Home / Feature Breaking news / काभ्रेखोला गाउँमा खानेपानीको समस्या

काभ्रेखोला गाउँमा खानेपानीको समस्या

दाङ,२९ मंसिर । घोराही उपमहानगरपालिका १८ काभ्रेखोला सहर नजिकिँकैको गाउँ हो। दूरीको हिसाबले जिल्लाकै मुख्य केन्द्र नजिकै रहे पनि भौगोलिक बनोटका आधारमा दुर्गम छ। बजारको छेउकै गाउँ भएपनि त्यहाँका स्थानीयले स्वच्छ खानेपानी पिउन पाएका छैनन्।

घोराही उपमहानगरपालिकाभित्र पूर्ण सरसफाईको कार्यक्रम चलिरहँदा सहरकै छेउको गाउँका स्थानीयले स्वच्छ पानी खान पाएका छैनन्। जसका कारण काभ्रेखोलावासी जंगलको पानी खान वाध्य छन्। त्यो पानी खानका लागि गाउँहरू मिलेर पाइप किनेका छन् । त्यही पाइपलाई करिब एक किलोमिटर माथिबाट पाइपका माध्यमबाट गाउँसम्म ल्याएर पिउने गरेका छन्।

जंगलमा बग्ने पानीलाई पाइपका माध्यमबाट घरसम्म ल्याएर खाने गरेको काभ्रेखोलाकी कमला नेपालीले बताइन्। त्यही पानीलाई भान्सादेखि घरमा पालेका गाईबाख्रालाई समेत खुवाउने गरेको उनी बताउँछिन्।

‘हामीलाई सधैँ पानीकै समस्या हो, आजभोलि त पाइपका माध्यमबाट घरसम्म आउँछ’– उनले भनिन्, ‘गर्मी बढेपछि त्यही पनि सुक्छ, त्यसपछि त खोलामा जरुवा खनेर खानुपर्ने हुन्छ।’ उनका अनुसार अरु बेला सफा भए पनि वर्षाको समयमा धमिलो आउँदा समस्या हुने गरेको छ।

‘पानी छान्ने केही छैन, जंगलको पानी पाइपका माध्मबाट गाउँसम्म ल्याएका छौँ’, उनले भनिन्, ‘पानी पर्दा त जंगलमा पातपतिङ्गर बगाएर ल्याउँछ, त्यस्तो समयमा खानेपानीको निकै समस्या हुन्छ।’ त्यस्तै कहिलेकाहीँ जंगलमा चर्न जाने गाईवस्तुले मुहानमा कुल्चदासमेत समस्या गर्ने गरेको उनी बताउँछिन्।

खानेपानीको समस्या समाधानका लागि पटक(पटक स्थानीय सरकारसँग आग्रह गरे पनि सरकारले वास्ता नरहेको अर्का स्थानीय खड्कराज थापा बताउँछन्। ‘गाउँमा पानीको लागि राम्रो व्यवस्था छैन, जसले गर्दा खानेपानीको समस्या छ’, उनले भने, ‘खानेपानीको राम्रो व्यवस्था नहुँदा कहिले जंगलमा सिम जागेको पानी खाने गरेका छौँ त कहिले खोलामा जरुवा खनेर खाने गर्छौ।’

जंगलमा सिम जाग्ने पानी पनि सधैँभरि खान नपाउने उनी बताउँछन्। गर्मी सुरु भएसँगै गाउँमा खानेपानीको धेरै समस्या हुने गरेको छ। गाउँमा खानेपानीको भरपर्दो स्रोत नहुँदा वर्षेनी समस्या भोग्नु परेको उनी बताउँछन्।

‘आजभोलि जंगलमा पानी सुकेको छैन, घरसम्मै पानी आएको छ’, थापाले भने, ‘यो फागुनतिर सुक्छ, त्यसपछि त खोलामा जरुवा खन्नुपर्ने वाध्यता छ।’ खानेपानीको भरपर्दो माध्यम नहुँदा पूरै गाउँवासीले खानेपानीबाट वञ्चित हुनु परेको छ।

पानी नहुँदा उनीहरूलाई पिउनसँगै शौचालय प्रयोगमा समेत समस्या हुने गरेको छ। स्थानीयको समस्याप्रति सरकारले व्यवस्था गरेको स्थानीय बताउँछन्। काभ्रेखोलामा ३० देखि ३५ घरपरिवारले खानेपानीको समस्या भोग्नुपर्ने वाध्यता छ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङले भने जिल्लामा खानेपानी समस्या समाधानका लागि कार्यालयले काम गरिरहेको बताएको छ। आगामी तीन वर्षभित्र प्रदेशका सबै नागरिकको घरमा खानेपानीको धारा पुर्‍याउने लक्ष्यअनुसार दाङमा पनि काम भइरहेको भन्दै खानेपानी समस्याका बारेमा स्थानीयले जानकारी गराए कार्यालयले खानेपानीको समस्या समाधानका लागि पहल गर्ने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका प्रमुख गुणनिधी पोख्रेलले बताए।

अहिलेसम्म त्यसक्षेत्रबाट खानेपानीको समस्या सम्बन्धि कुनै जानकारी नआएको भन्दै प्रमुख पोख्रेलले स्थानीयबासी जानकारी गराउन आए समस्या समाधानका लागि पहल गर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*