Home / Feature Breaking news / हराए तालचरी, सुनिएनन् मालाश्री

हराए तालचरी, सुनिएनन् मालाश्री

खेमराज रिजाल÷बालाराम खड्का
दाङ, ६ असोज । सोह्रश्राद्धका तिथि सकिएसँगै दुर्गा लाग्दा आकाशमा क¥याङकुरुङको गुञ्जनसहित माथि आकाशमा तालचरीको बथान आउँथ्यो । साना बालबालिकाहरुले हातका औलाका नङ फुलेको नियाल्दै माथितिर ताल्चरीको बथान कराएको आवाज सुनेपछि दशैं आएको आभास हुन्थ्यो । तर यसपालीको दुर्गामा ताल्चरीको क¥याङ–कुरुङ पटक्कै सुनिएको छैन ।

घटस्थापनाको आसपासमा हिमाली क्षेत्रबाट ताल्चरीहरुको बथान जाडो छल्न तराई झर्थे । जाडो छल्न तराई झर्नुअघि उनीहरुले हिमालमा फूल पारेर आउने गर्ने अनि जाडो सकिएपछि ती ताल्चरीहरु तराईबाट फेरि बच्चा कोरल्न हिमालमै फर्कन्थे । ‘तराई झर्दा क¥याङ–कुरुङको आवाज आउँथ्यो, तर फर्कदा ती चराहरु आवाज ननिकालेरै हिमाल फर्कन्थे, बयोबृद्ध गोविन्दबहादुर केके भन्छन्– ‘सायद चिन्ताले होला, हिमाल फर्कने बेला उनीहरुले आवाज निकल्दैनथे ।

उडानबाट लामो दूरी पार गर्ने ती ताल्चरीहरुको समूह रातको समयमा बास बस्दा कैयौं त सिकारीको फन्दामा पर्थै, केही चराहरु रोगव्याधिले पनि मर्थे । जति हुल हिमालबाट तराई झर्थे, त्यति नै संख्यामा हिमाल फर्कने हुँदैनथे’, केके स्मरण गर्छन् । शिकारीका कारण ती चराहरुको संख्या घटे पनि हिमाल फर्कन सफल भएका चराहरुले भने आफूले पारेका अण्डा कोरल्थे र फेरि उनीहरुको संख्या सन्तुलन हुन्थ्यो ।

कति मिठो आवाज हुन्थ्यो, ती चराहरुको सामूहिक क¥याङ–कुरुङको आवाज । बालबालिकाहरुदेखि बृद्धबृद्धासम्मले ताल्चरीको जमातलाई नियाल्दै दशैं नजिकिएको अनुभूति गर्थे । तर अहिले ती चराहरु धेरै लोप भइसकेका छन् । चरा विज्ञ किशोर प्रधान भन्छन्– ‘वातावरणमा भएको तापमानको बृद्धिसँगै जलवायु परिवर्तनको असरका कारण पनि ती ताल्चरीहरु बर्षेनी लोपोन्मुख हुँदै आएका छन्, यसको एउटै उपाय भनेको जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्दै वातावरणीय सन्तुलन कायम गर्नु हो ।

ताल्चरी मात्र नभएर धेरै प्रजातिका चराहरु अहिले लोपोन्मुख हुँदै गएकोमा पनि चराविज्ञ किशोर प्रधानले चिन्ता व्यक्त गरे । ताल्चरीहरुको प्रजनन् क्रिया पनि तराईमा हुन्थ्यो, हिमाल फर्केपछि अण्डा दिन्थे । मध्य पश्चिममा प्यूठान, बाग्लुङ, रुकुम, रोल्पालगायतका उच्च पहाडी श्रृंखला एवं हिमाली श्रृंखलाबाट यी चराहरुको बसाई–सराई बर्षेनी भैरहन्थ्यो । तर अचेल ताल्चरी देखिन छाडेका छन् ।

मालाश्री सुनिएनन्

दशै आएको संकेत दिन पहिले–पहिले गन्धर्ब समुदायका गाइनेहरु हातमा सारंगी लिएर मालाश्रीको धुन बजाउँदा गाउँघरमा दशैं भित्रिन्थ्यो । मालाश्रीको धुनसँगै सबै गाउँलेहरु घरलिपपोतका लागि रातोमाटो र कमेरोको जोहो गर्न जाने तथा महिलाहरु टपरी खुट्ने पात टिप्न जंगल पस्थे । कोल र मिलमा तेल पेलेको सुगन्ध आइरहन्थ्यो । जसले दशैं नजिकिएको संकेत गथ्यो ।

