Home / Feature Breaking news / दाङ २ मा गठबन्धनका उम्मेदवारको जित सुनिश्चित छः महरा

दाङ २ मा गठबन्धनका उम्मेदवारको जित सुनिश्चित छः महरा

घोराही, १९ कार्तिक ।

निवर्तमान सभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले दाङ निर्वाचन क्षेत्र नं २ मा गठबन्धनका साझा उम्मेदवारहरुको जित सुनिश्चित भएको बताउनुभएको छ ।

महराले प्रतिनिधिसभा र प्रदेश सभामा गठबन्धनका उम्मेदवारहरूको विजय निश्चित भएको बताउनुभएको हो । गत स्थानीय तहको निर्वाचनमा यो निर्वाचन क्षेत्रका २७ वटा वडाको मत विश्लेषण गर्ने हो भने गठबन्धन निकै अगाडि छ,’ उहाँले भन्नुभयो– ‘स्थानीय तहको निर्वाचनको बेला भन्दा अहिले गठबन्धनको एकता थप मजबुत भएको छ ।’ उहाँले प्रतिनिधी सभामा रेखा शर्मा, प्रदेश सभामा राजु खनाल र प्रचण्डविक्रम न्यौपानेको जित सुनिश्चीत भएको बताउनुभयो ।

एमाले दाङका पुराना तथा इमान्दार नेता कार्यकर्ताहरूमा तीव्र असन्तुष्टि भएको उल्लेख गर्दै महराले त्यो मत गठबन्धनका उम्मेदवारलाई आउने दावी गर्नुभयो । ‘एमालेका साथीहरूले पनि मत हाल्ने देखिएको छ’ उहाँले भन्नुभयो– ‘प्रतिगमन बिरूद्धको गठबन्धनलाई आम जनसमुदायको साथ रहने छ ।’

आफू प्रतिनिधिसभाको प्रत्यक्ष तथा समानुपातिकको कुनै पनि उम्मेदवार नभएको उल्लेख गर्दै महराले नयाँ तथा युवा पुस्तालाई अवसर दिन आफूले त्याग गरेको बताउनुभयो । ‘मैले लामो समय संसदीय र राजकीय भुमिका रहेर काम गरेको छु’ उहाँले भन्नुभयो– ‘अब अरू साथीहरूलाई अवसर दिनुपर्छ भनेर निर्वाचनमा नउठेको हुँ ।’
मुलुकको समृद्धि र प्रतिगमनका बिरूद्घ गठबन्धन भएको धारणा व्यक्त गर्दै महराले आम मतदाताले गठबन्धनलाई साथ दिने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*