Home / समाचार / बाबुरामको विश्लेषण: कांग्रेस रहन्छ, कम्युनिष्ट सकिन्छन्, जसपा मूलधार बन्छ
फाइल तस्‍बिर

बाबुरामको विश्लेषण: कांग्रेस रहन्छ, कम्युनिष्ट सकिन्छन्, जसपा मूलधार बन्छ

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा तीन धार हुने बताएका छन् । बिहीबार ट्वीटरमार्फत् उनले उदारवादी लोकतन्त्र, कम्युनिस्ट ब्राण्ड (समाजवादी धार) र समावेशी लोकतान्त्रिक धार रहने बताएका हुन् ।

कांग्रेसले उदारवादी लोकतान्त्रिक धारको प्रतिनिधित्व गर्ने उनको भनाइ छ । उनका अनुसार जति टुक्रा भए पनि कम्युनिस्ट पार्टीहरूको एउटा धार केही समय रहन्छ । केही समय रहन्छ भन्नुको उनको आसय हो एक दिन कम्युनिष्ट पनि सकिन्छन् ।

जसपाको नेतृत्वमा समावेशी लोकतान्त्रिक धार हुने उनको दाबी छ। उनले जसपाले प्रतिनिधित्व गर्ने धार भविष्यमा ठूलो हुने दाबी गरेका छन् । डा. भट्टराईले लेखेका छन्, ‘नेपाली राजनीतिको दुई हैन तीन धार हुनेछ है ! कांग्रेसको उदारवादी लोकतान्त्रिक धार कायमै रहने वस्तुगत आधार छ । कम्युनिस्ट ब्राण्ड जति टुक्रा भए पनि त्यो एउटै धार हो र केही समय रहन्छ । अर्को तत्काल सानो तर भविष्यमा बढ्दै जाने र मूलधार बन्ने समावेशी लोकतान्त्रिक धार हो । जसपा त्यसको भ्रुण हो ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि विदेशी शक्तिहरूले नेपालमा दुई धारको पार्टी मात्र अस्तित्वमा रहनेगरीको खेल खेल्दै आएको टिप्पणी गरेका थिए ।

एमाले महासचिव शंकर पोखरेलले पनि नेपालमा कांग्रेसले प्रतिनिधित्व गर्दै पुँजीवादी र एमालेले प्रतिनिधित्व गर्ने समाजवादी धार मात्रै रहेको बताउँदै आएका छन् । यही पृष्ठभूमिमा डा. भट्टराईको अभिव्यक्ति आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*