तर पछिल्लो समयमा यो सम्प्रदायमा पनि मालाश्रीको धुन निकाल्ने सीपको पुस्ता हस्तान्तरण हुन सकेको छैन । मालाश्रीको धुन दुर्गा भगवतीलाई सबैभन्दा प्रिय लाग्ने धुनका रुपमा धर्मशास्त्रमा बर्णन गरिएको छ । दुर्गापुजाको पहिलो दिन घटस्थापनाकै दिनदेखि दुर्गा मन्दिरहरुमा मालाश्रीका धुनहरु सुनिन्थे । तर पछिल्लो समयमा रेकर्डेड धुन मात्र सुन्न सकिन्छ । सारंगीमा मालाश्रीको धुन निकाल्ने क्षमता राख्ने गन्धर्ब युवाहरुको अत्यन्तै कमी भएका कारण पनि यो धुन प्रायः लोप हुँदै गएको बुढापाकाहरु बताउँछन् ।

कुनै समयमा दशैँमा घर–घरमा सारंगी बाजासहित दुर्गा जगाउन आउने गन्धर्व समुदाय हाल भने देखिन छाडेका छन् । तर तुलसीपुर–४ का शालिकराम गन्धर्ब भने आफ्नो पुरानो संस्कृतिलाई संरक्षण गर्दै विगतदेखि नै घर–घरमा दुर्गा जगाउँदै आएका छन् । मालश्रीको धुनसँगै दशैँमा बिहानै घरमा दुर्गा जगाउँदै गाउँदा दशैँ आएको संकेत गर्ने गरे पनि अचेल भने यस क्षेत्रमा मालश्रीका धुन सुनिन छाडेका छन् ।

कुनैबेला घर–घरमा गन्धर्ब समुदायका व्यक्ति दुर्गामा मालाश्रीको धुनसँगै गाउन आए पनि अचेल एक दुई स्थानमा मात्र सो धुन बज्ने गरेको छ । ‘कुनै बेला बिहानै दुर्गा जगाउन घर–घरमा आउने र मालाश्री धुन सुन पाइथ्यो, हाल भने सो धुन लोप हुने अवस्थामा छ’, बयोवृद्ध धनबहादुर वलीले भने । तुलसीपुरका आभाष खड्काले भने एकजना गन्धर्ब दाइ भए पनि आफ्नो घरमा आउँदा पुरानै संस्कृतिको जगेर्ना भएको भन्दै खुशी व्यक्त गरे ।

हाल एक÷दुईबाहेक अन्य गन्धर्बले सो पेशा छाडेका छन् । युवा पुस्ताले चासो नदिँदा तथा राज्यले आफूहरुको पेशा संरक्षणका लागि चासो नदिँदा मालाश्री तथा अन्य समयमा सारंगी बाजा बज्न छोडेको शालिकराम गन्धर्बको भनाइ छ । ‘पुरानो परम्परालाई जोगाउनपर्छ भनेर हामी लागेका छौं, अरु सबैले संस्कृति भुलेका छन्’, उनले भने । उनले यस बर्ष भने कोभिड–१९ को संक्रमणका कारण दुई÷चार घरमा मात्र आफू पुग्ने गरेको बताए । उनले अन्य दुई÷चार जना केही पुराना व्यक्तिहरु पनि दुर्गा जगाउन जाने गरेको बताए ।

कहीँकतै एक÷दुई जना गन्धर्बले पुख्र्यौली पेशा अंगाले पनि नयाँ पुस्ताले निरन्तरता दिन नसकेकोले पेशा संकटमा परेको बताइएको छ । कसैले आग्रह गरेमा केही घरमा आफू दुर्गा गाउन जाने गरेको र एक्लैले नभ्याउने उनको भनाइ छ । ‘दुई÷चार जना पुराना व्यक्तिले संस्कृति जगेर्ना गर्ने प्रयास गरेका छौं, घटस्थापना शुरु भएदेखि विभिन्न घरमा दुर्गा जगाउँदै आएका छौं’, अर्का एक व्यक्तिले भने ।

गन्धर्ब समुदायका केही पुराना व्यक्तिहरुले मात्र सारंगी वादन जानेका छन् । आफूहरुलाई राज्यले सहयोग नगर्दा सारंगी बाजा लोप हुने अवस्थामा पुगेको उनीहरु बताउँछन् । स्थानीय निकाय तथा सम्बन्धित संस्थाले आफूहरुको पेशा संरक्षण गर्नुपर्ने गन्धर्ब समुदायले माग गर्दै आएका छन् । विभिन्न स्थानमा भएका राम्रा÷नराम्रा खबरहरु गीत–संगीतमार्फत सुनाउँदै हिँड्नेहरु पनि हाल गाउँघर र बजारमा फाटफुटरुपमा मात्र भेटिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*