस्त्र प्रहरी बलका एक अधिकारी भने सुरक्षा परिस्थितिको मूल्यांकन गरेर स्वभाविक रुपमा गस्ती बढाइएको बताउँछन् । उनले भने, ‘भारतमा तनाव भएलगत्तै चेकजाँच र सीमामा उपस्थिति बढाएका थियौं ।’

‘लस्कर–ए–तोइबाको नेपाल कनेक्सन’

दुवै देशका प्रतिआतंकवाद मामलाका जानकारहरु, नेपाललाई कतिपय समूहले ‘ट्रान्जिट टेरोरिज्म’को रुपमा प्रयोग गरेको दाबी सुनाउँछन् ।

कश्मिरमा भएको आतंकवादी हमलासँग जोडिएको लस्कर–ए–तोइबा, उसको सहयोग रहेको इण्डियन मुजाहिद्दिन लगायतका धार्मिक कट्टरपन्थी समूहका केही सदस्यहरुको उपस्थिति विगतमा नेपालमा देखिएको छ ।

सन् १९९३ को मुम्बई विष्फोटसहितका आतंकवादी गतिविधिमा संलग्न रहेको आरोप लागेका अब्दुल करिम टुण्डालाई भारतले नेपालबाट पक्राउ गरेर लगेको थियो ।

लस्कर ए तोइबाका लागि बम बनाउने टुण्डालाई समातेर लगेपछि भारतले उनलाई बनबासा–महेन्द्रनगर सीमाबाट पक्राउ गरिएको भन्दै सार्वजनिक गरेको थियो ।

पछि इण्डियन मुजाहिद्दिनका सह–संस्थापक यासिन भट्खाललाई पोखराबाट समातेर भारत लगेको थियो । उनी भारतका ओसामा विन लादेनका रुपमा चिनिन्थे ।

सन् २०१९ मा यसबारे ‘इण्डियाज् मस्ट वान्टेड’ नामको चलचित्र समेत बनेको थियो, जुन अपरेशनमा नेपाल प्रहरीको विशेष ब्यूरोले समेत सहयोग गरेको थियो । इण्डियन मुजाहिद्दिनका अर्का आतंककारी इरफान अहमद पनि लामो समय व्यवसायीको भेषमा नेपालगञ्जमा बसेको भेटिएको थियो ।

‘धार्मिक आतंकवादी समूहले गतिविधि गर्न खोजे पनि नेपालले त्यसविरुद्ध कडा सन्देश दिँदै आएको छ’, विशेष ब्यूरोमा लामो समय काम गरेका पूर्वएआईजी टेकप्रसाद राई भन्छन्, ‘यस्तो बेलामा नेपालले लिएको अडानले समेत त्यसलाई पुष्टि गर्छ ।’यिनै विषयहरुको पृष्ठभूमिमा भारतले पछिल्लो समय नेपालसँग सुरक्षा चासो राख्दै आएको जानकारहरु बताउँछन् ।

‘पहलगाम घटनामा व्यक्तिको ज्यान लिनुअघि धर्मबारे सोधिएका कारण त्यो धार्मिक आतंकवाद हो भन्न पछि हट्नु पर्ने अवस्था छैन’, प्रतिआतंकवाद मामलाका जानकार नारायण अधिकारी भन्छन्, ‘नेपालले स्पष्ट रुपमा आफ्नो धारणा राखेर यो भूमि कुनै आतंकी गतिवधिका लागि प्रयोग हुन दिने छैन भनेर दक्षिण एसियाको आतंकवादको चक्र अन्त्य गर्न सबै एकजुट हुनुपर्ने सन्देश दिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*