झुटा विवरण पेस गरेर नागरिकता बनाउने कार्यमा संलग्न रहेको अभियोगमा ४ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा धादिङ नेत्रावती गाउँपालिका १ घर भइ हाल काठमाडौँ महानगरपालिका १० मनमैजु बस्ने ३१ वर्षीय मदन बहादुर तामाङ, धादिङ खनियाबास गाउँपालिका ५ घर भइ हाल काठमाडौँ सोह्रखुट्टे बस्ने ५६ वर्षीय रामेश्वर रिजाल, चीनको तिब्बतस्थित हिन्दे घर भइ हाल काठमाडौँ महानगरपालिका ६ महांकाल बस्ने ५३ वर्षीय छिरिङ ढुन्डुप र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका ४ घर भइ हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका ८ बस्ने ४६ वर्षीय छिरिङ् वाङ्दीन शेर्पा रहेका छन्।
उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको जनाएको छ।
जुवा सम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा पक्राउ परेका तिब्बती नागरिक सोनाम तामाङ भन्ने सोनामको साथबाट बरामद भएको जिल्ला प्रशासन कार्यालय धादिङ, ना प्र न २६–०१–८१–०३२१७ को नेपाली नागरिकता सम्बन्धमा अनुसन्धान गर्दै जाँदा उक्त नागरिकता छिरिङ ढुन्डुपले नगद ४ लाख रूपैयाँमा बनाएको खुलेको थियो।
त्यसपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले छिरिङ ढुन्डुपसहित ४ जनालाई पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको छ।
RaptiSandesh RaptiSandesh