प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका दर्जनभन्दा बढी कार्यकर्तालाई गिरफ्तार गरेको छ । राजनीतिक प्रतिशोध, अन्याय, बेथिति र भ्रष्टाचारविरुद्ध आज बालुवाटारमा सुरु भएको विरोध प्रदर्शनमा बालुवाटारनजिक नेपाल हाउसको अगाडिबाट प्रदर्शनकारीलाई गिरफ्तार गरेको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
शान्तिपूर्ण रूपमा उभिएर छलफल गर्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौं जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य एवं शुभचिन्तकहरू खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्कासहित १७ जना गिरफ्तार गरेको उनको भनाइ छ ।
शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई बिथोल्ने गरी प्रहरी प्रशासनले गरेको यो दमन र गिरफ्तारीविरुद्ध घोर भर्त्सना गर्दै रास्वपाले शान्तिपूर्ण विरोधका कार्यक्रम गर्न पाउने संवैधानिक हक हनन, लोकतान्त्रिक मूल्य–मान्यताको चरम उल्लंघन भएको जनाएको छ । यसका विरुद्ध डटेर शान्तिपूर्ण प्रदर्शनमा ऐक्यबद्धता गर्न रास्वापाले सबैलाई आग्रहसमेत गरेको छ ।
RaptiSandesh RaptiSandesh