सानोठिमीस्थित बाल सुधार गृहमा कैद भुक्तान गरिरहेका एक सयभन्दा बढी कैदी भागेका छन् ।
सुधार गृहको पछाडिको ढोका तोडेर उनीहरु भागेको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए ।
उनका अनुसार, सशस्त्र र जनपथ प्रहरीलाई समेत आक्रमण गरेर उनीहरु भागेका हुन् । सुधार गृहमा विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका २९९ जना थिए । तीमध्ये २५६ जना पुरुष थिए ।
‘महिलाहरु भागेका छैनन्, केटाहरु भागेका छन् । कति भागे भन्ने यकिन भइसकेको छैन’, रिजालले भने, ‘गणना भइरहेको छ ।’
बलात्कारको आरोपमा मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहको थुनामा रहेका एक युवकको आइतबार सुधार गृहमा मृत्यु भएपछि तनाव भएको थियो ।
रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको मृत्यु रहस्यमय भएको भन्दै आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी र तोडफोड गरेका थिए । त्यही विषयमा सोमबार पनि तनाव जारी रहँदा सुधार गृहमा रहेका कैदी फरार भएका हुन् ।
मृत्युबारे छानबिन गर्न समिति
प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार, बस्नेतको मृत्युबारे छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।
समितिमा जिल्ला प्रहरी परिसर, भक्तपुरका डीएसपी वसन्त पाठक, जिल्ला प्रशासन कार्यालयका अधिकृत अशोककुमार पोखरेल सदस्य सचिव र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अधिकृत प्रतिनिधि सदस्य रहने रिजालले बताए ।
प्रजिअ रिजालले भने, ‘समितिलाई सात दिनभित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी तोकेका छौं, मृतकका परिवारसँग पनि छलफल भयो, मृतक पक्षसँग सत्यतथ्य अनुसन्धान गर्ने र उनीहरुको जाहेरी प्रहरीले दर्ता गर्ने सहमति भएको छ ।’
तर, सोमबार यो समाचार तयार पार्दासम्म परिवारले प्रहरीमा जाहेरीमा दिएको छैन ।
अनलाईखबरबाट