Home / Feature Breaking news / रित्तो हात कक्षा सुरु

रित्तो हात कक्षा सुरु

घोराही, १० जेठ ।  नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना भएर विद्यालयमा पढाइ सुरु भइसकेको छ । पढाइ सुरु भइसके पनि विद्यार्थीहरुले अध्ययन गर्ने पाठ्यपुस्तक भने विद्यार्थीको हातमा पुग्न सकेको छैन । यसले पढाइमा समेत प्रभाव पारेको छ ।

यतिबेला विद्यालयमा धमाधम पढाइ हुनुपर्ने हो तर अहिले विद्यालय सञ्चालन भए पनि पढाइले गति लिन सकेको भने छैन । यस प्रकारको समस्या यस वर्ष मात्र नभई हरेक वर्ष हुने गरेको छ तर यस प्रकारको समस्या समाधान हुन सकेको छैन । अध्ययनका लागि पाठ्यपुस्तक पाउन नसक्दा विद्यार्थीहरुमा उत्साह समेत नभएको पाइएको छ । अभिभावकहरु दैनिक पाठ्यपुस्तकको लागि पुस्तक पसल धाउने गरेका छन् । किताब खोज्न आउने विद्यार्थी तथा अभिभावकहरु रितो हात फर्किनुपर्ने बाध्यता रहेको छ । ‘दैनिक जसो पुस्तक खोज्न आए पनि पुस्तक आएको छैन भनेर फर्काउने गरेका छन्,’ एक अभिभावकले भने । पढ्नका लागि बालबालिकाले समयमा नै पुस्तक पाउनुपर्ने उनको भनाइ रहेको छ । ‘यस प्रकारको कार्य विद्यार्थीहरुको भविष्यमाथि नै खेलवाड हो,’ उनले भने । सरकारले यस वर्ष कक्षा ४,७ र ९ कक्षाको पाठ्यक्रम परिवर्तन गरेको छ । अहिले विद्यार्थीहरु खाली हात विद्यालय जाने गरेका छन् भने केहीले पुराना पुस्तक लिएर विद्यालय आउने गरेका छन् । पाठ्यपुस्तक नहुँदा शिक्षकहरुलाई समेत समस्या हुने गरेको शिक्षकहरुको भनाइ रहेको छ ।

पाठ्यक्रम परिवर्तन नभएका कक्षाहरुमा पुरानो पाठ्यक्रम तथा पुस्तकबाट कक्षा सञ्चालन भइरहेको घोराहीमा रहेको जयश्वर मावि रावत गाउँका प्रअ हुकुम वुढाथोकीले जानकारी दिए । ‘पाठ्यक्रम परिवर्तन नभएकाहरुमा धेरै समस्या छैन । पाठ्यक्रम परिवर्तन भएका कक्षाहरुमा समस्या हुने गरेको छ,’ प्रअ वुढाथोकीले भने । पाठ्यक्रम परिवर्तन भएका कक्षाहरुको कक्षा सञ्चालन गर्न समेत समस्या भएको उनी बताउँछन् । अहिले कक्षा १ देखि ३ कक्षा सम्मका मात्र पुस्तक आएको उनले बताए । अन्य कक्षाहरुको पाठ्यपुस्तक आउन नसकेको उनको भनाइ रहेको छ । ‘पुस्तक ल्याउने जिम्मा पाएकासँग सोध्दा एक हप्तामा आउँछ भनेर भन्नुभएको छ,’ उनले भने । विद्यार्थीहरुले दैनिक पाठ्यपुस्तक कहिले पाइन्छ भनेर सोध्ने गरेको समेत उनले बताए । विद्यार्थीहरुलाई दैनिक जसो पुस्तक आएको छैन भनेर जवाफ दिनु पर्ने वाध्यता रहेको प्रअ वुढाथोकी बताउँछन् ।

यस विषयमा स्थानीय सरकारले पनि ध्यान दिन सकेका छैनन् । माध्यमिक तहसम्म सञ्चालन तथा व्यवस्थापनको जिम्मा रहेका स्थानीय तहहरु विद्यार्थीहरुलाई पाठ्यपुस्तक उपलब्ध गराउने विषयमा मौन रहेका छन् । समयमा नै पाठ्यपुस्तक नछापिएकाले यस प्रकारको समस्या भएको स्थानीय तह शिक्षाका एक अधिकारीले बताए । आफूहरुले पटक पटक समस्याका बारेमा जानकारी गराएको उनको भनाइ रहेको छ ।

तर समस्याको समाधान हुन नसकेको उनले बताए । निर्वाचनका कारण समयमा पाठ्यपुस्तक छपाइ हुन नसक्दा यस प्रकारको समस्या भएको बताइएको छ । सरकारी पाठ्यपुस्तक छपाइ गर्ने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निर्वाचनका लागि मतपत्र छाप्नुपरेको कारण पाठ्यपुस्तक छपाइ हुन नसकेको हो । सरकारले निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाइ गर्नका लागि अनुमति दिएको छैन । जनक शिक्षा सामग्रीले मात्र सरकारी पाठ्यपुस्तक छाप्ने गरेको छ । एउटालाई मात्र छपाइको जिम्मा दिँदा हरेक वर्ष बालबालिकाहरुले समयमा नै पाठ्यपुस्तक पाउने गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*