Home / Feature Breaking news / तुलसीपुर उद्योग वाणिज्यसंघको २७ वर्ष : बहस कोइलाबास नाका र टरिगाउँ एयरपोटर्कै

तुलसीपुर उद्योग वाणिज्यसंघको २७ वर्ष : बहस कोइलाबास नाका र टरिगाउँ एयरपोटर्कै

खेमराज रिजाल
तुलसीपुर, १३ चैत । तुलसीपुर उद्याोग वाणिज्य संघको २७औँ वार्षिक साधारणसभाको उत्सव मनाइरहँदा बहस फेरि कोइलाबास भन्सार नाका र टरिगाउँ विमानस्थलकै सेरोफोरोमा केन्द्रित भएको छ । घोडा खच्चरले ढुवानी गर्दा पनि मुलुककै दोस्रो ठूलो भन्सार नाका अहिले पक्की बाटो बन्दा पनि चल्नसकेको छैन । विसं २०११ सालमा २२ जना यात्रु बोक्ने जहाज ल्याण्ड गर्ने टरिगाउँ विमानस्थलको धावनमार्ग कालोपत्रे भएर पनि सोह्र सिटे जहाज तुलसीपुरमा नियमित ओराल्न धौ–धौको अवस्थामा छ ।

साधारणसभामा सहभागीको जोडदार आवाज यी दुवै विषयमा केन्द्रित थियो । यो साधारणसभा यस मानेमा पनि विशेष र रोचक बनेको थियो कि सभामा तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेत र तुलसीपुर उद्योग वाणिज्य संघकै मातृ संस्था दाङ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठका भावना पनि मेल खाइरहेका थिए । दुवै उद्योगी व्यवसायी नेताका संघर्ष व्यवसायीलाई गोलबद्ध गर्दै समग्र दाङको समृद्धिको सपना थियो । दुवै अग्रज व्यवसायीले पुराना व्यावसायिक संघर्षका कथाहरू पस्के, साधारणसभामा । उहिलेको कोइलाबासजस्तै र उहिलेको हवाई सेवाजस्तै भए पनि त अहिले दाङको समृद्धिमा कति सहजता आउँथ्यो ।

डिल्लीबहादुर बस्नेतको चिन्ता कृषिप्रधान भनिएको मुलुक अब आन्तरिक रोजगारीको समस्या र औद्योगिकीकरणको अभावले बालक र वृद्धाहरूमात्रै रहने बालबृद्धाश्रमजस्तै बन्ने हो कि ? ‘कम्तिमा यहाँ कृषिजन्य उद्योग सञ्चालनका लागि राज्यले तत्परता देखाएर औद्योगिक वातावरण बनाइदिएको भए त अहिले हाम्रो भान्सा यति महँगो हुने थिएन कि’, तुलसीपुर उवासंघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतले यति भनिरहँदा दाङ उद्योग वाणिज्यसंघका संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठले बजारमा मूल्य सन्तुलनमा व्यावसायिक नेतृत्वको पनि अहम भूमिका हुने बताए ।

‘तपाईँलाई तीन पाँच÷६ दशक अघिको कुरा सुनाउँछु, ३ रूपैयाँ पाथी चामलको मूल्य बढेर एकसातामै २१ रूपैयाँ पुगेको थियो, त्यो बेला मेरै पहलमा कोइलाबास नाकाबाट थप चामल ल्याएर ७ रूपैयाँ पाथीमा झारेका थियौँ’, श्रेष्ठले आफ्नो अनुभव सुनाए । यसको अर्थ यातायातको समस्याका कारण कृत्रिम अभावको समस्या उहिल्यैदेखि थियो तर इच्छाशक्ति भएमा राज्यका निकायहरूसँगको समन्वयमा त्यसलाई नियन्त्रण गर्न सकिन्छ । पछिल्लो समयमा यतिसम्म पनि प्रयासहरू राज्यका निकायबाट हुनसकेका छैनन् । त्यसैले भान्सा निकै महँगो भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले पनि कोइलाबास भन्सारको पुनः सञ्चालन र टरिगाउँ विमानस्थलको स्तरोन्नतिले नै राप्ती समृद्ध हुने बताए । त्यसमा उद्योग वाणिज्य महासंघले संघीय संयन्त्रमा पहल गर्ने आश्वासन पनि दिए । सोही अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै शर्माले सरकार र निजी क्षेत्रबीच शिष्ट साझेदारीको पनि अपेक्षा गरे । ‘राजश्व प्रशासनले मुलुकको समग्र भूगोल र अत्यावश्यक सेवाको पहँुचको विषयमा धेरै बुझेको छैन, त्यसैले व्यवसायीहरूलाई कहीँकतै असिस्ट शब्दले सम्बोधन गर्ने गरेको छ’, शर्माले भने, व्यवसायीलाई करको दर बढाएर चिढ्याउने होइन, दायरा बढाउन उपयुक्त हुनेछ । उनले शिष्ट ढङ्गबाट व्यवसायीहरूलाई परिभाषित गर्न पनि कर प्रशासनलाई आग्रह गरे ।

