Home / Feature Breaking news / नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ। यसअघि सार्वजनिक प्रारम्भिक विवरणमा दुई करोड ९१ लाख ९२ हजार ४८० थियो। केन्द्रीय तथ्यांक विभागले शुक्रबार अन्तिम नतिजा सार्वजनिक गर्दै प्रारम्भिकभन्दा केही कम रहेको जनाएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोल्टी होटलमा आयोजित एक कार्यक्रममा राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् । नेपालको १२औं चरणको जनगणना २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म गरिएको थियो। २०७८ मंसिर ९ गते मध्याह्न १२ बजेसम्म उक्त जनसंख्या नेपालमा रहेको बताइएको छ।

गएको १० वर्षमा २७ लाखले नेपालीको जनसंख्या बढेको बताइएको छ। पुरुषभन्दा महिला ६ लाख ५० हजार बढी रहेको बताइएको छ। जनसंख्या बृद्धिदर विकसित मुलुककै दाँजोमा रहेको बताइएको छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार  पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ । जसअनुसार लैङ्गिक अनुपात अर्थात् प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ ।

पहिलोपटक अन्य लिंगीको समेत गणना भएको छ। कुल जनसंख्यामध्ये अन्य लिङ्गी (लैङ्गिक तथा यौनिक अल्पसंख्यक) को जनसंख्या २ हजार ९२८ देखिएको छ जुन कुल जनसंख्याको ०.०१ प्रतिशत हो ।

जनसंख्या वृद्धिदर ० दशमलव ९२ प्रतिशत प्रतिवर्ष  रहेको बताइएको छ। सबैभन्दा धेरै २० प्रतिशतभन्दा कम क्षेत्र ओगट्ने तराईमा ५४ प्रतिशत जनसंख्या रहेको बताइएको छ। यसैगरी पहाडमा ४० र र हिमालमा ६ प्रतिशतको बसोबास रहेको छ। हिमाल र पहाडमा जनसंख्या घटेको पाइएको छ भने तराईमा बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*