Home / Feature Breaking news / दाङमा एक वर्षमा उद्योगमा ३ अर्ब बढी लगानी

दाङमा एक वर्षमा उद्योगमा ३ अर्ब बढी लगानी

घोराही,१२ साउन । दाङमा एक वर्षको अवधिमा घरेलु तथा साना उद्योगहरुमा साढे ३ अर्ब लगानी थपिएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लामा ३ अर्ब ५२ करोड ९३ लाख लगानी थपिएको हो ।

लगानीसँगै उद्यमीको संख्या पनि थप भएको छ । एक वर्षको अवधिमा १ हजार ८ सय ७१ जना उद्यमी थपिएका छन् । थपिएका उद्यमीहरुमा १ हजार १ सय ८९ जना महिला र ६ सय ९९ पुरुष उद्यमी छन् । आर्थिक वर्ष २०७७÷०७८ मा महिला १ हजार १ सय ९२ जना र पुरुष १ हजार २ सय २६ गरी २ हजार ४ सय १८ जना थपिएका थिए । आर्थिक वर्ष २०७८÷०७९ मा ६ हजार ४२ जनाले रोजगार प्राप्त गरेका घरेलु तथा साना उद्योग कार्यालयका निमित्त कार्यालय प्रमुख उमबहादुर वलीले जानकारी दिएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बितेको आर्थिक वर्ष २०७८÷०७९ मा ४ सय ९५ उद्योग कम दर्ता भएका छन् । उद्योगतर्फ अघिल्लो वर्ष २ हजार १ सय ८४ वटा नयाँ दर्ता भएका थिए । आर्थिक वर्ष २०७८÷०७९ मा १ हजार ८ सय ३१ वटा मात्रै नयाँ उद्योग दर्ता भएको कार्यालय प्रमुख वलीले बताए । उनका अनुसार दर्ता हुनेमा सवैभन्दा धेरै कृषिसम्बन्धी उद्योग दर्ता भएका छन् ।

प्रमुख वलीका अनुसार कृषि तथा वनजन्य उद्योग १ हजार २ सय ६०, सेवामूलक उद्योग २ सय ३६, उत्पादनमूलक उद्योग १ सय ७३, पर्यटन उद्योग १ सय ६१ र खनिजजन्य १ वटा उद्योग दर्ता भएका छन् ।

दर्ता भएका सबै प्रकारका उद्योगले १ अर्ब ८० करोड ६३ लाख बराबरको स्थीर पुँजी रहेको छ भने १ अर्ब ७२ करोड ९३ लाख ११ हजार बराबरको चालु पुँजी रहेको छ । कार्यालयमा नवीकरण गर्नेको संख्या पनि घटेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा उद्योगतर्फ १ हजार १५ र वाणिज्यतर्फ २ हजार १ सय २६ व्यवसाय नवीकरण भएकोमा चालु वर्ष २०७८÷०७९ मा उद्योगतर्फ ७ सय ३८ वटा र वाणिज्यतर्फ ७ सय ६० वटा व्यवसाय नवीकरण भएको कार्यालय दाङका निमित्त प्रमुख वलीले जानकारी दिएका छन् ।

हालसम्म जिल्लामा १० हजार ९ सय ४६ वटा उद्योग र १२ हजार चार सय ३६ वटा फर्म दर्ता भएका छन् । कतिपय अनुदान लिनका लागि मात्र दर्ता हुने गरेका कारण सवै सञ्चालनमा आउन नसकेको निमित्त प्रमुख वलीले बताए ।

नयाँ उद्योग दर्ताको संख्या घटेसँगै आर्थिक वर्ष २०७८÷०७९ मा राजश्व पनि घटेको छ । अघिल्लो वर्ष उद्योगतर्फ ६१ लाख ५७ हजार राजस्व प्राप्त भएकोमा २०७९ असार मसान्तसम्म ५८ लाख ७९ हजार मात्र राजश्व प्राप्त भएको कार्यालयले जानकारी दिएको छ । वाणिज्यतर्फ अघिल्लो वर्ष १ करोड ४६ लाख ६ हजार राजस्व प्राप्त भएको थियो भने २०७९ असार मसान्तसम्म १ करोड १५ लाख ३७ हजार रूपैयाँ राजश्व प्राप्त भएको प्रमुख वलीले बताएका छन् ।

उनका अनुसार परीक्षा शुल्कमा ६ लाख ४६ हजार ७ सय, व्यवसाय रजिष्ट्रेशन दस्तुरमा १ करोड ६१ लाख ३९ हजार ६ सय ९५, प्रशासनिक जरिवाना र जफतमा ६ लाख ३० हजार ४ सय ५०, सरकारी सम्पत्तिको विक्रीबाट प्राप्त ८९ हजार १ सय ६० र बेरुजु शीर्षकमा १४ हजार १ सय ४६ रूपैयाँ गरी कूल १ करोड ७५ लाख २० हजार १ सय ५१ रूपैयाँ राजश्व संकलन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*