Home / Feature Breaking news / एसइईमा पाँच लाख १६ हजार सहभागी हुँदै, जापानबाट १४ विद्यार्थी परीक्षा दिँदै

एसइईमा पाँच लाख १६ हजार सहभागी हुँदै, जापानबाट १४ विद्यार्थी परीक्षा दिँदै

शुक्रबारदेखि सुरु हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा पाँच लाख १६ हजार पाँच सय ९१ परीक्षार्थी सहभागी हुँदै छन् । तीमध्ये १४ जना जापानबाट एसइईमा सहभागी हुन लागेका हुन् ।

एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार पाँच लाख १६ हजार पाँच सय ९१ परीक्षार्थीका लागि देशभरका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र कायम गरिएको छ । जापानी विद्यार्थीका लागि जापानमै केन्द्र राखिएको छ ।

यस वर्ष छात्राभन्दा छात्रको संख्या बढी पाइएको छ । श्रेष्ठका अनुसार दुई लाख ६० हजार ६ सय ७४ छात्र र दुई लाख ५५ हजार नौ सय १७ छात्रा सहभागी हुँदै छन् ।
परीक्षाको सम्पूर्ण तयारी पूरा भएको नियन्त्रक श्रेष्ठले बताए । उनले भने, ‘उत्तरपुस्तिका हरेक परीक्षा केन्द्रमा पुगेको छ, प्रश्नपत्र केन्द्रको नजिक रहेको सुरक्षा केन्द्रमा पुगेको छ ।’

पनिकाका अनुसार सबैभन्दा धेरै विद्यार्थी तथा परीक्षा केन्द्र बागमती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा छन् । बागमती प्रदेशमा चार सय ३४ परीक्षा केन्द्र र एक लाख ६ हजार नौ सय ५९ विद्यार्थी रहेका छन् ।

सबैभन्दा कम रहेको कर्णालीमा एक सय ७९ परीक्षा केन्द्र र परीक्षार्थी ४१ हजार तीन सय २९ रहेको बोर्डले जनाएको छ । त्यसैगरी, कोसी प्रदेशमा तीन सय ७८, मधेसमा दुई सय ७९, गण्डकीमा दुई सय २३, लुम्बिनीमा तीन सय ३४ र सुदूरपश्चिम प्रदेशमा दुई सय नौ परीक्षा केन्द्र तय गरिएको छ ।

अघिल्लो वर्षको एसइईमा देशभरबाट पाँच लाख १८ हजार एक सय ८५ विद्यार्थीले आवेदन भरेकामा चार लाख ९५ हजार ६ सय ४८ जना परीक्षामा सहभागी भएका थिए ।

जापानबाट सहभागी हुने विद्यार्थी को हुन् ? 
राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयका अनुसार जापानमा श्रम गर्न गएकाका छोराछोरीले जापानबाट एसइई दिन लागेका हुन् । जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम सञ्चालन गरेको शैक्षिक संस्थाबाट परीक्षामा सहभागी हुन लागेका हुन् । बोर्डले उत्तरपुस्तिका जापान पठाइसकेको छ भने प्रश्नपत्र परीक्षाको दिन इमेलमार्फत पठाउने जनाएको छ । जापानका १४ विद्यार्थीका लागि टोक्योमा एउटा परीक्षा केन्द्र कायम गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*