सो अवसरमा विशिष्ट अतिथि तथा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य किशोर आचार्यले व्यापारीलाई पहिले थुन्ने अनि भन्ने प्रवृत्ति सरकारको तर्फबाट अन्त्य हुनुपर्ने माग गरे । अहिले पनि विसं २०३२ सालको कालोबजारी ऐनले सरकारलाई डो¥याइरहनु दुर्भाग्यको अवस्था रहेको जनाउँदै केन्द्रीय सदस्य आचार्यले यस्ता ऐनहरू समयानुकूल परिवर्तन गर्नुपर्नेमा जोड दिए । उनको पनि कोइलाबास भन्सार चलायमान हुनु र टरिगाउँ विमानस्थलको स्तरोन्नति नै राप्तीको आर्थिक समृद्धिको आधार भएको अभिव्यक्ति थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै आन्तरिक राजश्व कार्यालय तुलसीपुरका प्रमुख गोपिनाथ कोइरालाले उद्योगी व्यवसायी, अडिटर र कर प्रशासनको त्रिपक्षीय सम्बन्धले मुलुक चलायमान हुने बताउँदै व्यवसायीहरूलाई राज्यले तोकेको मापदण्डको कर प्रणालीमा आउन आग्रह गरे । ‘हामी पनि सूचना प्रविधिमा क्रमशः जोडिइसकेका छौँ, अब करदाताले दिनभर कर कार्यालयमा आएर कर बुझाउन लाममा लाग्नुपर्ने अवस्था छैन’, राजश्व कार्यालय प्रमुख कोइरालाले भने, टिकटक बनाउन सिक्ने र भाइभरमा कनेक्सन हुन जान्ने नागरिकले चाहेमा करको अनलाइन सिस्टममा जोडिन कुनै समस्या छैन । साथै उनले मिसम्याचको समस्या व्यवसायीले झुठको कारोबार गर्दा मात्र हुने भएकाले यसमा सच्चिन पनि व्यवसायीलाई आग्रह गरेका थिए ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालीसेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस दाङका सहसचिव राज आचार्य, नेकपा एमालेका जिल्ला सदस्य मानबहादुर रावत, नेकपा समाजवादीका चुर्णबहादुर वली, देशभक्त जनगणतान्त्रिक मञ्चका अध्यक्ष इश्वरीप्रसाद गैरे, दाङ जिल्ला उद्योग वाणिज्या संघका अध्यक्ष टंकसिंह बुढाथोकी, तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विरु रावत, महिला उद्यमी पवित्रा धिताल र पत्रकार खेमराज रिजाललगायतले बोलेका थिए ।

सधारणसभामा संघको प्रगति प्रतिवेदन महासचिव विनिल केसीले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष देवबहार केसीले प्रस्तुत गरेका थिए । साधारण सभामा तुलसीपुर क्षेत्रमा सफल संघ संस्था पत्रकार तथा व्यवसायीहरूलाई सम्मान गरिएको थियो । पत्रकारहरूको तर्फबाट गोरक्ष दैनिकका कार्यकारी सम्पादक खेमराज रिजाललाई प्रमाणपत्रले सम्मान गरिएको थियो । त्यस्तै तुलसीपुर उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष वीरेन्द्र शाह, गणेश टेण्ट हाउसकी सञ्चालक सिन्धुली श्रेष्ठ, स्वर्गद्वारी एग्री नेपाल प्रालि तुलसीपुरका सञ्चालक माधव केसी, गुडविल छाला जुत्ता उद्योग तुलसीपुरका सञ्चालक पदमबहादुर सार्की नेपालीलाई सम्मान गरिएको थियो ।

त्यस्तै तुलसीपुर उद्योग वाणिज्य संघको तर्फबाट राप्ती बबई क्याम्पसमा म्यानेजमेटतर्फका हरिबहादुर केसी, सिर्जना चौधरीलाई पुरस्कृत गरिएको थियो । त्यस्तै लीलाकालु छात्रवृत्ति अक्षकोषमार्फत विएडतर्फका भरत विक, चन्द्रजंग विक, भावना गिरी, तुलसी वली, बाल उदय छात्रवृत्ति अक्षयकोषमार्फत अनिता बुढाथोकी, खड्कबहादुर राना, अनिता बुढाथोकी, मिना खनाल, डिलरत्नी छात्रवृत्ति अक्षयकोषमार्फत नरेश डाँगी र अनिता बुढाथोकीलाई पुरस्कृत गरिएको थियो । वाणिज्य उपाध्यक्ष मिनराज भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव विनिल केसीले गरेका थिए । यसैबीच बन्दसत्रले महासचिव विनिल केसी र कोषाध्यक्ष देवबहादुर केसीका प्रतिवेदन सर्वसम्मत पारित गर्दै आगामी वार्षिक कार्ययोजना पनि अनुमोदन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*