Home / Feature Breaking news / निर्वाचन आचार संहिताको खिल्ली उडाउँदै लुम्बिनी प्रदेशसभा !

निर्वाचन आचार संहिताको खिल्ली उडाउँदै लुम्बिनी प्रदेशसभा !

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको खिल्ली उडाउँदै लुम्बिनी प्रदेश सभाले शुभकामना आदानप्रदान र सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ।

प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर ४ गतेको लागि घोषणा भइसकेकाले निर्वाचन आयोगले असोज १ गते रातीदेखि नै प्रदेश र प्रतिनिधि सभाको कार्यकाल समाप्त भइसकेको जनाएको छ। तर लुम्बिनी प्रदेश सभाले भने प्रदेश सभाको कार्यकाल समाप्त भएको १५ दिनपछि निर्वाचन आचार संहिताविपरीत बडादसैंको अवसरमा भन्दै सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने तयारी गरेको  हो।

प्रदेशसभा सचिवालयले आगामी असोज १४ गते प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा निर्माणाधीन प्रदेशसभा भवनमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको र उपस्थितिको लागि भन्दै निवर्तमान प्रदेशसभा सदस्यहरूलाई पत्र पठाएको छ।

प्रदेशसभा सचिवालयबाट पत्र पठाइएको भए पनि नेकपा एमालेका प्रदेशका निवर्तमान सांसदहरूले भने प्रदेश सभाको कार्यकाल समाप्त भइसकेपछि र निर्वाचन आचार संहिता लागु भइसकेपछि आयोजना गरिएको उक्त कार्यक्रममा आफूहरू उपस्थित नहुने बताएका छन्।

लुम्बिनी प्रदेश सभामा नेकपा एमालेका निवर्तमान प्रमुख सचेतक रहेका भूमिश्वर ढकालले प्रदेश सभाको कार्यकाल समाप्त भइसकेको अवस्थामा प्रदेश सभाको नाममा कार्यक्रम गरिनु निर्वाचन आचार संहिताविपरीत हुने बताए।

उनले प्रदेश सरकारले सत्ताको आडमा निर्वाचनलाई प्रभावित पार्ने गरी आचार संहिताविपरीत कार्यक्रम आयोजना गरेकोले आफूहरू कसैको पनि सहभागिता नहुने बताए।

‘निर्वाचन आयोगले नै प्रदेश सभाको कार्यकाल समाप्त भएको भन्दै निर्वाचन आचार संहिता समेत जारी गरेपछि प्रदेश सभाका पदाधिकारीको हैसियतले उपलब्ध गराएका सुविधाका गाडी समेत हामीले फिर्ता गरिसकेका छौं, अहिले हामी प्रदेशसभा सदस्यको हैसियतमा छैनौं, प्रदेशसभा सदस्य नै नभएको अवस्थामा त्यस्तो कार्यक्रममा सहभागी हुने कुरा हुँदैन, एमालेका कुनै पनि सदस्यको उक्त कार्यक्रममा उपस्थिति रहँदैन,’ उनले भने।

नेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक फकरुद्धिन खानले पनि प्रदेश सभाको कार्यकाल समाप्त भयो भएन भन्ने विषय नै विरोधाभासपूर्ण रहेको र निर्वाचन आयोगले आचार संहिता जारी गरिसकेको अवस्थामा कार्यक्रम आयोजना गरिनु उपयुक्त नभएको बताए।

उनले आफू नेपाली कांग्रेसको तर्फबाट प्रमुख सचेतक रहेको हैसियतले पनि प्रदेशसभा सचिवालयले यस्ता विरोधाभासपूर्ण कार्यक्रम आयोजना गर्दा छलफल गर्नुपर्नेमा छलफल नगरी कार्यक्रम आयोजना गरेको बताए।

‘कार्यक्रमको बारेमा हामीहरूसँग कुनै पनि छलफल भएको होइन, प्रदेश सभाको कार्यकालकै विषयमा अन्योल भएको अवस्थामा प्रदेशसभा सदस्यको हैसियतले कार्यक्रममा उपस्थित हुने वा नहुने भन्ने विषयमा हामी छलफलमा छौं,’ खानले भने।

निर्वाचन कार्यालय रूपन्देहीका प्रमुख अयोध्यायप्रसाद भण्डारीले मंगलबार रातीदेखि नै निर्वाचन आचार संहिता लागू भइसकेको अवस्थामा निर्वाचनलाई प्रभावित पार्ने गरी कुनै पनि कार्यक्रम गर्न नपाइने बताए।

उनले निर्वाचन आचार संहिताविपरीत आयोजना हुने कुनै पनि कार्यक्रमको बारेमा आयोगमा उजुरी आए आयोगले त्यस्ता कार्यक्रमलाई रोक्ने बताए।

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले भने प्रदेश सभाको आन्तरिक कार्यक्रम भएकाले आचार संहिता लागू नहुने दाबी गरे।

उनले कार्यक्रमको बारेमा निर्वाचन आयोगलाई समेत जानकारी गराइने भन्दै यो विषय कानुनी नभई राजनीतिक विषय भएको बताए।

‘निर्वाचन आयोगले त कुनै पनि कार्यक्रम नगर भन्छ, प्रदेश सरकारले जेठमै कार्यक्रम तय गरी बजेट समेत छुट्टयाएको कार्यक्रमका लागि आचार संहिता लाग्दैन, अहिले आचार संहिताको विषयलाई अगाडि ल्याइए पनि यो राजनीतिक विषय हो, सरकारले स्थायी राजधानीमा कार्यक्रम गरेर राजधानी सार्न लाग्यो भनेर आचार संहिताको विषय उठाइएको हो,’ पुनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*