Home / मनोरञ्जन / जिग्री–पाँडेविरुद्ध प्रहरीमा मिडिया हबको उजुरी

जिग्री–पाँडेविरुद्ध प्रहरीमा मिडिया हबको उजुरी

काठमाडौं, ३ असोज ।

नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध मिडिया हबले प्रहरीमा कपिराइटको उजुरी गरेको छ । यस विषयमा छलफल गर्न प्रहरीले अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीको समूहलाई बोलाएको छ ।

महानगरीय प्रहरी परिसर टेकुबाट आफूलाई फोन आएको घिमिरेले बताए । उनले भने, ‘उहाँहरुले आफ्ना क्यारेक्टरहरु नक्कल गरेको भनेर कपिराइटको उजुरी हाल्नु भएको रहेछ । त्यसैले हामीलाई बोलाइएको छ ।’

मिडिया हबका प्रमुख सोमप्रसाद धितालले आफ्नो टेलिश्रृंखला ‘भद्रगोल’ का चरित्रहरु अर्को टेलिश्रृंखलामा प्रयोग गर्दा आफूहरुलाई अप्ठेरो परेकोले उजुरी गरेको बताए ।

उनले भने, ‘जिग्री, पाँडे, बले कक्रोच, सितेबा जस्ता दर्जनौं, क्यारेक्टरहरु मिडिया हबका उत्पादन हुन्, तिनीहरुलाई स्थापित गराउन हामीले लगानी गरेका छौं । त्यसैले ती क्यारेक्टरमा हाम्रो हक लाग्छ ।’

उनले उजुरीमा कुनै क्षतिपूर्तिको मागदावी भने नगरेको बताए ।

‘हाम्रा क्यारेक्टरहरु प्रयोग गर्न रोकियोस भन्ने मात्र हाम्रो माग हो । आर्थिक क्षतिपूर्तिको अहिले कुरा गरेका छैनौं,’ धितालले भने ।

यसअघि भद्रगोलमा काम गरिरहेको जिग्री(पाँडेको समूहले ‘सक्किगोनी’ निर्माण गर्न थालेको हो । यसको कथानक पृष्ठभूमि र पात्रहरु भद्रगोलबाटै सारिएका छन् । उता मिडिया हबले पनि नेपाल टेलिभिजनबाट भद्रगोलको प्रशारण जारी राखेको छ । नयाँ टिमले बनाइरहेको भद्रगोलमा पुराना पात्रहरु छैनन् ।

पुरानो टिमले छोडेपछि भद्रगोलको लोकप्रियता ह्वात्तै घटेको छ भने सक्किगोनीले भने चाँडै लोकप्रियता कायम गरेको छ । सक्किगोनिका निर्देशक समेत रहेका अर्जुन घिमिरे पाँडेले भद्रगोलका सबै क्यारेक्टर मिडियाहबले नभएर आफूहरुले जन्माएको बताए ।

‘ती सबै क्यारेक्टर हाम्रा सिर्जना हुन्, त्यसमा मिडिया हबले दावी गर्नै मिल्दैन,’ उनले भने, ‘हामीले मिडिया हबसित गरेको सम्झौतामा पनि यो कुरा प्रष्ट उल्लेख छ ।’

त्यसो त मिडिया हबले बनाएका टेलिश्रृंखलामा स्थापित भएका थुप्रै कलाकारहरुले अहिले त्यहाँबाट निस्केर पनि त्यही क्यारेक्टरलाई निरन्तरता दिइरहेका छन् । मिडिया हबको मेरीबास्सैबाट स्थापित भएका सितारामक कट्टेलले धुर्मुसको रुपमा, केदार घिमिरेले माग्ने बुढाको रुपमा, विल्सनविक्रम राईले तक्मे बुढाका रुपमा अहिले पनि रंगमञ्चमा प्रस्तुति दिँदै आएका छन् । उनीहरुमाथि भने मिडिया हबले आपत्ति जनाएको छैन ।

यस विषयमा प्रश्न गर्दा धिताल भन्छन्, ‘कोमाथि उजुरी गर्ने कोमाथि नगर्ने भन्ने हाम्रो विषय हो । धुर्मुस, माग्नेबुढाहरुले गरेको क्यारेक्टरले हामीलाई गरेका छैन । त्यसैले उजुरी गरेनौं । सक्किगोनीका क्यारेक्टरले भने हाम्रो भद्रगोललाई असर गरेको छ ।’

उजुरीमा मिडिया हबले ‘जेपिटी क्रियसन’ लाई प्रमुख विपक्षी बनाएको छ भने नेपाल टेलिभिजन र कि एड्भरटाइजिङलाई पनि मुछेको छ ।

अनलाईनखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*