Home / Feature Breaking news / दाङका दश पालिकाले ल्याए बजेट

दाङका दश पालिकाले ल्याए बजेट

दाङ, १० असार । जिल्लाका पालिकाहरूले शुक्रवार नयाँ आर्थिक वर्षको लागि बजेट ल्याएका छन् । असार १० मा पालिकाहरूले बजेट ल्याउनु पर्ने व्यवस्था अनरूप जिल्लाका दश पालिकाहरूले आर्थिक वर्ष २०७९÷८० को लागि बजेट ल्याएका हुन् ।

जिल्लामा दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका छन् । जिल्लाका अधिकांश पालिकाहरूले बजेटको पूर्वसन्ध्यामा वार्षिक नीति तथा कार्यक्रम ल्याएका थिए भने केही पालिकाले नीति कार्यक्रम र बजेटसँगै समेत ल्याएका छन् । विशेष गरेर पालिकाहरूले स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारमा बजेट केन्द्रित गरेका छन् ।

घोराहीको बजेट २ अर्ब ३२ करोड ९० लाख

घोराही उपमहानगरपालिकाले नयाँ आर्थिक वर्ष २०७९÷०८० का लागि २ अर्ब ३२ करोड ९० लाख ९१ हजारको वजेट ल्याएको छ । घोराही उपमहानगरपालिकाको दोस्रो नगरसभाको पहिलो अधिवेशनमा नगर उपप्रमुख हुमाकुमारी डिसीले बजेट प्रस्तुत गरेकी हुन् ।

घोराही उपमहानगरपालिकाले चालु २०७८÷०७९ का लागि २ अर्ब २० करोड २८ लाख ७८ हजार विनियोजन गरेको थियो । नयाँ बजेट चालु आवको भन्दा झण्डै १२ करोड बढी भएको उपमहानगरपालिकाले जनाएको छ । विनियोजित बजेट चालुतर्फ १ अर्ब २५ करोड ४१ लाख १ हजार छ । जुन ५३ दशमलव ८५ प्रतिशत हो । पुँजीगततर्फ १ अर्ब ७ करोड ४९ करोड १० हजार छ । जुन बजेटको ४६ दशमलव १५ प्रतिशत हो ।

विनियोजित गरिएको बजेटमध्ये संघीय सरकारबाट प्राप्त हुने सर्शत अनुदान ७४ करोड २ लाखमध्ये १० करोड ३० लाख अर्थात् १३ दशमलव ९२ प्रतिशत पुँजीगत खर्च र ६३ करोड ७२ लाख अर्थात ८६ दशमलव शून्य शून्य ८ चालुतर्फ छ । प्रदेश सरकारबाट प्राप्त हुने सर्शत अनुदान ५ करोड ४० लाख अर्थात शतप्रतिशत पँुजीगत खर्च रहेको छ ।

संघ तथा प्रदेश सरकारवाट प्राप्त वित्तीय समानीकरण अनुदान राजस्व बाँडफाँड र रोयल्टी तथा उपमहानगरपालिकाको आन्तरिक आय १ अर्ब ५३ करोड ४८ लाख ९१ हजारमध्ये ६१ करोड ६९ लाख १ हजार अर्थात ४० दशमलव २० प्रतिशत र ९१ करोड ७९ लाख १० हजार अर्थात ५९ दशमलव ८ शून्य प्रतिशत पुँजीगत खर्च छ ।

विनियोजन गरेको बजेटमध्ये आन्तरिक स्रोतबाट ३२ करोड, संघीय वितीय समानीकरण अनुदानबाट ३५ करोड ९५ लाख संघीय राजस्व बाँडफाँडवाट २५ करोड ७६ लाख ५८ हजार, संघीय रोयल्टी बाँडफाँडबाट ७ लाख, संघीय सर्शत अनुदानबाट ७१ करोड २ लाख, संघीय समपुरक अनुदानबाट १ करोड र संघीय विशेष अुनदानबाट २ करोड व्यहोरिने भएको छ ।

प्रदेश समानीकरण अनुदानबाट १ करोड ६७ लाख २५ हजार, प्रदेश राजस्व बाँडफाँड ४ करोड ४४ लाख ५७ हजार, प्रदेश सशर्त अनुदानबाट १ करोड ६० लाख, प्रदेश समपुरक अनुदानबाट ३ करोड र प्रदेश विशेष अनुदानबाट ८० लाख व्यहोरिने भएको छ । अपुग हुने रकम ५३ करोड ५ लाख ५१ हजार गत आर्थिक वर्षको बैंक बाँकीबाट व्यहोरिने उपप्रमुख डिसीले बताइन् ।

