Home / समाचार / जिपको ठक्करबाट घाइते दुई छात्राको मृत्यु

जिपको ठक्करबाट घाइते दुई छात्राको मृत्यु

सल्यान — बाग्चौरबाट खलंगा आउँदै गरेको लु २ च ५७०१ नम्बरको जीपले ठक्कर दिँदा गम्भीर घाइते भएका शिव जन मावि सितलपार्टीमा अध्ययनरत पाँच छात्रामध्ये दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २० वर्षीया रेखा बुढाथोकी र १८ वर्षीया सुनिता नेपाली रहेका छन् ।शिव जन माविमा पढने छात्रालाई ठक्कर दिएपछि अनियन्त्रित भएर दुर्घटनामा परेको जीप ।

शुक्रबार बिहान १० बजेतिर जिपको ठक्करबाट शिव जन माविमा अध्ययनरत पाँच जना छात्रा शारदा नगरपालिका–६ का १८ वर्षीया मीना परियार, २० वर्षीया रेखा बुढाथोकी, १५ वर्षीया सुशिला नेपाली, १८ वर्षीया दीपा बुढाथोकी, १८ वर्षीया सुनिता नेपाली गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका रेखा र सुनिताको राप्ती उपक्षेत्रीय अस्पताल दाङमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रनि अर्जुन पौडेलेले बताए । गम्भीर घाइते भएका मीना परियार, दीपा बुढाथोकी र सुशिला नेपालीलाई भने उपचारको लागि नेपालगन्ज, बुटवल लगिएको उनले जानकारी गराए ।

उनका अनुसार शारदा नगरपालिका–६ बरला घर भई शुक्रबार बिहान १० बजे विद्यालय आउँदै गर्दा राप्ती राजमार्ग अन्तर्गत शारदा नगरपालिका २ बाङ्गेसल्ला भन्ने ठाँउमा सल्लाको छहारीमा सितलमा उभिएका छात्रालाई जिपले ठक्कर दिएको थियो ।

तीव्र गतिका कारण अनियन्त्रित भएको जिप शिव जन माविका छात्रालाई ठक्कर दिएपछि दुर्घटनामा परेको र सडकदेखि १० मिटर तल खसेको प्रहरी निरीक्षक पौडेलले जानकारी गराए । जिप चालक २५ वर्षीया टंकप्रसाद ओलीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*