Home / Feature Breaking news / प्रहरीकै अनुसन्धानमा रहेका रवि गृहमन्त्री, रोकिएला अनुसन्धान ?

प्रहरीकै अनुसन्धानमा रहेका रवि गृहमन्त्री, रोकिएला अनुसन्धान ?

अमेरिकी नागरिकता नत्याग्दै झुटा कागजात पेश गरेर नेपाली राहदानी बनाएको आरोपमा प्रहरी अनुसन्धानको दायरामा रहेका रवि लामिछाने प्रहरीकै तालुकदार मन्त्रालयका कमाण्डर बनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने उपप्रधान मन्त्रीसहित गृहमन्त्रीमा नियुक्त भएका छन् ।

प्रहरीले लामिछानेको नागरिकता र राहदानीबारे अनुसन्धान अगाडि बढाएको छ । तर अब उनीविरुद्धको अनुसन्धान रोकिनसक्ने प्रहरीकै उच्च अधिकारीहरु बताउँछन् ।

लामिछानेविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पनि विचाराधीन अवस्थामा छ । उनको शपथ रोक्न माग गर्दै सर्वोच्चमा रिट परेको थियो ।

चितवन क्षेत्र नम्बर–२ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीको अनुसन्धान जारी छ ।

प्रहरी परिसर काठमाडौंले लामिछानेविरुद्धको नागरिकता विवादको उजुरीबारे अनुसन्धान गरिरहेको थियो ।

उनको नागरिकता विवादको उजुरीबारे अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई पत्र पठाएसँगै अनुसन्धान अगाडि बढाइएको थियो ।

प्रहरीले लामिछानेविरुद्ध सरकारी कागज दुरुपयोग सम्बन्धमा छानबिन अगाडि बढाएको हो ।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीका अनुसार लामिछानेको नागरिकताको विषय र राहदानीमा प्रयोग गरेका कागजात तथा विवरण शंकास्पद देखिएको छ ।

प्रहरीले यसबारे अमेरिकी दूतावास र अरू निकायलाई पत्र लेखेको छ । पत्रको जवाफ नआएको बताइएको छ । लामिछानेको नागरिकता छानबिनको माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको थियो ।

उनी प्रतिनिधिसभा सदस्यको उमेदवार बन्दा पेस गरेको नागरिकता नै अवैध रहेको भन्दै निर्वाचन आयोगमा समेत उजुरी परेको थियो ।

आयोगले नागरिकताको विषय आफ्नो कार्यक्षेत्र नभएको जनाएको थियो ।

लामिछानेमाथि सन् २०१८ मा अमेरिकी नागरिकता त्याग्ने प्रक्रिया अगाडि बढाए पनि अमेरिकी पासपोर्ट आफैँसँग राखेर सन् २०१५ मा नै नेपाली पासपोर्ट लिएको आरोप लाग्दै आएको छ ।

उनले खारेज भएको नागरिकता नै प्रयोग गरिरहेको बताइएको छ ।  प्रहरीले भने अनुसन्धान पूर्ण नभएसम्म यसबारे नबोल्ने बताउँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*