तुलसीपुरको १ अर्ब ८६ करोड ४७ लाख

तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷८० को बजेट ल्याएको छ । उपमहानगरपालिपकाका उपप्रमुख स्यानी चौधरीले नयाँ आर्थिक वर्षको लागि १ अर्ब ८६ करोड ४७ लाख, ७९ हजारको बजेट ल्याएकी छिन् । बजेटमा स्वास्थ्यतर्फ विपन्न परिवारलाई तुलसीपुर उपमहानगरपालिका भित्रको हस्पिटल तथा स्वास्थ्य संस्थाबाट निःशुल्क उपचार गर्न आवश्यक व्यवस्था गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरी सञ्चालनमा ल्याएको १५ शय््याको तुलसीपुर भीमसेन मेट्रो अस्पताललाई स्तरोन्नति गरी गुणस्तरीय, सर्वशुलभ र उपचारात्मक तथा निदानात्मक सेवालगायत विशिष्ट सेवाहरू सञ्चालन गर्न र पालिकालाई निःशल्क शल्यक्रियाका माध्यमबाट एक वर्षभित्र मोतियाविन्दुमुक्त समाजको रूपमा रूपान्तरण गर्न आवश्यक रकम विनियोजन गरिएको छ । त्यस्तै किशोरकिशोरीमैत्री स्वास्थ्य सेवालाई प्रभावकारीरूपमा सञ्चालन गर्न किशोरकिशोरी सूचना तथा मनोसंकट सहयोग केन्द्र स्थापना गरिने छ ।

शिक्षामा विद्यार्थीहरूको पहुँच सुनिश्चित गर्नका लागि यसै आर्थिक वर्षदेखि आधारभूत तहअन्तर्गत् कक्षा १ देखि ८ सम्म पूर्ण रूपमा निःशुल्क बनाउन र शिशुकक्षा सहयोगीहरूको क्षमता, दक्षता र कार्यको आधारमा शिशु कक्षा सहयोगी कार्यकर्ता, विद्यालय सहायक कर्मचारी र कार्यालय सहयोगीलाई थप सेवा सुविधाका लागि आवश्यक रकम विनियोजन गरिएको छ । विद्यालयहरूलाई आवश्यक विज्ञान, कम्प्यूटर प्रयोगशाला, पुस्तकालय, कक्षाकोठालगायत अन्य भौतिक संरचनामा थप जोड दिँदै त्यस्ता संरचनाहरूलाई बालमैत्री तथा अपाङ्गमैत्री बनाउनका लागि आवश्यक बजेट व्यवस्था गरिनेछ ।

कम्तिमा एक शैक्षिक संस्था एक सामुदायिक उद्यम कार्यक्रमका लागि ५ लाख विनियोजन गरिएको छ । लैङ्गिक हिंसामा परेका महिलाहरूको उपचार तथा पुनःस्थापनाका लागि उपमेयर महिला सुरक्षा आवास कार्यक्रमलाई लागि बजेट विनियोजन गरिएको छ ।

भूउपयोग नीति निर्माण गर्दै जग्गाको वर्गीकरण गरी कृषि उत्पादनको पकेट क्षेत्र निर्धारणलाई निरन्तरता दिन मौरी, बाख्रा र नयाँ तरकारी बालीको पकेटका लागि २५ लाख बजेट विनियोजन गरिएको छ भने व्यावसायिक कागती खेतीको लागि १० लाख बजेट विनियोजन गरिएको छ । धानबाली प्रबद्र्धन कार्यक्रमका लागि २५ लाख बजेट विनियोजन भएको छ ।

मावि दोघरेको भवन निर्माण गर्न थप १ करोड ३० लाख बजेट विनियोजन भएको छ । सहरी विकास कार्यक्रमका लागि उरहरी चोकदेखि दामोदर मार्ग छुने सडक तथा नाला निर्माणको लागि ४९ लाख बजेट विनियोजन भएको छ ।

