Home / Feature Breaking news / देशभरको नतिजामा अघि लाग्यो कांग्रेस, एमाले पछिपछि

देशभरको नतिजामा अघि लाग्यो कांग्रेस, एमाले पछिपछि

स्थानीय तह निर्वाचनअन्तर्गत मतदान सम्पन्न भएर देशभरका पालिकाहरूमा मतगणना जारी छ । कतिपय स्थानीय तहमा मतगणना सम्पन्न भइसकेको छ । सम्पन्न भएका स्थानीय तहको मत परिणामले दलहरूको स्थानीय तहको उपस्थिति देखाइरहेको छ ।

सुरुवाती चरणमा आएका नतिजाले हिजोसम्म नेकपा (एमाले)लाई अग्रस्थानमा राखेको थियो । आजदेखि स्थानीय तहको मत परिणामले नेपाली कांग्रेसलाई अघि बढाएको छ ।

अहिलेसम्मको मत परिणामानुसार कांग्रेसले सात स्थानीय तहको नेतृत्वसहित अग्रता कायम गरेको छ । कांग्रेसले सात स्थानीय तहमा उपप्रमुख समेत जितेको छ ।

कांग्रेसलाई पच्छ्याइरहेको एमालेले ६ स्थानीय तहको नेतृत्वमा आफ्नो उपस्थिति जनाएको छ । उपप्रमुखतर्फ भने एमालेले पाँच स्थानीय तह जितेको छ ।

तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) रहेका छन् । माओवादी केन्द्रले दुई स्थानीय तहको नेतृत्वमा जित हासिल गरेको छ । उसले दुई स्थानीय तहमै उपप्रमुख समेत जितेको छ ।

एकीकृत समाजवादीले पनि दुई स्थानीय तहमा प्रमुख र उपप्रमुख दुवै जितेको छ ।

एक स्थानीय तह मतदान नहुँदै निर्विरोध गरी स्वतन्त्र उमेदवारले जितेका छन् । अरू पार्टीले भने अहिलेसम्म पालिकामा खाता खोलेका छैनन् ।

मतगणना जारी भएका २६७ स्थानीय तहमा कांग्रेसले अग्रता लिएको छ भने एमालेको १६६ स्थानीय तहमा अग्रता देखिएको छ । माअ‍ोवादी केन्द्रको १०३ स्थानीय तहमा अग्रता देखिएको छ भने एकीकृत समाजवादीको १२ स्थानीय तहमा अग्रता देखिएको छ ।

जनता समाजवादी पार्टी (जसपा)ले २४ स्थानीय तहमा अग्रता कायम गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ६ स्थानीय तहमा अग्रता कायम गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*