Home / Feature Breaking news / फागुन १३ देखि देशभर राष्ट्रिय दादुरा–रुबेला खोप अभियान सुरु हुने

फागुन १३ देखि देशभर राष्ट्रिय दादुरा–रुबेला खोप अभियान सुरु हुने

सरकारले फागुन १३ गतेदेखि देशभर राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०८० सञ्चालन गर्ने भएको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्र तथा परिवार कल्याण महाशाखाले यसबारेमा जानकारी दिएको हो।

खोप अभियान फागुन १३ गतेदेखि चैत्र ७ गतेसम्म सञ्चलन हुनेछ। पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितले दादुरा, रुबेला क्याम्पियन अभियानको रुपमा खोप कार्यक्रम फागुन १३ देखि चैत्र ७ गतेसम्म अधिराज्यभर सञ्चालन गर्न लागेको बताए।

उनकाअनुसार रुकुमपश्चिम र जाजरकोटमा भने खोप अभियान सकिसकेको छ। उनले भने, ‘दादुरा, रुबेला क्याम्पियन अभियानको रुपमा खोप कार्यक्रम हामी फागुन १३ देखि चैत्र ७ गतेसम्म अधिराज्यभर सञ्चालन गर्दैछौं। दुई जिल्लाहरु रुकुमपश्चिम र जाँजरकोटमा सकिसकेको छ। २०२६ मा यो रोग निवारण गर्ने भनेर लागेको छौं। विगतमा पनि हामीले दादुरको खोप अभियान सफल हुँदाहुँदै पनि र खोपको अवस्था राम्रो हुँदाहुँदै पनि शतप्रतिशत मानिसलाई खोप दिने अवस्था हुँदैन थियो। केही निश्चित छुटेका समहूहरु जम्मा हुँदै जाँदा ठूलो समूह बन्यो। कोरोनाका कारण पनि यसमा समस्या आयो।’

पत्रकार सम्मेलनमा बोल्दै बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जाजरकोटमा ९९ प्रतिशतमा दादुरा खोप पुर्‍याएको भएको बताए। उनले जाजरकोटमा दादुरा–रुबेला खोप लगाउने बालबालिकाहरुको संख्या ८८ हजार ३४४ रहेको बताए।

उनले रुकुमपश्चिममा १०७ प्रतिशतमा दादुरा खोप पुर्‍याएको जानकारी दिए। उनले रुकुमपश्चिममा भ्याक्सिन लगाउनेको संख्या ५० हजार ४ सय ८७ रहेको बताए। उनले भने, ‘जाजरकोटमा ९९ प्रतिशत कभरेज गरेका छौं। बच्चाहरुको लगाउने संस्ख्या ८८ हजार ३४४ लाई छ। रुकुमपश्चिममा १०७ प्रतिशत कभरेज छ। त्यसमा हामीले भ्याक्सिन लगाएको ५० हजार ४ सय ८७ रहेको छ। जम्मा एक लाख १८ हजार ८३१ लाई खोप लगाएका छौं।’

दादुरा–रुबेला खोप अभियानमा लक्षित समूह ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरु र ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरु रहेका छन्। यस अभियान तराईका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई लगाइनेछ। बाँकी जिल्लाहरुमा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुलाई लगाइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*