सुरक्षित नागरिक आवास कार्यक्रमबाट १ हजार १ सय ५ घरधुरीलाइ खरको छानो विस्थापन गर्न २ करोड ३३ लाख, मेटो कलेजको भवन निर्माण गर्न समपुरक बजेटवाट १ करोड ६० लाख र वडा कार्यालय भवन निर्माण गर्न वडा नं. ४, १३ र १९ को लागि १ करोड ६० लाख बजेट विनियोजन गरिएको छ ।

सूचना तथा सञ्चारमा रेडियो तथा टेलिभिजन कार्यक्रम निर्माण, तुलसीपुर मासिक बुलेटिन प्रकाशन, हेलो मेयर टोल फ्री हटलाइन सञ्चालन, सञ्चारकर्मीको स्वास्थ्य बिमा, लोककल्याणकारी विज्ञापन वितरणका लागि आवश्यक रकम विनियोजन गरिएको छ ।

लमहीको वजेट १ अर्ब ३९ करोड ८१ लाख

लमही नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि १ अर्ब ३९ करोड १ लाख १ हजार बजेट विनियोजन गरेको छ । लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले आगामी आर्थिक वर्षको लागि उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

चालु आर्थिक वर्षको तुलनामा लमही नगरपालिकामा आउँदो आर्थिक वर्षमा २७ करोड बढी बजेट विनियोजन गरेको छ । अघिल्लो आर्थिक वर्षमा लमही नगरपालिकाले १ अर्ब १२ करोड ५० लाख रूपैयाँ विनियोजन गरेको थियो ।

नगरपालिकाले संघीय सरकारको समानीकरणमार्फत् १५ करोड ९० लाख, संघीय सरकारमार्फत् राजस्व बाँडफाडबाट १३ करोड ५१ लाख, संघीय सरकार समपुरक अनुदान २ करोड, विशेष अनुदान ३ करोड, सशर्त अनुदान ३८ करोड ५ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

यसैगरी प्रदेश सरकार समानीकरणमार्फत् ९ लाख २३ हजार, प्रदेश सरकार सवारी साधन राजस्व बाँडफाँड २ करोड ८६ लाख ७७ हजार, सशर्त अनुदान १३ करोड, समपुरक अनुदान १९ करोड ९ लाख र प्रदेश सरकार विशेष अनुदमान १९ करोड ९ लाखको रहेको छ भने आन्तरिक स्रोततर्फ ३३ करोड ८० लाख बैंक मौज्दात, आन्तरिक स्रोत २५ करोड ७ लाख २५ हजार ९ सय ६८ र प्रदेश सरकार रोयल्टीमार्फत ४४ हजार ३२ रूपैयाँबाट व्याहेरिने भएको छ ।

बबई गाउँपालिको बजेट ५० करोड ६५ लाख

बबई गाउँपालिकले आउँदो आर्थिक वर्षका लागि ५० करोड ६५ लाख ४३ हजार विनियोजन गरेको छ । गाउँपालिकाका उपाध्यक्ष बमकुमारी खड्काले आउँदो आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेकी हुन् । ७ करोड ८६ लाख ५० हजार चालु खर्च, २० करोड ४२ लाख ९३ हजार पँुजीगत खर्च छुट्याइएको छ । यस्तै सशर्त अनुदानतर्फ १९ करोड २६ लाख, विशेष अनुदानतर्फ १ करोड ६० लाख, समपुरक अनुदानतर्फ १ करोड ५० लाख बजेट व्यवस्था गरिएको छ ।

बंगलाचुलीको बजेट ६३ करोड ५५ लाख

बंगलाचुली गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०७९÷०८० को लागि ६३ करोड ५५ लाख २० हजारको बजेट ल्याएको छ । गाउँपालिकाको दोस्रो सभामा पालिका उपाध्यक्ष भक्तबहादुर जिसीले सो बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

प्रस्तावित बजेटमा पुँजीगतमा २८ करोड ६१ लाख ७९ हजार अर्थात् ४६ प्रतिशत छ । यसैगरेर चालुतर्फ ३४ करोड ९३ लाख ४१ हजार अर्थात ५४ प्रतिशत छ । पालिकाले शिक्षा, पूर्वाधार विकास, स्वास्थ्य, लैङ्गिक समानता तथा सामाजिक सशक्तिकरण, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास तथा सुशासन र आर्थिक विकासका क्षेत्रलाई प्राथमिकीकरण गरेर बजेट ल्याएको गाउँपालिकाका उपाध्यक्ष जिसीले बताए ।

