Home / Feature Breaking news / १२ जिल्लामा आकस्मिक बाढीको जोखिम, केही नदीमा जलसतह बढ्न सक्ने
फाईल तस्वीर

१२ जिल्लामा आकस्मिक बाढीको जोखिम, केही नदीमा जलसतह बढ्न सक्ने

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। आज (बुधबार) बिहानसम्म देशभर  सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै  र बांकी प्रदेशका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

अहिले मधेस प्रदेशको सप्तरी जिल्लामा भारी वर्षा भइरहेको विभागले जनाएको छ। कोशी नदीको जलाधार क्षेत्र रहेको सप्तरीको बरमझियामा पछिल्लो २४ घण्टामा १०४.६ मिलिमिटर वर्षा भएको छ। यस्तै, चुरिया नदीको जलाधार क्षेत्र सप्तरीको राजविराज विमानस्थल क्षेत्रमा पछिल्लो २४ घण्टामा १७६.८ मिलिमिटर वर्षा भएको छ।

बुधबार बिहानको मापनअनुसार कोशी, कन्काई, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम सेती, कमला, बागमती, पूर्वी राप्ती र यसका सहायक नदीहरुको बहाब सतर्कता तहभन्दा तलै र सामान्य अवस्थामा रहेको विभागले जनाएको छ।

विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बुधबार केही जिल्लामा भएर बहने नदीहरुमा आकस्मिक बाढी आउनसक्ने जनाएको छ।

इलाम, झापा, पाँचथर, सिराहा, सप्तरी, दोलखा, सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला र आसपास भएर बहने केही स-साना नदीहरुमा बहाव उल्लेख्य बढ्ने तथा केहीमा आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ।

रसुवा, काभ्रेपलाञ्चोक, ललितपुर, नुवाकोट, गोरखा, लमजुङ, कास्की, पाल्पा, स्याङजा, डोटी र आसपास भइ बहने केही स-साना नदीहरुमा बहाव बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*