नारायणपुर, १३ वैशाख ।
नारायणपुर उद्योग वाणिज्य संघ नारायणपुरको आयोजनामा हुन गइरहेको ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव –२०८०’ को तयारी पूरा भएको छ ।
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा वैशाख १४ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी पूरा भएको मूल आयोजक समिति तथा संघका अध्यक्ष अभियान बस्नेतले बताएका हुन् ।
‘कृषि व्यवसाय एवम् पर्यटनमा प्रोत्साहन, दिगो अर्थतन्त्रका लागि योगदान’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको छ । महोत्सवले जिल्लाको नारायणपुर बजारमा हाट बजार सञ्चालनको उद्देश्य राखेको अध्यक्ष बस्नेतले बताए ।
भोलि बिहीबार बिहान ११ बजे बाट प्रारम्भ हुने महोत्सवमा विभिन्न संस्कृति झल्काउने सांस्कृतिक झाँकी, टोल समिति, विद्यालय तथा विभिन्न संघ संस्थाका ¥यालीसहित महोत्सवको उद्घाटन गरिने मूल आयोजक समितिले बताएको छ । महोत्सवमा केन्द्रीय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजक समितिले बताएको छ ।
महोत्सव अवधिभरमा विद्यालय स्तरीय कविता प्रतियोगिता, एकल लोक नृत्य प्रतियोगिता तथा विभिन्न सांस्कृतिक कार्यक्रम पनि सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।
मन्त्री शर्माले समुद्घाटन गर्ने
नारायणपुरमा सञ्चालन हुन थालेको ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव –२०८०’ को समुद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गर्ने भएकी छिन् । महोत्सव उद्घाटन लगायत विविध कार्यक्रमका लागि मन्त्री शर्मा आज बुधबार नै दाङ आउने कार्यक्रम रहेको छ ।
मन्त्री शर्मा वैशाख १४, १५ र १६ गते दाङका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।