Home / Feature Breaking news / साफ महिला च्याम्पियनसिप फाइनल : घरमै उपाधि राख्ने नेपालको लक्ष्य

साफ महिला च्याम्पियनसिप फाइनल : घरमै उपाधि राख्ने नेपालको लक्ष्य

नेपाल र बंगलादेशले बुधबार सातौँ दक्षिण एसियाली महिला च्याम्पियनसिप (साफ)को उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् । नेपाली महिला फुटबल टोलीको समग्रमा यो १२औँ अन्तर्राष्ट्रिय फाइनल हो । सन् २०१० देखि २०२४ सम्म नेपालले ११ अन्तर्राष्ट्रिय फाइनल गुमाएको छ । नेपालले आफ्नो १२औँ अन्तर्राष्ट्रिय फाइनल जित्ने उद्देश्यका साथ दशरथ रंगशालामा उत्रने प्रशिक्षक राजेन्द्र तामाङ र कप्तान अञ्जिला तुम्बापो सुब्बाले बताएका छन् ।

‘घरेलु मैदान र दर्शकको साथमा यसपटक घरमै उपाधि राख्ने लक्ष्यका साथ प्रतिस्पर्धा गछौँ,’ मंगलबार प्रिपोस्ट म्याचमा प्रशिक्षक तामाङ र कप्तान सुब्बाले भने, ‘विगतको फाइनलमा भएका गल्ती यसपटक हुन दिन्नौँ ।’ नेपाल र बंगलादेश लगातार दोस्रोपटक उपाधि भिडन्तमा उभिएका हुन् । अघिल्लो संस्करणमा नेपाल रंगशालामै बंगलादेशसँगको उपाधि प्रतिस्पर्धामा ३–१ ले स्तब्ध भएको थियो । यसपटक अन्तिम दुई स्थान पक्का गर्ने क्रममा साबिक विजेतासमेत रहेको बंगलादेशले भुटानलाई र नेपालले सर्वाधिक पाँचपटकको विजेता भारतलाई टाइब्रेकरमा ४–२ ले पाखा लगाएको थियो ।

तथ्यांकमा नेपाल बलियो
नेपाल र बंगलादेशका महिला टोलीले अहिलेसम्म ११ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । नेपालले पाँच र बंगलादेशले एक मात्र जित निकालेको छ । बंगलादेशले हात पारेको एक मात्र जित सन् २०२२ को साफ महिला फाइनल नै थियो । यी राष्ट्रबिच पाँच खेल ‘ड्र’ भएका छन् । बंगलादेशले नेपालविरुद्ध सात गोल गर्दा नेपालले १६ गोल फर्काएको छ । नेपालले बंगलादेशलाई साफ महिला च्याम्पियनसिपमा तीन, महिला एसियन गेम्समा एक, साग गेममा एक र तीन अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा हराएको छ ।

पछिल्लो दुई वर्षमा बंगलादेशले महिला फुटबलमा व्यापक लगानी गरेको छ । यसैको नतिजा यसपटक बंगलादेश बलियो टोलीका रूपमा उभिएको छ । प्रशिक्षक तामाङले विपक्षीको सबै रणनीतिबारे आफू जानकार रहेको जनाए । ‘हामीलाई बंगलादेशले कसरी खेल्छ थाहा छ, यही अनुरूप रणनीति हुनेछ,’ उनले भने । कप्तान सुब्बाले दर्शकका कारण नै १० खेलाडीमा रहेको नेपालले भारतलाई हराएको बताइन् ।

बंगलादेश बलियो प्रतिद्वन्द्वी 
नेपालको तुलनामा बंगलादेशको महिला फुटबल संरचना निकै बलियो छ । दुई वर्षभित्र यसको नतिजा पनि आएको देखिन्छ । बंगलादेशले समूह ‘ए’मा भारतविरूद्ध ३–१ को सानदार जित निकालेको थियो । सेमिफाइनलमा भुटानविरुद्ध ७–१ को एकपक्षीय जित हात पार्‍यो । बंगलादेशको युवा र अनुभवी खेलाडीले नेपालमाथि दबाब बनाउन सक्छन् । । बंगलादेशको वर्तमान टोलीका खेलाडी उमेर समूहदेखि सँगै खेलिरहेका छन् । यसकारण उनीहरूको खेलाडीबिच तालमेल मिलेको देखिन्छ । कप्तान सबिना खानुत र तोहुरा खातुन उत्कृष्ट लयमा छन् । बंगलादेशले साफको तयारीस्वरूप अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल्दै नेपाल आएको हो । यसविपरीत नेपालले एकवटा पनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलेको छैन । घरेलु मैदानमा नेपालका लागि सावित्रा भण्डारीले बंगलादेशको बलियो डिफेन्स तोड्ने विश्वास छ ।

विगतका गल्ती दोहोर्‍याउने छैनौँ : राजेन्द्र तामाङ, प्रशिक्षक, नेपाल
नेपाल पाँचपटक फाइनल खेलेर पनि च्याम्पियन भएन । यसपटक फाइनल जित्ने संकल्प लिएका छौँ । अहिले खेलाडी आत्मविश्वासी देखिएका छन् । विगतमा गरेका गल्ती दोहोर्‍याउने छैनौँ । बंगलादेश साबिक विजेता हो । पछिल्लो समय बंगलादेशले राम्रो फुटबल खेलिरहेको छ । लयमा देखिएको बंगलादेशविरुद्धको खेल रोमाञ्चक हुने अपेक्षा छ । हामीलाई घरेलु समर्थकको साथ छ । उपाधि भिडन्तमा उनीहरूको कमजोरीको फाइदा लिने प्रयासमा हुन्छौँ ।

उपाधि घरमै राख्ने लक्ष्य  : अन्जिला तुम्बापो सुब्बा, कप्तान
गत संस्करणको फाइनलमा बंगलादेशसँग पराजित भयौँ । त्यो नमीठो हारको बदला लिने अवसर प्राप्त गरेका छौँ । यद्यपि, बदला लिनेभन्दा पनि च्याम्पियन बन्ने अवसरका रूपमा हेरेका छौँ । नेपाली टोलीको लय राम्रो छ । यदि आज पनि जित्न सकेनौँ भने अझै ५–१० वर्ष उपाधिका लागि हामीले प्रतीक्षा गर्नुपर्छ । त्यसैले जसरी पनि उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछौँ । हामीले पाँचपटक उपविजेतामा चित्त बुझायौँ । यो विगत भइसकेको छ । ती हारबाट धेरै कुरा सिकेका छौँ ।

एन्फा आफैँले टिकट बिक्री गर्ने
महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलको टिकट बिक्री अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफैँ बिक्री गर्ने भएको छ । नेपाल र बंगलादेशबिच दशरथ रंगशालामा बुधबार साँझ ६:३० बजे फाइनल सुरु हुनेछ । एन्फाले मंगलबार पत्रकार सम्मेलनमार्फत ३ ठाउँबाट बुधबार बिहान ८:०० बजे टिकट बिक्री गरिने जानकारी गराएको थियो । जावलाखेल खेलमैदान, सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र भद्रकालीको स्थिति आर्मी हेडक्वार्टरको गेटबाहिर बिक्री गरिने एन्फा उपाध्यक्ष एवं प्रतियोगिता संयोजक दीपक खतिवडाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*