Home / Feature Breaking news / नक्कली भुटानी शरणार्थी प्रकरण: अदालतबाट धरौटीमा रिहा भएका टंक र लक्ष्मी अख्तियारबाट साधारण तारेखमा छुटे

नक्कली भुटानी शरणार्थी प्रकरण: अदालतबाट धरौटीमा रिहा भएका टंक र लक्ष्मी अख्तियारबाट साधारण तारेखमा छुटे

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा संलग्न भएको आशंकामा पक्राउ परेका २ जना अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट साधारण तारेखमा रिहा भएका छन्।

अख्तियारले टंक गुरुङ र नेपाल प्रहरीकी नायव निरीक्षक (सई) लक्ष्मी महर्जनलाई साधारण तारेखमा रिहा गरेको हो। अख्तियार स्रोतले नेपाल लाइभसँग भन्यो, ‘उहाँहरु माथिको आरोपमा  प्रमाण बलियो नदेखिएपछि हामीले साधारण तारेखमा रिहा गरेका हौं।’

यो ठगी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा चलेको थियो भने १८ जना पक्राउ परेका थिए। पक्राउ परेका १८ जनामध्ये २ जना टंक र लक्ष्मीलाई जिल्ला अदालत काठमाडौंका न्याययाधीश प्रेमराज न्यौपानेको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

लक्ष्मी ५ लाख र टंक १० लाख धरौटी तिरेर रिहा भएका थिए। त्यसपछि उनीहरु दुबै जनालाई प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा पठाएको थियो।

ठगी, संगठित ठगी, राज्यविरुद्धको कसुर, लिखतसम्बन्धी कीर्ते र एकीकृतको कसुरसँगै सम्पत्ति सुद्धीकरण र अख्तियारले समेत अनुसन्धान गरेर कारबाही गर्नुपर्ने भनेर जिल्ला सरकारी वकिल कार्यालयले लिखित रुपमै उल्लेख गरेपछि प्रहरीले सम्पत्ति शुद्धीकरण विभाग पठाएको थियो।

सम्पत्ति शुद्धीकरण विभागले यी दुबैको बयान सकेर लक्ष्मीसँग ५० हजार र टंकसँग १ लाख ५० रुपैयाँ धरौटीमा माग गरेको थियो। उनीहरुले धेरौटी रकम बुझाएपछि थप अनुसन्धान तथा कारबाहीका लागि भन्दै अख्तियार पठाइएको थियो। अख्तियारले भने उनीहरुलाई साधारण तारेखमा छाडेको हो।

यो ठगी प्रकरणमा २८ करोड रूपैयाँभन्दा बढी बिगो कायम गर्दै मुद्दा चलाइएको थियो। जसमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, सांसद तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डेसहित १६ जना अभियुक्तहरु अहिले केन्द्रीय कारागार सुन्धारामा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*