संघीय सरकारको अनुदान ४५ करोड ८४ लाख, राजश्व बाँडफाँडबाट १० करोड ९७ लाख, प्रदेश सरकारको अनुदान ३ करोड ४७ लाख, राजस्व बाँडफाँडबाट ७७ लाख, आन्तरिक राजस्वबाट १ करोड ५० लाख र गत वर्षको मौज्दात १ करोड अनुमान छ ।

शान्तिनगरको बजेट ५० करोट ९७ लाख

शान्तिनगर गाउँपालिकाले ५० करोड ९७ लाख ४८ हजारको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष प्रेमाकुमारी बुढाथोकीले आउँदो आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेकी हुन् । गाउँपालिकाले चालुतर्फ ३१ करोड ६६ लाख ४८ हजार, पुँजीगततर्फ १९ करोड ३१ लाख बजेट विनियोजन गरेको छ ।

गढवाको बजेट ६३ करोड ७९ लाख

गढवा गाउँपालिकाले आउँदो आर्थिक वर्ष २०७९÷०८० का लागि ६३ करोड ४५ लाख १० हजारको बजेट विनियोजन गरेको छ । गढवा गाउँपालिकाको एघारौँ गाउँसभामा उपाध्यक्ष शारदा चौधरीले बजेट प्रस्तुत गरेकी हुन् । पालिकाले चालुतर्फ ३१ करोड ६५ लाख ७६ हजार र पुँजीगततर्फ ३१ करोड ७९ लाख ३४ हजार रूपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।

राजपुरको बजेट ५३ करोड २० लाख

राजपुर गाउँपालिकाले आउँदो आर्थिक वर्ष २०७९÷०८० को लागि ५३ करोड २० लाख ७१ हजार रूपैयाँको बजेट विनियोजन गरेको छ । गाउँपालिकाका उपाध्यक्ष धनपती यादवले आउँदो आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेकी हुन् ।

पालिकाको नाम र केन्द्र टुगो लाग्योः

राजपुर गाउँपालिकाको नाम र पालिकाको केन्द्र टुङ्गो लागेको छ । गाउँसभाको बैठकले पालिकाको केन्द्र वडा नं. ४ दुलैयामा तोक्ने निर्णय गरेको छ । यसैगरेर नाम राजपुर बेला गाउँपालिका राख्ने निर्णय भएको अध्यक्ष शरद बुढाथोकीले बताए । राजपुर र बेला गाउँविकास समिति गाभिएर पालिका बनेको थियो । पालिकाको केन्द्र सबैलाई पायक पर्ने स्थानमा तोकिएको र नाम राजपुर बेला गाउँपालिका राखिएको हो ।

दंशीशरणको बजेट ४६ करोड ९४ लाख

दंगीशरण गाउँपालिकाले आउँदो आर्थिक वर्ष २०७९÷०८० का लागि ४६ करोड ९४ लाख ३९ हजार ३ सयको बजेट विनियोजन गरेको छ । गाउँपालिका उपाध्यक्ष पिमाकुमारी खड्काले बजेट प्रस्तुत गरेकी हुन् ।

राप्ती गाउँपालिकाको बजेट ६१ करोड ५४ लाख

यसैविच राप्ती गाउँपालिकाको बजेट मध्यरातको ११ः५५ बजे घोषणा भएको छ । एमालेबाट निर्वाचित उपाध्यक्षसहित ४ जना वडा अध्यक्षले विरोध गरेपछि बजेट घोषणा हुन सकेको थिए । सहमतिका लागि प्रयास भएपनि सहमति हुन नसकेपछि आर्थिक बर्ष २०७९÷०८० को ६१ करोड ५४ लाख ८४ हजार बराबरको बजेट वडा नं. ४ का वडा अध्यक्ष बीरबहादुर चौधरीले घोषणा गरेका थिए ।

सहमतिमा बजेट घोषणा हुन नसकेपछि बहुमतका आधारमा मध्य राती बजेट घोषणा गर्नु परेको थियो । राप्ती गाउँपालिकाको बजेटमा अध्यक्षले एकलौटी तरिकाले बजेट शिक्षा र स्वास्थ्यमा लगाएको भन्दै एमाले निर्वाचित गाउँ कार्यपालिका उपाध्यक्षसहित वडा अध्यक्षहरुले बहिष्कार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*